हिजोआजका बालबालिका, युवायुवती र नयाँ पुस्ताका लागि पानीका धारा, ट्याङ्की, मोटर पम्प र बोरिङले सहज पहुँच बनाइदिए पनि केही दशकअघि गाउँघरको जीवनशैलीमा यस्तो सुविधा थिएन । गाउँघरका मानिसहरू दिनहुँ बिहान सबेरै उठेर कुवामा पानी लिन जान्थे । त्यहीँ भेला हुन्थे, गफगाफ चल्थ्यो । भेटघाट गर्ने, दुःख–सुखका कुराकानी गर्ने एउटा माध्यम पनि थियो । जसलाई सामाजिकीकरणको एउटा अनुपम नमुना मानिन्थ्यो । कुवा गाउँको केन्द्र हुन्थ्यो — जहाँ पिउने पानी पाइन्थ्यो, जहाँ नुहाइधुवाइ हुन्थ्यो, लुगा धुने काम हुन्थ्यो अनि गाउँलेको सामूहिक भेट, छलफल हुने गर्दथ्यो । तर आज, त्यस्ता मौलिक संरचना लोप हुँदै गएका छन् । ढुङ्गाले बनेको, ढकनसहितका कलात्मक परम्परागत कुवा, पानी पँधेराहरू अहिले इतिहास बन्न थालेका छन् ।
कुवा स्थानीयको पानीको स्रोत मात्र थिएन । गाउँघरमा त्यो बेला सञ्चारको स्रोत एक मात्र रेडियो थियो । त्यो पनि सबैको घरमा हुँदैनथ्यो । रेडियोमा आएका समाचार र गाउँघरमा भएका घटना, सकारात्मक नकारात्मक खबर यही कुवाको जमघटमा आदान–प्रदान हुने गरेको थियो । लाइन लागेर पानी भर्नेको भीड उत्तिकै सुन्दर देखिन्थ्यो । त्यस बेलाका कुवा, पानी पँधेरामा रेडियो किन्ने हैसियत भएकाहरूले समाचार सुनाउन लिएर आउनेसमेत गरेका थिए ।
गाउँघरमा पाइने ती कुवाहरू केवल पानीका स्रोत मात्र थिएनन्, यी संस्कृति थिए, इतिहास थिए, समुदायको जीवनशैली पनि थियो । तर अहिले विकासको नाममा पाइपले पानी ल्याइदिएपछि यस्ता संरचना हराएका छन् । ती बेलाका पानीका कथा र कुवाका संरचनाबारे पढ्दै गरेका विद्यार्थीहरूका लागि अनौठो लाग्छ । तसर्थ संरक्षणको आवश्यकताबारे सोच्नुपर्ने बेला यही हो ।
यदि अब केही गरिएन भने भोलिको पुस्ताले यस्ता मौलिक संरचना कहिल्यै देख्न पाउने छैनन् । ग्रामीण जीवनमा चलेका ढिकी, जाँतो, हलो, जुवा, कोदाली, हल्लँुड, पानीको कुवा, पँधेरा, चौतारा आदि इत्यादिबारे भावी पुस्तालाई इतिहास बचाउन भए पनि संरक्षण गर्न जरुरी छ । किनभने नेपाल सांस्कृतिक विविधता भएको मुलुक हो । यी सांस्कृतिक धरोहर, मान्छेका पुराना जीवनशैली नयाँ पुस्तालाई बुझाउन अपरिहार्य छ । समाज कसरी विकास भयो भन्ने त्यो आदिम मानवको इतिहास र त्यो बेलाको जीवनशैलीको पाठले मात्र इतिहास पूरा हुँदैन ।
पानीका कुवाहरूको महत्व
ढुङ्गा, माटो, काठजस्ता स्थानीय सामग्री प्रयोग गरेर निर्माण गरिएका यस्ता कुवा केवल प्रविधिको नमुनामात्र होइन, ती समयको सामाजिक संरचना, जीवनशैली र सिर्जनात्मकताको प्रमाण पनि हुन् । यसले तत्कालीन जल व्यवस्थापन प्रणालीबारे जानकारी दिन्छ । मानिसहरू कसरी खानेपानीको व्यवस्थापन गरिरहेका थिए भन्ने उदाहरण हुन् । कुवा भनेका सामुदायिक जीवनको केन्द्र पनि हुन् । यस्तो कुवाबाट पानी त पिइन्थ्यो नै, त्यहाँ भेटघाट, मेलमिलाप, गफगाफ र सहयोगको भावना परस्पर आदान–प्रदान हुने गर्दथ्यो । यसले सामाजिक एकताको वातावरण बनाउँथ्यो । यतिबेला घर–घरमा धारामा पानी आउँछ । छिमेकी र वरपरका सँग भेटघाट हुँदैन । जहाँ आफ्नो घरसँगै जोडिएको छिमेकीसँग सामाजिकीकरणको व्यवहार हुँदैन । एक–आपसमा चिनजान र सामाजिक भावना हराएर गएको छ ।
पुराना संरचनालाई पुराताŒिवक सम्पदाको रूपमा संरक्षण गर्नसके त्यसले स्थानीय पर्यटनको विकासमा समेत टेवा पु¥याउनेमा दुईमत छैन । स्कुले विद्यार्थी, अनुसन्धानकर्ता र पर्यटकहरूका लागि पुराना परम्परागत वस्तु आकर्षणका केन्द्र बन्न सक्छन् ।
आजको जीवनशैली आधुनिक र सुविधाजनक बन्दै गएको छ । घर–घरमा पानीका निजी धारा जडान भएपछि मानिसलाई कुवामा जानुपर्ने आवश्यकता कम भयो । यसको साथै, जनसङ्ख्या वृद्धिसँगै भू–उपयोग परिवर्तन भयो, धेरैजसो कुवा माटो, झाडी वा फोहोरले पुरिएका छन् । त्यसको संरक्षणमा कसैको चासो रहेन, संरक्षणको चेतना पनि कतै देखिँदैन । कतिपय स्थानमा त यस्ता पुराना कुवा पुरेर भवन निर्माणसमेत गरिएको छ । स्थानीय तहका सरकारले यस्ता इतिहास जीवित राख्न योजना ल्याउनु पर्ने हो तर स्थानीय सरकारको सक्रियतामा कुवा, धारा पुर्ने काम भएका छन् । स्थानीय, प्रदेश र सङ्घीय तहका निकायले यस्ता लोपोन्मुख संरचनाको संरक्षणलाई प्राथमिकता दिएका छैनन् । यसले गर्दा पनि परम्परागत जलसंरचनाहरू लोप हुने अवस्थामा पुगेका छन् ।
संरक्षण र सम्बद्र्धनका लागि केही सुझावहरू
सबैभन्दा पहिले यस्ता कुवाहरूको यथास्थितिमा अभिलेखीकरण गरिनुपर्छ । तस्बिर, स्थान, निर्माणको समय, बनाउने प्रविधि आदि टिपोट गरी सङ्ग्रह गर्नु उपयुक्त हुनेछ । त्यसपछि संरक्षणको पहल हुनुपर्छ । संरक्षण भन्नाले केवल मर्मत मात्र होइन, त्यस वरपरको सरसफाइ, प्रचार–प्रसार, स्थानीय बालबालिकालाई यसको बारेमा जानकारी दिने काम पनि हो । ग्रामीणभेगमा अझै पनि यस्ता अवशेषहरू रहेका छन् । ती स्थानमा विद्यार्थीहरूलाई अध्ययन अवलोकनका लागि लानु उपयुक्त हुनेछ । संरक्षण गर्ने विषयमा गाउँ समाजमा जागरण अभियान चलाउनु पर्दछ ।
यस्तै ऐतिहासिक विषयमा विद्यालय र पाठ्यक्रममार्फत् पनि चेतना अभिवृद्धि गर्न सकिनेछ । विद्यालयमा ‘हाम्रो सम्पदा’ विषयलाई व्यावहारिक बनाउँदै विद्यार्थीहरूलाई आफ्नै गाउँघरका यस्ता संरचना अवलोकन गराउने कार्यक्रम सञ्चालन गरिनुपर्छ । गाउँकै विद्यालयका विद्यार्र्थीहरूमा कुवाको चित्र बनाउने, निबन्ध लेख्ने, अनुभव सुनाउने कार्यक्रमले उनीहरूमा जगेर्नाको भावना विकास गर्छ । अझ स्थानीय तहले आफ्नो पाठ्यक्रम तयार गर्दा यस्ता विषय समेटेर विद्यार्थीहरूलाई जानकार बनाउन सक्नेछन् ।
स्थानीय सरकारको नेतृत्वमा संरक्षण कार्यक्रम गर्नु उपयुक्त हुनेछ । गाउँपालिका वा नगरपालिकाले यस्ता संरचना पहिचान गरी ‘स्मारक कुवा’, ‘इतिहास बोकेको पानीको स्रोत’ जस्ता परियोजना सुरु गर्नु उचित हुनेछ । संरक्षणका लागि सानो बजेट छुट्याएर वार्षिक मर्मत, सूचनापाटी र प्रचारका कार्यक्रम सञ्चालन गरिनुपर्दछ । ता कि यस्ता इतिहास नयाँ पिँढीलाई जानकारी हुनेछ ।
समाजसेवी, शिक्षक, लेखक, युवा क्लब, महिला समूह, टोल विकास संस्था, बाल सञ्जाललगायत मिलेर ‘हाम्रो कुवा, हाम्रो गौरव’ भन्ने अभियान सञ्चालन गर्न सकिन्छ । समुदायको स्वामित्व विना संरक्षण दीर्घकालीन हुँदैन । त्यसैले यस्ता अभियान गाउँघरबाट थालिनु उपयुक्त हुनेछ । यस्ता कुवाहरूको तस्बिर, जानकारी र कथा डिजिटल अभिलेखमा राख्न सकिन्छ । फेसबुक, युट्युब, इन्स्टाग्राम जस्ता माध्यमबाट प्रचार–प्रसार गरेर यस्ता सम्पदालाई राष्ट्रिय चेतनामा ल्याउन सकिन्छ । राज्यले यस्ता ऐतिहासिक विषयलाई राष्ट्रिय गौरवका रूपमा ग्रहण गर्न सक्नु पर्दछ ।
बेलैमा यस्ता धरोहरका विषयमा नसोच्नु र बेवास्ता गर्नु भनेको इतिहास मेटाउनु हो । यदि हामीले अहिले नै चासो दिएनौं भने भविष्यमा यस्ता संरचना लोप हुनेछन् । इतिहास र समुदायको परिचय नै हराउनेछ । अझ पर्यटनको सम्भावना समाप्त हुनेछ । अन्ततः नयाँ पुस्ताले आफ्नै पूर्वजहरूको जीवनशैली बुझ्न सक्दैनन् ।
हाम्रो दायित्व
अन्त्यमा, सम्पदा भनेको ढुङ्गा, माटो वा काठ मात्र होइन, त्यो त हाम्रो पहिचान हो, हाम्रो इतिहास हो । भोजपुर, खोटाङ, धनकुटालगायतका ग्रामीणभेगमा भएका कुवा आज सायद धेरैका लागि सामान्य ढुङ्गा र घाँसले ढाकिएको एक संरचना हो, तर वास्तवमा त्यो हाम्रा पुर्खाहरूको बुद्धिमत्ता र सिर्जनशीलताको नमुना हो । त्यहाँ कति कलात्मकताका नमुनाहरू छन् । सिर्जनाकोअनुपम उदाहरणहरू लुकेका छन् । त्यसको संरक्षण केवल स्मारक बचाउने होइन, त्यो त आत्मसम्मान र भावी पुस्ताको सम्पर्क अनि प्रेरणाको सवाल पनि हुनेछ । अतः अझै पनि ढिला भइसकेको छैन । गाउँघरमा भएका यस्ता कुवाहरूलाई संरक्षण गरेर, तिनको इतिहास सङ्कलन गरेर, भावी पुस्ताका लागि सजीव इतिहास बनाउने प्रयास गर्न सकिन्छ । यो हामी सबैको साझा जिम्मेवारी हो । नफेरिने समयसँगै मेटिन लागेका यस्ता संरचनाहरूलाई फेरि जीवन्त बनाउन सकौँ ।