धरान । धरान उपमहानगरपालिका–११ अन्तर्गतको बाल सञ्जालले हालै एक बालिकामाथि भएको यौन दुव्र्यवहार घट्नालाई गुपचुप राख्न भूमिका खेल्नेहरूलाई कडा कारबाहीको माग गर्दै विभिन्न सरोकारवाला निकायमा ध्यानाकर्षण गराएको छ ।
धरान वडा नं. ११ स्थित बाल सञ्जालले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय सुनसरी, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, जिल्ला न्यायाधीवक्ताको कार्यालय इनरुवालगायतका निकायमा सोमबार ज्ञापन–पत्र बुझाउँदै घटनाबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानूनबमोजिम कडा कारबाही गर्न माग गरेको हो । बाल संरक्षणको सवालमा लामो समयदेखि काम गर्दै आएको सञ्जालले पीडित बालिका र परिवारले दिएको जानकारीअनुसार स्थानीयस्तरमा प्रभावशाली व्यक्तिहरूको संरक्षणमा घटनालाई दबाउन खोजिएको आरोप लगाएको छ ।
यसरी नाबालिकालाई मानसिक र सामाजिक पीडा दिने कार्य मानवअधिकारविपरीत भएको भन्दै सञ्जालले दोषीलाई उन्मुक्ति दिन नहुने स्पष्ट पारेको छ । घटनालाई गुपचुप राख्न भूमिका निर्वाह गरेको भन्दै स्थानीय कुन्दन श्रेष्ठ, समिर तामाङ, निश्चल पलिखेलगायतलाई पनि कारबाहीको माग गरेको छ । उनीहरूले सोही घटनाका विषयमा नगर प्रमुखले सामाजिक सञ्जालमा स्टाटस लेखेर धम्की दिएको र पछि पुनः डिलिट गरेको विषयलाई समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । सञ्जालले पीडित बालिकाको मनोवैज्ञानिक उपचार र सुरक्षाका लागि राज्य संयन्त्र सक्रिय हुनुपर्ने जनाएको छ ।
बाल सञ्जालका अध्यक्ष रोजन शङ्करले हस्ताक्षर गरेको ज्ञापन–पत्रमा भनिएको छ, “यदि दोषीलाई संरक्षण गरेर घटनालाई दबाउन खोजिएमा सञ्जाल र बाल समुदाय चुप लाग्ने छैन, बरु बालअधिकार र सुरक्षाका लागि सशक्त ढङ्गले आवाज उठाउनेछौँ ।” ज्ञापन–पत्रमा समाजमा बालमैत्री वातावरण बनाउने सन्देश दिन दोषीलाई कडा कारबाही गर्नुपर्ने, घटनाबारे सार्वजनिक छानबिन गर्नुपर्ने, पीडितलाई न्याय दिलाउन सबै संयन्त्र परिचालन गर्नुपर्ने र बाल संरक्षणसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जस्ता माग उल्लेख छन् ।
गत वैशाखमा धरान–१६ स्थित नौलोबस्तीमा हर्क साम्पाङको श्रमदाता टोली श्रमदान गर्दै गरेको समयमा एक श्रमदाताले ती बालिकालाई यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको थियो । अन्य श्रमदाताहरूले घटनालाई गुपचुप राखे पनि केही दिनअघि सार्वनजिक भएको थियो । पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएपछि धरान–१७ का खजिन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।