धरान /पहिचान पुरस्कारका लागि मनोनित आख्यानकार प्रगति राईको ‘थाङ्ग्रा’ माथि शनिबार झापाको दमकमा विमर्श भएको छ ।


किरात मुन्धुम प्रतिष्ठानको आयोजनामा गरिएको विमर्शमा वक्ताहरूले थाङ्ग्राले नेपाली साहित्यको क्षेत्रमा नयाँ बहस उठाएको बताए । वक्ता कवि मिश्र वैजयन्तीले पुरुषमात्रै थाङ्ग्रा नभई महिला पनि थाङ्ग्रा हुनसक्ने बहस उपन्यासले उठाएको बताइन् । ‘सिङ्गै काँध थापेर, सक्षम बनाएर विशिष्ट स्थानमा पु¥याइदिँदा पनि ऊ महिला चाहिँ जहिल्यै लहरा भइरहनुपर्ने’ उनले भनिन्, ‘यस समाजमा कसरी छोरीहरू पनि थाङ्ग्रा हुन सक्छन्, घर थाम्न सक्छन् । अबको समाजमा कसरी वंशको परिभाषा गर्नुपर्छ भन्ने जुन एउटा नवीन चिन्तन थाङ्ग्रा उपन्यासमा आएको छ ।’


उनले यो उपन्यासले प्रगतिशील चिन्तन बोकेको र समाजलाई विनिर्माण गर्नुपर्छ भन्ने सन्देश दिएको बताइन् । उनले समाज परिवर्तन गर्नुपर्ने अवस्था भए पनि ‘मेरो बाबाले चित्त दुखाउनुहुन्छ । आमाले दुःख मान्नुहुन्छ’ भन्ने संस्कार सिकाइरहेको सन्दर्भलाई चिरेर नयाँ तरिकाले सोचौँ न भन्ने कुरा सिकाएको बताइन् । उपन्यासकार प्रगति राईले आफूले यस उपन्यासबाट समतामूलक समाज निर्माणको पक्षमा विचार अभिव्यक्त गरेको बताइन् ।


उनले भनिन्, ‘उपन्यासले समाजमा पुरुषको जति अधिकार छ, त्यति महिलाको पनि हुन्छ । महिलाले पनि वंशाधिकार पाउनुपर्छ भन्ने कुरा बोलेको छ ।’ अर्का वक्ता हङ्कङ समीक्षक समाजका अध्यक्ष हेम लावतीले आख्यानकार प्रगति राईका अन्य उपन्यासको तुलनामा यो उपन्यासले सशक्त आवाज उठाएको र वैचारिकी दृष्टिकोणले पनि निकै उन्नत रहेको बताए । तर उपन्यास पढिरहँदा स्क्रिप्ट पढेजस्तो लाग्ने भन्दै टिप्पणी गरे ।


यसबारे उपन्यासकार राईले भनिन्, ‘पाठकले कसरी बुझ्छ । त्यो पाठकको कुरा हो । तपाईंलाई स्क्रिप्ट लाग्न सक्छ । त्यसलाई अन्यथा लिनु हुँदैन ।’ प्रतिष्ठानका अध्यक्ष प्राज्ञ मुनराज शेर्माले यस उपन्यासले वंशाधिकारलाई मान्यता प्रदान गर्नमा भूमिका खेलेको बताए । यो उपन्यास पछिल्लो समयको सशक्त उपन्यास रहेको उनले बताए । ‘लेखिकाको अन्य उपन्यासबाटै वंशाधिकारको कुराहरू आइरहेका थिए । यस उपन्यासमा चोटिलो तरिकाले आफ्नो विचार प्रस्तुत गरिएको छ । यत्तिको उपन्यास आउनु हाम्रो लागि गर्वको विषय हो । यो उपन्यास सबैले पढ्नुपर्छ । मनन् गर्नुपर्छ’–कार्यक्रमलाई समापन गर्ने क्रममा उनले भने ।


कार्यक्रमको सहजीकरण पत्रकार एवम् कवि भोजराज श्रेष्ठले गरेका थिए भने कार्यक्रमको उद्घाटन आख्यानकार कृष्ण बरालले गरेका थिए । दुई सत्रमा सुरु भएको कार्यक्रमको पहिलो चरण औपचारिकतामा सीमित थियो भने दोस्रो चरणमा विमर्श गरिएको प्रतिष्ठानका उपाध्यक्ष कवि विराट किरातीले जानकारी दिए । आख्यानकार राईको यो तेस्रो कृति हो भने लेखककी स्वास्नी, बिर्सिएको मृत्यु यसअघि नै आइसकेको थियो । त्यस्तै वादी विज्ञप्ति कविता सङ्ग्रह पनि आएको थियो ।