विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलमाथि ‘क्यूआर कोड आतङ्क’ मच्चाएर सरकारी कर्मचारीसँग अवैध रकम असुली गरेको गम्भीर आरोप लागेपछि उनको राजीनामा माग गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले मन्त्रीमाथि सङ्गठित भ्रष्टाचारको आशङ्का गर्दै तत्काल राजीनामाको माग गरेको हो ।

सोमबार बसेको प्रदेश सभा बैठकको शून्य समयमा माओवादी केन्द्रका सांसद् राजन किरातीले मन्त्री मण्डलको सचिवालयमार्फत् क्यूआर कोड पठाई पैसा असुल्ने अवैध अभ्यास सञ्चालन भएको दाबी गरे । “कोशीका पर्यटन मन्त्रीज्यूको क्यूआर आतङ्क, रकम नबुझाउनेलाई सरुवा गर्ने धम्की जस्ता समाचारहरू सार्वजनिक भइरहेका छन्” सांसद् किरातीले भने, “यो केवल व्यक्तिगत भ्रष्टाचार होइन, यो बजेट निर्माणमा बिचौलियाको संलग्नताको प्रमाण हो ।”

किरातीका अनुसार मन्त्रीको सचिवालयमा कार्यरत अमृत मेहता नामक व्यक्ति ‘अनधिकृत सचिव’ हुन् । क्यूआर कोड उनको नाममा दर्ता रहेको र त्यसैको माध्यमबाट रकम सङ्कलन भइरहेको उजागर भइसकेको छ । यस्तो आपराधिक गतिविधिमा मन्त्रीको प्रत्यक्ष संलग्नता वा सहमति नहुन्जेल यस्तो कार्य हुन नसक्ने भन्दै किरातीले तत्काल छानबिनको माग गरे ।

किरातीले यस्तो गम्भीर आरोप सार्वजनिक भइरहँदासमेत मन्त्री मण्डलको मौनता शङ्कास्पद रहेको बताए । “आज सदनमा मन्त्रीज्यू अनुपस्थित हुनुहन्छ । यति संवेदनशील मुद्दा उठिरहेको बेला भागेर बस्ने हैन, सामना गर्ने हिम्मत देखाउनुपर्छ”– उनले भने । 

माओवादी केन्द्रले यस विषयमा तत्काल छानबिन गरी सत्यतथ्य सदन र जनतालाई जानकारी गराउन सरकारसँग माग गरेको छ । “राजीनामा दिनु उहाँको व्यक्तिगत नैतिकताको विषय हो, तर प्रदेश सरकारमाथि जवाफदेहिताको गम्भीर प्रश्न उठिसकेको छ”– किरातीले भने ।