विजयपुर । धरानका मुस्लिम समुदायले शनिबार इद-उल-फित्रको नमाज अदा गरी इद उल फित्र पर्व मनाएका छन् ।


धरानस्थित जामे मस्जिदमा रमजानको ३० औं रोजा राखी इद-उल-फित्र मनाएको अन्जुमन इस्लामिया धरानले जनाएको छ ।


दान, पूण्य र मोक्षको पर्वका रुपमा मनाइने यो पर्वले समुदायमा आपसी सद्भाव, भाइचारको प्रवर्द्धन गर्ने धरानका मुस्लिम अगुवा अफाक अहमदले बताए । 


'मुस्लिम धर्मग्रन्थ कुरानले दीनदु:खी, गरिबलाई दान गर्नु पर्ने उल्लेख गरेको छ', मुस्लिम युवा अहमदले भने, 'एक महिनाअघिदेखि ब्रत रोजा सुरु भएको थियो, एक वर्षभित्र गरेका पाप मोचनका लागि यो ब्रत बस्ने मान्यता छ । एक महिनासम्म सूर्योदयदेखि सूर्यास्त नहुने बेलासम्म ब्रत गरेर साँझ चन्द्रमाको पूजा गरिन्छ ।' 


अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत बसी मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै आएका छन् ।