मैले लिम्बू भाषा निकै पछि मात्र सुनेको र सिकेको हुँ । म झण्डै तेह्र वर्षको छँदा दार्जिलिङबाट पढेर आएपछि भाषा सिक्ने क्रममा थिएँ । काका, दिदी, दाइहरूको मुखबाट बारम्बार निक्लिने शब्द, एक दिन मैले मेरो युमा (बोजू) सँग सोधेँ, ‘बोजू जाँ..  लाई लिम्बूमा के भन्छ ?’

sashi

बोजूले भन्नुभयो, ‘के दिक चै भन्छ र हौ ? चाँठै (मेरो बोजूले त त्यो पनि अशुद्ध नेपालीमा भन्नु हुन्थ्यो) भन्छ नि ।’ लिम्बूमा के भन्छ त ? ‘तिम्रो बाजे बराजुले कहाँबाट सुनेर सिकेको हाम्रो होइन है ! याक्थुङ पान्ओ ग होपा ! (लिम्बू भाषामा त छैन )’ भन्नुभएको थियो र त्यहीबेलादेखि यो लिम्बू भाषा होइन भनेर त बुझेकी हुँ तर गाली हो कि के हो धेरै पछि मात्र ज्ञान भयो मलाई चैँ । आमा बाबाले चैँ नबोल्ने हँुदा घरमा यस्तो शब्द बोलिएको थिएन तर पछिपछि खै कसरी हो रिसको झोँकमा धेरैचोटी मुखबाट ननिस्किएको चैँ होइन !

अहिले नेपाली सिनेमामा जसरी मूलबासी समुदायका कथाहरू लेख्न वा देखिन थालिएको छ त्योसँगै थेगोको रूपमा प्रचलित केही शब्दहरू पनि त्यहाँको रहनसहन र बोलीचालीलाई सार्थक पार्नकै निमित्त कथामा जोडिएर आउन थालेका छन् । यसलाई सिधै प्रयोग नगर्दा घुमाएर (जाँड खाने र चिनी खाने) भनेर पनि बुझाइन्छ । सिधै भन्दा यसलाई अश्लील वा अपाच्य शब्द भनेर पनि मानिन्छ ।

यसको प्रयोग र विरोध दुवै ‘जारी’ चलचित्रमा पनि नभएको होइन तर आम दर्शकहरूले त्यसलाई सजिलै पचाए । अहिले फेरि नयाँ नेपाली चलचित्र ‘घर ज्वाइँ’ मा पनि यस्तै शब्दहरूको व्यापक प्रयोग भएको रहेछ । चलचित्रको ट्रेलर रिलिज भएसँगै केही विवाद र विरोधका आवाजहरू पनि सुनिन थालेका छन् ।

अब यता मैले बुझेको वा मैले तलासेको कुरा चैँ यति हो कि हामी कुनै पनि मूलवासी जनजातिहरूको आ–आफ्नो मातृभाषा जुन छ, त्यहाँ कहीँ कतै पनि यी शब्दहरू छैनन् । शरीरका सम्पूर्ण अङ्गहरूको नाम भए पनि मैले जानेसम्म यो ‘जाँ...’ शब्दको चैँ नाम निसान छैन । पछि कसैले बनाए भने के जान्नु मेरो जानकारीमा पटक्कै छैन । लिम्बू भाषामा त झन् पटक्कै छैन । मभन्दा ७८ वर्ष जेठी बोजूले नै यस्तो शब्द लिम्बू भाषामा छैन भनेपछि अवश्य नै छैन । छ भने पनि त्यसलाई गालीको रूपमा प्रयोग गरिन्न नै होला ।

तर हिमाली भेगदेखि महाभारत र चुरे पर्वतहरूबाट ओरालो हँुदै नुन र सुनको व्यापार चलेपछि सहरतिरकै नेपाली भाषीहरूबाट ढाकरमा बोकेर आयातित गरिएको शब्द हुनुपर्छ पक्कै पनि । त्यसपछि मात्र ‘जाँड खाने र चिनी खाने’ भाषा हाम्रा पुर्खाले थेगोको रूपमा प्रयोग गर्न थालेको हुनुपर्छ ।

न त हामीले सोध्यौँ, न पुर्खाहरूले नै बुझे वा सोधे ती थेगोहरूको शब्दार्थ । यसलाई बोल्दा अलिकति पनि लाज नमानी सजिलै बोल्नु भनेकै शब्दको अर्थ नबुझ्नु नै हो । हुनसक्छ, त्यो बेला सहर पुगेर आएको धाक वा नयाँ केही सिकेको प्रमाण–पत्र..... ? मतलव आयातित शब्द नै हुनुपर्छ ।

अचम्म चाहिँ यो कुरामा लाग्छ कि पूर्व ताप्लेजुङको लिम्बू र पश्चिम रुकुम पूर्वको तक्सेराको मगरबीच चिनजान वा अरू कुनै सम्बन्ध पनि नहुन सक्छ । ती लिम्बू र ती मगरको आ–आफ्नै मातृभाषा र संस्कृति छन् । उनीहरू एक–अर्काका भाषा पनि बुझ्दैनन् । तर पनि किन यो शब्द सबैतिर मिल्छ ? उताको मगर र यताको लिम्बूले कसरी सिके त यस्ता शब्द ? अनि अर्को कुरा उनीहरूका आ–आफ्ना भाषामा किन छैनन् यस्तो शब्द ? किन कि यो उनीहरूको मौलिक भाषा होइन पक्कै पनि ।

त्यसकारण हाम्रा अग्रजहरूसँगै सिकेर सुनेर हुर्कने हामीभन्दा अघिल्लो पुस्ता केही विकट गाउँहरूमा यो थेगोको रूपमा मात्रै प्रचलित छ र यो शब्दसँगको हाम्रो भावनात्मक सम्बन्ध भनेको शब्दार्थको ज्ञान विना बाजे वा बाबु, काका, दाजुहरूले धाप मारेर प्रयोग गरेको गर्विलो क्षण वा हँसीमजाक गर्दाको रमाइलो सम्झना र रिस पोखाउने माध्मम् मात्र हो । हामी मूलवासीहरू सजिलै अश्लील गाली बोल्छौँ र यस्तो संस्कार चल्न दिनुहुन्न भन्ने कसैको सोच छ भने यो सरासर गलत हुन जान्छ । जब शिक्षाको प्रवेशसँगै शब्दको अर्थ बुझ्ने क्रम बढ्यो नि यो पनि अब हराउने क्रममा छ । किन कि यो शब्द हाम्रो पुस्ताले रिस उठेको बेलामा मात्र र हामीभन्दा पछिल्लो पुस्ताले अपवादको रूपमा मात्र प्रयोग गर्ने गरेको देखिन्छ ।

त्यसअर्थमा बाजे बराजुहरूले अरूबाटै पैँचो लिएर अर्थै नबुझी यत्रो वर्ष बचाइदिएका यी दुर्लभ शब्दहरू करिब करिब जसको हो, उसैलाई फिर्ता पठाइसकेकै अवस्थामा पुगेको छ । वास्तवमा यो नेपाली भाषा नै हो र यसको अर्थ पनि नेपाली भाषाविज्ञहरूसँग नै होला तर नेपाली सबै सभ्य भइटोपलेको हुनाले यस्ता दुर्लभ शब्दहरू अब हराउने निश्चित छ । बरू फ्लिमहरूमा सङ्ग्रह भएर बस्नु त इतिहासमा पढ्न र हेर्न पाउनु हो नि किन विरोध गर्ने र ?

ज–जसलाई यो शब्दले लाज लागेको छ र ज–जसले बुझेर गलत हो भनिरहनुभएको छ भने यो गलतै हो तर के गर्ने मेरो बाजेले अझै बुझेकै छैन र आफ्नो रिस वा उत्साह वा अचम्म अनि भनौँ गर्व गर्ने बेलामा समेत प्रयोग गरिरहनुभएकै छ । यो जसले सिकायो, शब्द सिकाएर अर्थ नबुझाइएको परिणाम होला नत्र चेलीबेटीको असाध्यै सम्मान र अधिकार दिने जातिहरू नै यस्तो शब्द किन प्रयोग गर्दा हुन् उबेलै ! अहिले आएर बुझे पनि पुस्तैनी थेगो र आदत दुवै बन्यो होला ।

हामीले हिन्दी र अङ्ग्रेजी फिल्महरूमा यस्ता स्थानीय वा प्रान्तीय गाली–गलौज भएको पचाउँदै आए पनि नेपाली फिल्मले वास्तविक र यथार्थपरक कथाहरू भरखरै मात्र सुरु गरेकाले पनि होला हामीले स्थानीयरूपमा बोलिने भाषालाई पचाउन बानी नपरेको । नत्र त मान्छे कुटेको, मान्छे मारेकोदेखि महिलालाई बलात्कार गरेकोसम्म दृश्यहरू पचाउँदै आएका छौँ । त्यो पनि त गलत हो नि, के हामीले त्यो सिक्छौँ त तुरुन्तै ? त्यस्तो गलत गर्नेले त फिल्म नै नहेरी पनि गरिरहेकै हुन्छ । यो फिल्म नै हेरेर सिक्छ भन्नु त बेकार हो । विरोध गर्नेहरू फिल्ममा आउनुभन्दा पहिले यस्ता शब्दहरू नबोलेको र नसुनेको कतै होला र ? तसर्थ हामीले यो शब्दसँग लाज मान्नु र विरोध गर्नुको तुक छैन ।

यही शब्दलाई लिएर अब बबण्डर उठाउनु पनि ठीक होला र ? फिल्ममा समाज र समय बुझाउने अनि देखाउने हो आखिर कोही त्यो ठाउँमा पुग्नुभयो भने त्यहाँ सबैको मुखमा क्लिप लाउन सकिने होइन, तसर्थ विरोध गर्नु बेकार छ । यो फगत् मेरो अनुमान र सोच हो । तर यो भन्दा अतिरञ्जित र विकृतिपूर्ण शब्दहरू भए सेन्सरबोर्डले अवश्य कैंची चलाउला नि त !
(हाल बेलायतमा रहेकी सुब्बा कवि, गीतकार तथा रङ्गकर्मी हुन् ।)