विराटनगर । मोरङका दुई स्थानमा रहेको कुखुरा फार्ममा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भएको छ । सुन्दरहरैंचा नगरपालिका–४ स्थित एक लेयर्स कुखुरा फार्ममा र उर्लाबारी–८ स्थित लेयर्स कुखुरा फर्ममा बर्डफ्लु पुष्टि भएको हो ।
कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएलगत्तै नगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । उर्लाबारीका नगर प्रमुख गङ्गाप्रसाद खरेलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सङ्क्रमण फैलिन नदिन तत्काल प्रतिबन्धात्मक र सावधानीका उपाय लागू गरिएको बताएका छन् । त्यसैगरी सुन्दरहरैंचाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सङ्क्रमण फैलिन नदिन सतर्कता अपनाउन आग्रह गरेका छन् ।
नगरपालिकाका अनुसार प्रभावित फार्म वरपरका कुखुरामा पनि समान लक्षण देखिएको छ भने केही कुखुरा मरेका छन् । यसले सङ्क्रमण फैलिने जोखिम बढाएको भन्दै सम्बन्धित सबैलाई सचेत रहन अनुरोध गरिएको छ ।
सूचनाअनुसार प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, मासु, दाना तथा कुखुरा पालनमा प्रयोग हुने उपकरणहरूको ओसारपसार अर्को सूचना नआउञ्जेल पूर्णरूपमा बन्द गरिएको छ ।
कुखुरामा असामान्य बिरामीपन वा अचानक मृत्यु देखिएमा तुरुन्त वडा कार्यालय वा पशुपन्छी विकास शाखामा जानकारी गराउन भनिएको छ । कुखुरापालकलाई फार्ममा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाउन तथा प्रवेश र बहिर्गमन बिन्दुमा चुना, फिनेल, सेनिटाइजर, साबुन पानी प्रयोग गर्न निर्देशन दिइएको छ । सर्वसाधारणलाई मृत वा बिरामी कुखुरा नछुन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।
सङ्क्रमित तथा शङ्कास्पद कुखुराको सुरक्षित नष्ट तथा व्यवस्थापन तोकिएको मापदण्डअनुसार गरिने जनाइएको छ । स्थानीय बजार र कुखुरा पसलहरूलाई समेत सम्बन्धित निकायको अनुगमन र निर्देशन पालना गर्न नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकाले सङ्क्रमण नियन्त्रण र रोकथामका लागि सम्पूर्ण नगरबासीको सहयोग आवश्यक रहेको उल्लेख गर्दै थप जानकारीका लागि पशुपन्छी विकास शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
बर्डफ्लु कुखुरा तथा अन्य चराचुरुङ्गीमा लाग्ने भाइरसजन्य सङ्क्रामक रोग हो । यो रोग सङ्क्रमित कुखुरा, तिनको दिसा, ¥याल वा सम्पर्कमा आएका वस्तुहरूबाट सजिलै फैलिन्छ ।
यसले कुखुरामा उच्च मृत्युदर गराउँछ र व्यावसायिक रूपमा ठूलो क्षति पु¥याउन सक्छ । नेपालमा हरेक वर्ष बर्डफ्लुले कुखुरापालन व्यवसायमा ठूलो क्षति गर्दै आएको छ ।
































