शान्तात्मा लम्बकर्णश्च गौराङ्गश्चाम्बरावृतः ।
ऊध्र्वपद्मस्थितो बुद्धो वरदाभयदायकः ।।

अर्थात् स्थिर र गम्भीर स्वभाव भएका, लामा–लामा कानले सुसज्जित, रात–राता चिवर धारण गरी माथि फर्किएको कमलमा विराजमान बुद्धले हामीलाई अभयदान दिनुहोस् । (अग्निपुराणम्)

यस श्लोकमा वर्णित कुरासँग हु–बहु मेल खाने बुद्ध मूर्ति अफगानिस्तानको बामियान प्रान्तमा रहेको थियो । जसलाई तालिवान शासकले आफ्नो शासनकालमा नष्ट गरेका थिए । अतिवादीहरू कुनै पनि संस्कृतिको संरक्षणमा कस्तो नीति अवलम्बन गर्छन् भन्ने प्रमाणित हुन्छ । यसरी बामियान सार्क राष्ट्रहरूको सांस्कृतिक केन्द्रसमेत हो । पाकिस्तान, अफगानिस्तान, कम्बोडिया जस्ता देशहरूमा बौद्ध धर्म, दर्शन, संस्कृतिको केन्द्र थियो । बौद्धहरू उदार थिए तर राजनीतिक भूगोल परिवर्तन भएपछि ती नष्टभ्रष्ट हुन पुगे । यसले मानव सभ्यता र संस्कृतिलाई पक्कै पनि ठूलो क्षति पु¥याएको छ । भगवान् गौतम बुद्धलाई अनेक नामले जानिन्छ । खासगरी बुद्ध, मायादेवीसूत, सिद्धार्थ, सौगत, शौद्धोधन, सर्वज्ञ यी सब नाम भगवान् बुद्धका पर्याय हुन् । बुद्ध जीवनीलाई आधार बनाएर महाकवि अश्वघोषले ‘बुद्धचरितम्’ महाकाव्य नै सिर्जना गरेका छन् । यो महाकाव्य तत्कालीन पौरस्त्य महाकाव्य सिर्जन परम्परामा एउटा विद्रोह जस्तो थियो  ।यसको खास कारण पौरस्त्य महाकाव्यमा यस पूर्व जीवनीमूलक महाकाव्य लेखिएकै थिएन साथै पौरस्त्य महाकाव्य लेखनसम्बन्धी मान्यतामा जीवनीमूलक महाकाव्यको परिकल्पना  पनि थिएन । सिद्धार्थ गौतम नै चतुरार्य सत्यको बोध भएपश्चात् बुद्ध बनेका हुन् । बुद्धवाद या बौद्ध दर्शनसम्बन्धी वीज अनादिकालदेखि रहिआएको थियो । बुद्धलाई वैदिक साहित्यका पुराणहरूमा   भगवान् विष्णुका प्रमुख दश अवतारमध्ये नवौँ अवतार मानिन्छ तर स्वयम् बुद्धको यस अवतारलाई तैर्थिक मतावलम्बीहरूले मानेको भने पाइँदैन । बुद्ध अवतारलाई अन्य अवतार जसरी स्वीकार्य भएको पाइँदैन । बुद्ध अवतार पौराणिक साहित्यमा पछि प्रक्षिप्त अंश थियो भन्ने मान्न सकिन्छ । तत्कालीन भारत वर्ष (वर्तमान एसिया) फैलिएको बौद्ध विचारलाई पुराणमा समेटेर विष्णुको अवतार बनाइएको हुनसक्छ । यसै सेरोफेरोमा बुद्ध, बौद्ध दर्शन र बुद्धवादका विषयमा केही प्रकाश पार्ने प्रयास गरिएको छ ।

बुद्ध भगवान् राजकुलमा जन्मिएका थिए । तत्कालीन कपिलवस्तु गणराज्यमा राजा शुद्धोधन र मायादेवीका पुत्ररत्नका रूपमा । तत्कालीन कपिलवस्तु एक गणराज्य थियो । यसलाई बुझ्ने भाषामा भन्नु पर्दा एक सार्वभौम मुलुकका अधीनमा अन्य गणराज्यहरू रहने व्यवस्था थियो । कपिलवस्तु पूर्ण सार्वभौम मुलुक नभएर एक अधीनस्थ राज्य थियो । यसमा केही आन्तरिक र वाह्य द्वन्द्व रहेको साक्ष्यहरू उपलब्ध छन् । बुद्ध जन्मेपछि जनविश्वासअनुसार उनको भविष्य हेर्ने काम राजज्योतिषीहरूले गरे । त्यसबाट के प्राप्त भयो भने बुद्ध कि चक्रवर्ती सम्राट बन्छन् कि त महान् आध्यात्मिक गुरु बन्छन् । उनका अभिभावक सिद्धार्थलाई चक्रवर्ती सम्राट भएको देख्न चाहन्थे, त्यसैले उनलाई त्यसै अनुरूप भोगविलास आदिमा लिप्त गराइयो तर सिद्धार्थ मनमा सुषूप्त अवस्थामा रहेको आध्यात्मिक चेतनाले भोगविलासमा मन रम्न सकिरहेको थिएन । एक समयमा सिद्धार्थ गौतमलाई राज्य भ्रमण गर्दा रोगी, वृद्ध र मृत मान्छे देखेपछि उनमा सहसा वैराग्य बोध भयो । राजकाजमा केही नरहेको यसबाट सांसारिकताको मात्र विकास र विस्तार हुने भएकाले नवजात पुत्र, पत्नी र राजकाज सम्पूर्णलाई सदाका लागि त्याग्दै ज्ञानको खोजीमा निस्किए ।

तत्कालीन भारत वर्षको विभिन्न स्थानमा रहेको ज्ञानी, तपस्वी, ऋषिमहर्षिहरूको सङ्गत गर्न थाले । तथापि कसैबाट पनि सांसारिकताबाट मुक्त हुने ज्ञान प्राप्त गर्न असफल भए । सबैबाट कुनै न कुनै मत सिद्धान्तमात्र प्रतिपादन भएको पाए । यसरी ज्ञान आर्जन नहुने रहेछ भन्ने उनलाई बोध भयो । त्यतिन्जेलसम्ममा बुद्धका अनुसरणकर्ता पनि पाँच जना भएका थिए । बुद्ध बोधिवृक्षका मुनि कठोर तपमा लिप्त भए । यस तपबाट पनि उनमा ज्ञान प्राप्ति भएको थिएन । शरीर गलेर प्राणहीन हुने अवस्थामा थियो  । उनलाई के लाग्न थाल्यो भने यसरी शरीरको शोषणबाट मात्र ज्ञान प्राप्त हुँदैन । बोधिवृक्षकै सेरोफेरोमा बसिरहेका समयमा सुजता नाम गरेकी कन्याबाट स्वच्छ खीर खान थालेपछि उनका पाँचजना अनुयायी बुद्धभ्रष्ट भए । जात, संस्कार केही नहेरी जसले दिएको पनि खान थाले भनेर उनलाई त्यहीँ त्यागेर भारतको वाराणसीनजिकै रहेको सारनाथ गएर बसे । बुद्धको स्वच्छ खीरको प्रभावले गल्दै र शिथिल हुँदै गएको शरीर तङ्ग्रिन थाल्यो ।  उनमा वैशाख शुक्ल पूर्णिमाका  बोधिवृक्ष मुनि बसिरहेका समयमा दुःख–सुख समुदाय, दुःख निरोध र निरोधको उपायको ज्ञान प्राप्त भयो । यसको आशय संसारमा दुःख छ, दुःखको कारण छ, दुःख हटाउन सकिन्छ र त्यसको पनि उपाय छ भनिन्छ । यही नै बुद्ध दर्शनको केन्द्रीय तŒव हो । यसलाई बौद्ध दर्शनमा चतुरार्य सत्य भनिन्छ । यसैका आधारमा बुद्ध दर्शन विकास र विस्तार भएको हो ।

बुद्धले ज्ञान प्राप्त गरेको ठाउँ ‘बोधगया’ हो । बोधगयामा ज्ञान प्राप्त भएपछि बुद्ध आफ्ना पाँचजना अनुयायीको खोजी गर्दै सारनाथ पुगेर पहिलो धर्मदेशना गर्न सफल भए । धर्मदेशना भनेको बुझ्ने भाषामा उपदेश हो । तŒव विवेचनाको सङ्गति हो । त्यसपछि बुद्धले भारत वर्षका विभिन्न स्थानमा परिभ्रमण गर्दै तत्कालीन जनभाषा पाली भाषामार्फत् सांसारिकताबाट मुक्तिको उपदेश दिएको देखिन्छ ।  बौद्धहरू बुद्ध जन्मभूमि लुम्बिनी, ज्ञान प्राप्तिको स्थान बोधगया, पहिलो धर्मदेशना भएको ठाउँ सारनाथ र महापरिनिर्वाण प्राप्त गरेको ठाउँ कुशीनगरलाई चारधाम मान्दछन् । यीमध्ये लुम्बिनीबाहेक सबै वर्तमानमा भारतको राजनीतिक भूगोलभित्र पर्दछन् । आज संसारमा करोडौँ मानिस बुद्ध धर्मका अनुयायी छन् । उनीहरू यी चारधाम दर्शन गर्नुलाई परम् पुण्यको काम मान्दछन् । राजनीतिक विवादबाट माथि उठी बुद्धसर्किटका रूपमा विकसित गरी हामीले करोडौँ बौद्ध धर्मावलम्बीहरूलाई यहाँ भिœयाएर धार्मिक पर्यटनको प्रवर्धन गरी राष्ट्रको आर्थिक समुन्नतिमा पनि दह्रो साथ दिन सक्छौँ । साथै बौद्ध अध्ययनसम्बन्धी विश्वको केन्द्र बनाउने अवसर पनि हामी समक्ष छ । विश्वको  बौद्ध  अध्ययन केन्द्र बनाउने उद्देश्यले खुलेको लुम्बिनी बौद्ध विश्वविद्यालयले यसमा आशा गरिएको सफलता प्राप्त गर्न सकिरहेको छैन । भारतमै धेरैजसो विश्वविद्यालयमा बौद्ध अध्ययन परम्परित र आधुनिक दुवै दृष्टिले हुने गरेको छ । त्यहाँ विश्वका विभिन्न मुलुकबाट बौद्ध धर्म, दर्शन र ध्यान आदि विषय अध्ययन गर्न हजारौँ विद्यार्थीहरू आउँछन् । हाम्रो कार्यान्वयन गर्ने क्षमताका अभावमा हामीले त्यो सफलता प्राप्त गर्न सकेनौँ तर यसमा हामी अविलम्ब लाग्नु पर्दछ ।

बुद्धको मुख्य उपदेश भनेको कुनै पनि तत्वलाई स्वपरीक्षण गरेर मात्र अनुसरण गर्नुपर्छ भन्ने हो । स्वयम् बुद्ध वचन छः  जसरी सुन हो होइन भनेर आगोमा परीक्षण गरिन्छ, त्यसरी नै बुद्धवचन पनि सही हुन् वा होइनन् भनेर परीक्षणपश्चात् मात्र मेरा वचनहरूको पालना गर्नू । यस्तो बुद्धवचन भए पनि पछिल्ला समयमा उनको यस वचनलाई प्रायः हामीले स्मृतिपथबाट पर धकेलिरहेका छौँ ।

बुद्धको महापरिनिर्वाणपश्चात् बुद्धवादमा मतमतान्तरहरू देखापर्न थाले । बुद्धको परिनिर्वाणपश्चात् बुद्धविचारलाई कसरी चिरकालपर्यन्त स्थायित्व प्रदान गर्ने विषयमा ठुल्ठूला बौद्ध सङ्गतिहरू भए । ती सङ्गतिहरूमा मतैक्यता हुन सकेन । बुद्धविचारलाई जस्ताको त्यस्तै मानेर अगि बढ्नुपर्छ भन्नेहरू र समय परिस्थितिअनुसार परिवर्तन गर्दै जानुपर्छ भन्नेमा मतविभाजित हुँदा हीनयान र महायानको प्रादुर्भाव भयो । साथसाथै दार्शनिक विभाजन पनि हुनगयो । बौद्धसङ्गतिमा बुद्धवचन सङ्ग्रहमा मतमतान्तर हुँदा दर्शन अन्तर्गत चार वैभाषिक, सौत्रान्तिक, योगाचार (विज्ञानवाद) र माध्यमिक (शून्यवाद) मा विभक्त हुनगयो । त्यसैगरी धर्ममा पनि हीनयान, महायान, वज्रयान, लामा परम्परा विकसित भए । हीनयानका नजिक वैभाषिक र सौत्रान्तिक दर्शन छन् भने महायान नजिक योगाचार र माध्यमिक छन् । वज्रयानमा हिन्दु तन्त्रशास्त्रको गहिरो प्रभाव देखिन्छ भने लामा परम्परामा बोन धर्मको प्रभाव पाइन्छ । यहाँ यानको अर्थ मार्ग अथवा बाटो भन्ने हुन्छ । यायते प्राप्यते अनेन अर्थात् जहाँबाट प्राप्त हुन्छ भन्ने अर्थमा यान शब्दको निर्माण भएको देखिन्छ । हीनयान र महायानका बीचको सङ्घर्षमा महायानीहरू यस्तो भन्दछन्ः

आशयोपदेशस्य प्रयोगस्य विरोधतस् ।
उपस्तम्भस्य कालस्य यद्हीनम् हीनमेव तत् ।।

अर्थात् आशय नबुझ्दा, उपदेश नजान्दा, विरोधले, समयअनुसार चल्न नसक्नु नै खासमा हीन हुनु हो । यहाँ उल्लेख भएको हीन शब्दको आशय निकृष्ट नभई अरूका सापेक्षतामा कमजोर भन्ने लाग्दछ  । बौद्ध  दर्शनले संसारको क्षणिकतालाई स्वीकार गर्दछ । सबै बौद्ध दार्शनिकहरूले क्षणिकतालाई स्वीकार गर्छन् । प्रत्येक पदार्थ संसारमा क्षणचतुष्टय मात्र रहन्छ । उत्पत्ति हुन्छ, अस्तित्वमा रहन्छ, विनाश हुन्छ र विलय हुन्छ भन्ने नै क्षणचतुष्टय हो । त्यसैगरी संसार अनित्य छ भन्ने मान्यता बौद्धहरूको केन्द्रीय वैचारिक मत हो । संसारमा भएका जुनसुकै पदार्थ पनि अनित्य छन् । यिनमा नित्यताको खोजी गर्न सकिँदैन । त्यसैगरी प्रतीत्यसमुत्पाद बौद्धहरूको अर्को महत्त्वपूर्ण विवेचना हो । यसमा अनागत, आगत र भविष्यहरूको विवेचना गरिन्छ । धार्मिकरूपमा हीनयान वर्तमान भारतका दक्षिणतिर धेरै विकास भयो, श्रीलङ्का, बर्मा, भुटानलगायतमा हीनयानीहरू रहेका छन् भने उत्तरतर्फ कम्बोडिया, थाइल्यान्ड, लाओसतिर महायानीहरू रहेका छन् । वज्रयान विशेषगरी बौद्धहरूको तान्त्रिक उपासना हो । यसमा मन्त्रको विशेष देन पाइन्छ । यसले भारतको पनि उत्तरी प्रान्त र नेपालको उपत्यकामा विशेष प्रभाव जमाएको छ । लामा परम्परा विशुद्ध बौद्ध मार्ग मात्र नभई यसमा हिमाली भेगतिर मनाउँदै आएको बोन धर्मको समेत प्रभाव छ ।

बौद्धदर्शनलाई पौरस्त्य दर्शनमा नास्तिक दर्शनभित्र समाहित गरिएको छ । नास्तिक शब्दको सामान्य अर्थ ईश्वरको सत्ता अस्वीकार गर्नु हो । मनुस्मृतिमा उल्लेख गरिएको पनि पाइन्छः नास्तिको वेदनिन्दकस् अर्थात् वेदको निन्दा गर्ने नास्तिक हो । के बुद्धले साँच्चै वेदको निन्दा गरेका हुन् त ? खास कारण उनले वेदको निन्दा गरेको नभएर जस्तासुकै हिंस्रक यज्ञहरू पनि वेदमा उल्लेख छ भन्ने विचारलाई अस्वीकार गरी वेदको स्वतः प्रामाणिकता नमानेका हुन् । कुनै पनि अवस्थामा वेदमा वर्णन गरिएको छ भनेर प्राणी हिंसा गर्नु हुँदैन भन्ने मत बुद्धको रहेको थियो । कुनै समय बुद्धलाई उनका अन्तेवासीहरूले ईश्वर, परमार्थ जस्ता चौध प्रश्न गर्दा उनले कुनै जवाफ दिएनन् । यसलाई अव्याकृत नय भनिन्छ । बुद्धमा यससम्बन्धी ज्ञान नभएर उत्तर नदिएका होइनन् । उनले यस्ता प्रश्नलाई निरर्थक मानेका छन् । ईश्वर, मुक्ति आदिको सत्ताका विषयमा व्यर्थ बहसले कहीँ पु¥याउँदैन । यस्ता व्यर्थ बहसमा नलाग्न पनि बुद्धको अभिप्राय पाइन्थ्यो ।

अव्याकृत नयसम्बन्धी मौनताको उनीपछिकाले आ–आफ्नै अर्थ लगाएका छन् । मौनको अर्थ थिएन भन्ने लगाउनेहरू ईश्वरको अस्तित्व मानेनन् । थियो र त उनी मौन भए भन्नेहरूले ईश्वरको अस्तित्व स्वीकार गरे । पौरस्त्य दर्शनमा नास्तिकभित्र (वेदको स्वतः प्रामाणिकता अस्वीकार गर्ने) चार्वाक, जैन र बौद्ध गरी तीन पर्दछन् । बुद्धले सुरुवात नगरेको भए पनि भारतीय दर्शनमा यसको प्रभाव र विस्तार सर्वाेपरि रहेको पाइन्छ । दार्शनिक र धार्मिक विभाजन फरक फरक भए निर्वाणमा भने उनीहरूबीच मतैक्यता छ । निर्वाणको स्वरूपका विषयमा भने तात्वक भिन्नता छ । भारत वर्षमा रहेका बौद्धविज्ञहरूसँग तैर्थिक मतावलम्बीहरू शास्त्र चर्चा परिचर्चा गर्न हिच्किचाउँथे ।

  भारतमा मुगल आक्रमणका समयमा विपुल बौद्ध साहित्य नष्ट भयो । यसमा के आशङ्का प्रबल रूपमा गरिन्छ र कतिपय सन्दर्भमा बौद्ध साहित्यका इतिहास लेखकहरूले लेखेका पनि छन् हिन्दुहरूको सहमतिमै मुगलहरू नालन्दा, तक्षशिला जस्ता प्राचीन विश्वविद्यालयमा आगो लगाउने काम गरे ।त्यहाँ भएका बौद्ध गन्थहरूको समूल नाश गर्ने प्रयास केही हदसम्म सफल पनि भयो । त्यसपूर्व नै बौद्ध साहित्य तिब्बती  भाषामा अनुवाद भएकाले पछि पुनः तिब्बतीयन भाषाबाट संस्कृत, पाली आदि भाषामा रूपान्तरण गर्ने काम गरियो । अहिले पनि भारतमा यससम्बन्धी परियोजना विश्वविद्यालयहरूले भारत सरकारको आर्थिक सहयोगमा गरिरहेका छन् । समग्र बौद्ध साहित्यको महŒवपूर्ण स्रोत त्रिपिटक (पालिमा त्रिपिटक) हो । यसमा मूल सुत्तपिटक, विनयपिटक र अभिधम्म पिटक पर्दछन् । त्रिपिटकभित्र अनेक अनुपिटकहरू रहेका छन् । पिटक भनेको पोटरी अर्थात् भण्डारण स्थल हो । यिनमा नै कतै सूत्रात्मक र कतै व्याख्यात्मक तरिकाले बुद्धवचनहरू सङ्ग्रहित छन् । पिटक मूलतः पाली भाषामा भए पनि यसको संस्कृतीकरण पनि गरिएको पाइन्छ । बौद्ध साहित्यमा जातक कथा, बौद्धन्याय, बौद्ध ध्यान (विशेषगरी विपस्यना) आदि रहेका छन् । त्रिपिटककले बौद्ध साहित्यको मात्र अभिव्यक्ति नगरी तत्कालीन सामाजिक, राजनीतिक, आर्थिक प्रणाली आदि समेत प्रस्तुत गरेको पाइन्छ ।

स्वयम् तथागतले कुनै पनि दर्शन र धर्म प्रतिपादन नगरेको भए पनि उनका अनुयायीहरू विभिन्न मतमतान्तरमा विभक्त हुँदै आफू अनुकूल बुद्धवचन व्याख्या र विश्लेषण गरेको पाइन्छ । बुद्धमार्ग  मानवका लागि  शाश्वत् सत्यको पथ हो । मानवमा कम्तीमा मानवता हुनुप¥यो । मानवताका लागि मैत्री, करुण, मुदिता र उपेक्षा (ईष्टवस्तु त्यागको भावना) यी चार तŒवले मानवलाई शाश्वत् सत्यको पथिक बनाउँछ । बुद्धविचारहरू विशालकाय ग्रन्थहरूले समेत समेट्न सकेका छैनन् । यसभित्रका गूढतम रहस्यहरू आस्वादन गर्नु त्यति सहज कार्य होइन । खास दुःखको कुरा हामी नेपाली बुद्ध यस धर्तीमा जन्मेकामा गौरवको अनुभूति त गर्छौ तर स्वयम् बुद्धवादको अनुसरणमा चुक्दछौँ । हाम्रो राष्ट्रिय संस्कृतिमा शान्ति, सहिष्णुता, अहिंसाजस्ता मानवहितका कुराहरू कल्पनातीत बनिरहेका छन् । 

हाम्रा पाठ्यक्रमहरूले बुद्धवादलाई अङ्गीकार गर्न सकिरहेका छैनन् । नेपाल बौद्ध अध्ययन, अनुसन्धानको विश्व केन्द्र बन्न हतार भइसकेको छ । विश्वका करोडौँ यस धर्ममा आस्था राख्नेहरू अध्ययन, अनुसन्धान, ध्यान र आध्यात्मिक केन्द्र बन्नुपर्छ । यसका लागि राष्ट्रले त्यसखाले नीति बनाई व्यावहारिक रूपमा लागू गर्नुपर्छ । बुद्ध जन्मभूमि नेपालमा परेकामा मात्र हामी गौरव अनुभव गर्दैछौं । बुद्धवाद र बौद्ध संस्कृतिलाई जीवनमा लागू गर्न सकेमात्र भगवान् बुद्ध नेपालमा जन्मेको सार्थक हुन्छ   । हाम्रा विद्यालय र विश्वविद्यालयका तमाम पाठ्यक्रम बौद्धसाहित्यबाट प्रभावित हुनुपर्छ । सन्निकट रहेको बुद्ध जयन्तीले हामीमा शान्ति, करुणा, अहिंसा, सहिष्णुता जस्ता गुणहरू आत्मसात गर्ने र अनुसरण गर्ने शक्ति मिलोस् । शाश्वत् सत्यहरूको अनुसरण गर्ने र राज्यको सर्वाेपरिहित हुने कार्य गर्न सफल भइयोस् । यसले मात्र भगवान् बुद्धप्रतिको हाम्रो राष्ट्रिय आकाङ्क्षाको सम्बोधन हुनसक्छ ।
विज्ञेषु किमधिकम् ।