इटहरी । बजार अनुगमनबाट उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गर्ने इटहरी उपमहानगरमा दैनिक उपभोक्ता ठगिएको गुनासो भने आउन छाडेको छैन ।
चालु आर्थिक वर्षको १० महिनामा ३४ पटक बजार अनुगमनसहित २ सय ३० व्यवसायीलाइ कारबाही गरेको दाबी उपमहानगरको छ । तर बजारकै दिन उपभोक्ताहरू ठगिने क्रम भने रोकिएको छैन । इटहरीमा आइतबार र बुधबार ठूलो हाटबजार सञ्चालन हुँदै आएको छ । अन्यबेला इटहरी–६ र ९ को हटिया लाइन तथा इटहरी–४ आइतबारेमा गुद्री बजार सञ्चालन हुँदै आएको छ । मापदण्डविपरीतका तरकारी बजारबाट दैनिक उपभोक्ताहरू ठगिन बाध्य बनेका हुन् । इटहरी–६ की कुसुम निरौला आफू माछा व्यापारीबाट ठगिएको बताइन् । उनले आइतबारको बजारबाट डेढ किलो माछा किने पनि घर पु¥याएर जोख्दा १ सय ग्राम तौल कम भएको पाएपछि आफू ठगिएको ब्लाष्टलाई बताइन् । त्यस्तै इटहरी–५ की प्रमिला दाहाल, सगुन आचार्य, दिपिका निरौला, इटहरी–७ का मोहन बस्नेत, प्रेम गिरी, ओमकुमारी दाहाल, इटहरी–१ आँपगाछीकी चन्दा घिमिरेलगायतले बजारमा व्यापारीले ल्याएको ढक तराजुबाट ठगिएको बताए ।
इटहरी–१ आँपगाछीकी चन्दा सोमबार तरहरा बजारमा आलु र प्याज व्यापारीबाट ठगिएको बताइन् । पटक–पटक उपभोक्ताहरू ठगिएको गुनासो आएपछि बजार अनुगमन गरी मापदण्डविपरीतका ९ वटाभन्दा बढी ढक, तराजु जफत गरिएको इटहरी उपमहानगर २० नं. वडाका वडासदस्य तनुज गुरुङले बताए । उनले गत बिहीबार नै बजार अनुगमन गरी मापदण्ड विपरीतका ढक, तराजुहरू जफत गरेको बताए । तरहरामा सोमबार र बिहीबार हाटबजार लाग्ने गरेको उनले बताए ।
न भण्डारण, न त तथ्याङ्क
गत वैशाख २३ गते धरानमा अत्यधिक विष मिसावट भएको काउली बरामदपछि नष्ट गरिँदा इटहरीमा भने कहाँबाट कसले कुन र कति तरकारी ल्याएको तथा लगेको तथ्याङ्क नै छैन । तरकारी कहाँबाट कसले कति ल्याउँछ, यसको नियमन हुनुपर्ने उपभोक्ता मञ्च नेपाल इटहरीका सचिव हेमन्त गौतम बताउँछन् । बजारबाट खरिद गरी ल्याएको सब्जी खानयोग्य हो या होइन, यसको मापन अनिवार्य हुनुपर्ने सचिव गौतम बताउँछन् ।
अघिल्लो नेतृत्वको स्थानीय सरकारकै पालादेखि उपभोक्ताहरूको हकहित संरक्षणका निमित्त आवाज उठाउँदै आए पनि सुनुवाइ नभएको गौतम बताउँछन् । धरानमा विषादी मापन गरेर मात्रै तरकारी बजारमा पु¥याइने गरे पनि इटहरीमा भने कसले कहाँबाट के सब्जी ल्याएको हो र खानयोग्य हो या होइन, त्यसको तथ्याङ्क सङ्कलन नै नहुनाले उपभोक्ताहरूको स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको मञ्चका सचिव गौतम बताउँछन् ।
यस विषयमा नगर प्रमुख हेमकर्ण पौडेलसँग पटक–पटक गुनासो राख्दा पनि उनले बेवास्ता गर्दै आएको सचिव गौतमको भनाइ छ । त्यस्तै उपमहानगरले अन्य व्यापार व्यवसायमाथि अनुगमन गरिरहँदा तरकारी बजारको भने अनुगमन नै नगरेको उपभोक्ताहरूको भनाइ छ । उपमहानगरमा अनुगमनदेखि कृषि शाखा उपशाखाहरू खडा गरे पनि उनीहरूको काम चित्त नबुझेको उपभोक्ताहरू बताउँछन् । यहाँका माछामासु र किराना तथा होटलहरू अनुगमन हुँदा छेउमै रहेको तरकारी बजारलाई भने हेर्दै नहेरी हिँड्ने गरेको उपभोक्ता बिना भट्टराईले बताइन् ।
उपभोक्ताहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै अघिल्लो पूर्व नगर प्रमुख द्वारिकलाल चौधरी र पूर्व उपप्रमुख लक्ष्मी गौतमले २०७८ फागुन १९ गते इटहरी वडा नं. ९ मा नगरकै सबैभन्दा ठूलो कोल्ड स्टोरसहितको आधुनिक कृषि बजारको शिलान्यास गरेका थिए । त्योबेला २५ करोड ६ लाख ५ हजारको लागतमा कोल्ड स्टोरसहित आधुनिक कृषि बजारको शिलान्यास गरिएको इटहरीकी पूर्व उपप्रमुख गौतमले बताइन् । ०७९ को स्थानीय निर्वाचनपछि नेतृत्व सम्हालेका जनप्रतिनिधिले त्यसलाई निरन्तरता दिन नसक्दा योजना ओझेलमा परेको पूर्व उपप्रमुख गौतम बताउँछिन् ।
राजनीतिक खिचातानी, बजेट अभाव र आन्तरिक विवादका कारण नयाँ योजना कुनै पनि सुरुवात नै गर्न नसकिएको उपमहानगरकी उप प्रमुख सङ्गीताकुमारी चौधरीले बताइन् । उनले बजारमा कहाँबाट कति तरकारी ल्याएको वा लगेको त्यसको विवरण र तथ्याङ्क उपमहानगर सँग नभएको स्वीकारिन् तर अनुगमनको क्रममा शङ्का लागे वा कुनै निकायबाट उजुरी तथा गुनासो आएमा तत्काल नियन्त्रणमा लिई गुणस्तर जाँच गर्ने गरिएको बताइन् ।