धरान । नेपालमा व्यावसायिक कुखुरापालन उद्योग विस्तारसँगै ठूलो आर्थिक आकारमा पुगे पनि जोखिम र समस्याहरू झन् जटिल बन्दै गएको देखिएको छ । पछिल्लो ‘व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/०८२’ अनुसार देशभर करिब ७९ अर्ब रुपैयाँ बराबरको लगानी हुँदाहुँदै पनि ५१.२ प्रतिशत फार्ममा व्यवसायीहरूले क्षति व्यहोर्नुपरेको तथ्य हालै सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको  सर्वेक्षण प्रतिवेदनअनुसार नेपालका ७७ जिल्लामध्ये ७५ जिल्लामा व्यावसायिक कुखुरापालन फैलिएको छ । मनाङ र मुस्ताङ जिल्लामा भने यस्तो व्यवसाय सञ्चालनमा आएको छैन । देशभर २२ हजार ९ सय २८ किसान तथा फार्महरूले कुखुरापालन गरिरहेका छन्, जसमध्ये ९२ प्रतिशतले मासु उत्पादनमा केन्द्रित भएको पाइएको छ ।

उद्योगमा कुल ६३ हजार ८ सय ८१ जनाको प्रत्यक्ष संलग्नता रहेको छ, जसमा ५८.५ प्रतिशत पुरुष र ४१.५ प्रतिशत महिला छन् । तर स्वामित्व र नेतृत्वमा भने पुरुषको वर्चस्व कायम देखिन्छ । ७९.५ प्रतिशत फार्म पुरुषद्वारा सञ्चालनमा रहेको प्रतिवेदनमा जनाइएको छ ।

सर्वेक्षणले उत्पादन र आम्दानीतर्फ सकारात्मक सङ्केत देखाए पनि बजार, पुँजी र व्यवस्थापन समस्या उद्योगका प्रमुख चुनौतीका रूपमा देखिएका छन् । कुखुरापालन व्यवसाय घटाउने वा बन्द गर्ने योजना बनाएका व्यवसायीमध्ये ४५ प्रतिशतले बजार अभावलाई मुख्य कारण बताएका छन् । २०.५ प्रतिशतले पुँजी अभावलाई औंल्याएका छन् ।

यस्तै, कुल फार्ममध्ये केवल ४.१ प्रतिशतले मात्रै बीमा गरेको देखिएको छ, जसले जोखिम व्यवस्थापन कमजोर रहेको सङ्केत गर्छ । बीमा गर्नेको सङ्ख्या कम भएकै कारण केही व्यवसायी धरासायी हुँदा फेरि कुखुरापालन व्यवसायमा नफर्किने गरेको पाइएको छ । पछिल्ला तीन वर्षमा ५.६ प्रतिशत फार्मले मात्र सरकारी अनुदान पाएको तथ्यले पनि राज्यको सहयोग सीमित रहेको देखाउँछ ।

रिपोर्टअनुसार अनुदानको उपयोग सबैभन्दा कम २.२ प्रतिशत कोशी प्रदेश र सबैभन्दा बढी उपयोग सुदूरपश्मिचले १०.२ प्रतिशत गरेको पाइन्छ । यस्तै गण्डकीका फार्महरूले ९.७ प्रतिशत, बागमतीमा ६.२ प्रतिशत, कर्णालीमा ५.६ प्रतिशत, मधेशमा ३.२ र लुम्बिनीमा २.२ प्रतिशत अनुदान उपयोग गरेको पाइन्छ ।

उत्पादनतर्फ भने वार्षिक रूपमा ६० अर्ब रुपैयाँभन्दा बढीको कुखुराको मासु, १४ अर्बभन्दा बढीको अण्डा र १० अर्बभन्दा बढीको चल्ला उत्पादन तथा बिक्री भएको पाइएको छ । सन्दर्भ वर्षमा देशभर १२ करोडभन्दा बढी कुखुरा उत्पादन भएको पनि सर्वेक्षणले देखाएको छ ।
विशेषज्ञहरूका अनुसार कुखुरापालन नेपालमा रोजगारी र आम्दानीको ठूलो स्रोत बने पनि दिगो विकासका लागि बजार व्यवस्थापन, बीमा विस्तार, गुणस्तरीय दाना र प्राविधिक सेवामा सुधार आवश्यक देखिन्छ ।

व्यवसायीकोे सुझाव
नेपालको कुखुरापालन क्षेत्र पछिल्लो समय तीव्ररूपमा विस्तार भएको देखिए पनि यससँगै विभिन्न संरचनागत समस्या र जोखिमहरू पनि बढ्दै गएको तथ्याङ्कले देखाउँछ । करिब ७९ अर्ब रुपैयाँ लगानी भएको यो क्षेत्रमा आधाभन्दा बढी अर्थात् ५१ प्रतिशतभन्दा बढी फार्ममा क्षति भएको अवस्था आउनु चिन्ताजनक भएको व्यवसायीहरू नै बताउँछन् ।

कुखुरा व्यवसायी राम कार्कीका अनुसार उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापन कमजोर हुँदा धेरै व्यवसायीले आफ्नो उत्पादन उचित मूल्यमा बिक्री गर्न सकेका छैनन ्। यही कारण ४५ प्रतिशत व्यवसायीले बजार अभावलाई प्रमुख समस्या बताएका छन् ।

“प्राविधिक ज्ञान र तालिमको कमी यस क्षेत्रको अर्को महत्वपूर्ण समस्या हो । व्यावसायिक तालिम, प्राविधिक ज्ञान विना नै यस क्षेत्रमा होमिएका कृषकहरू धेरै डुबेका छन्” व्यवसायी कार्कीले भने, “व्यावसायिक ज्ञानको अभावले उत्पादन दक्षता, रोग नियन्त्रण र व्यवस्थापनमा कमजोरी हुने तथा रोगका कारण ठूलो क्षति हुँदा व्यवसायबाट पलायन हुनुपरिरहेको छ ।”

यी समस्याहरू समाधान गर्नका लागि सर्वप्रथम बजार व्यवस्थापनमा सुधार आवश्यक देखिएको व्यवसायीहरूले बताएका छन् । उत्पादनसँगै बजार सुनिश्चित गर्न आपूर्ति शृङ्खला, भण्डारण र निर्यात प्रणाली विकास गर्नुपर्ने उनीहरूको सुझाव छ । कुखुरापालनमा बीमा प्रणाली विस्तार गरी व्यवसायीलाई जोखिमबाट जोगाउने व्यवस्था गर्नु पर्ने व्यवसायी कार्की बताउँछन् । मासुमा मात्र केन्द्रित उत्पादनलाई विविधीकरण गर्दै अण्डा, चल्ला र प्रशोधित उत्पादनतर्फ व्यवसायीहरूको ध्यान जानुपर्ने उनको भनाइ छ ।

किसान तथा व्यवसायीलाई नियमित प्राविधिक तालिम उपलब्ध गराउने, पशु स्वास्थ्य सेवा सुदृढ गर्ने र सहुलियत कर्जा उपलब्ध गराउने सरकारले नीति ल्याउनुपर्ने उनले सुझाएका छन् ।

समग्रमा हेर्दा, नेपालमा कुखुरापालन व्यवसाय रोजगारी र आम्दानीको महŒवपूर्ण आधार बनेको छ । सर्वेक्षणले पनि यही देखाएको छ । तर यसको दिगो विकासका लागि अब उत्पादन मात्र होइन, बजार, व्यवस्थापन, प्राविधिक क्षमता र नीतिगत सुधारमा ध्यान दिनुपर्ने राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटी बताउँछन् ।