कुनै समय फलामे ढोका भनेर परिचित एस.एल.सी. (हाल नाम फेरिएर एसईई) आजका दिनमा सामान्य बनेको छ । एसईईको इज्जत र साख हरेक वर्ष गुम्दो छ । कुनै बेला मूल्यवान् हुने एस.एल.सी. आजको दिनमा खासै मतलव हुँदैन । ५० को दशकसम्म एस.एल.सी. पास गरेमा गाउँभरि भनौं एउटा इलाकामा चर्चा हुन्थ्यो । अझ राम्रो अङ्कले उत्तीर्ण भएको हकमा त जिल्लामै पहिचान बन्थ्यो । तर, आज त्यो रहेन । परीक्षाको स्तरवृद्धि हुनुपर्नेमा अझ खस्किँदै गएको छ भन्ने प्रमाण मोरङमा केन्द्राध्यक्षसहित छ जना निरीक्षकमाथि भएको कारबाहीले पुष्टि गरेको छ । अहिले चिट चोर्ने र चोराउने परम्परा बनेको छ । विद्यार्थीहरु पनि सजिलैसँग उत्तीर्ण भइहालिन्छ भनेर पढ्ने परम्परा पूर्णतः सकिएर गएको छ । दुःख गरेर पढ्ने अर्थात् ‘टुप्पी कसेर पढ्ने’ भन्ने कुरा कुरामै सीमित छ । यस्ता प्रवृत्तिका कारण पनि अहिलेको शिक्षाको स्तर वृद्धि हुन नसकेको प्रतीत हुन्छ । विदेशीको चालमा साक्षरता दर बढाउने खेलले गर्दा पनि नेपालको शिक्षाको स्तर गुणात्मकभन्दा पनि सङ्ख्यात्मकमा सीमित बन्न पुगेको छ । साक्षरता दर नबढाए अनुदान कटौती गरिदिने जस्ता अमूक धम्कीका कारण पनि नेपालको शिक्षाको स्तर खस्केको हो ।

अहिलेका विद्यार्थीमा पढ्ने परम्परा पूर्णतः नष्ट भएको छ । किताबी किरो हुने वा ज्ञान लिने भन्ने विषयभन्दा पनि कसरी चोरेर पास गर्ने भन्ने ध्याउन्नमा लागेको देखिन्छ । पढ्ने परम्परा एसईईका बच्चामा मात्रै हैन, एस.एल.सी. (कक्षा १२)का बच्चामा पनि देखिँदैन । यो परम्पराले हामीलाई कतातिर डो¥याउँदै छ ? विद्यार्थीलाई यस्तो वातावरण कसले तयार पारिदियो ? यसमा शिक्षकको भूमिका, समाजको भूमिका, अभिभावकको भूमिका र राज्यको भूमिका कति रह्यो ? पक्कै पनि मन्थन गर्ने बेला भएको छ । अब पनि चिट चोर्ने र चोराउने परम्पराको विकास हुने हो भने हाम्रा विद्यार्थीको गुणस्तर झनै खस्किने छ । शिक्षकहरु नै चोराउनमा व्यस्त हुने गर्दछन् । कसरी चोर्ने र उत्तीर्ण हुने भन्ने विषयमा शिक्षकहरुले छुट्टै कक्षामा सहजीकरण गरिरहेको पनि नभेटिने होइन । विद्यार्थी फेल भए भने स्कुलको ‘नाक’ काटिन्छ भन्ने डर र भयका कारणले गर्दा पनि चोर्ने र चोराउने खेलहरु भइरहेका छन् । धेरै विद्यार्थी फेल भएमा शिक्षकले के पढायो भन्ने सामाजिक डरका कारणले पनि चोर्ने र चोराउने खेल सुरू भएको छ । यो खेल ५० को दशकबाट सुरू भएर आजको अवस्थामा आइपुग्दा भयङ्कर मनोवैज्ञानिक रोगका रुपमा रहेको छ । हरेक स्कुलहरु यो रोगबाट आक्रान्त छन् । शिक्षक आक्रान्त छ, प्रिन्सिपल आक्रान्त छ, अभिभावक आक्रान्त छन् । यस्ता तमाम समस्याका कारण पनि हाम्रो शिक्षाको गुणस्तरमा वृद्धि नहुने देखिन्छ । यदि परीक्षा प्रणाली खुकुलो नपार्ने हो भने यहाँ नाम कहलिएका स्कुलहरुका विद्यार्थी सोत्तर फेल हुन्छन् । ‘नाक’ जोगाउने खेलका कारण पनि चोर्ने र चोराउने खेल अझ बढेको छ । केन्द्राध्यक्षसहित निरीक्षकहरु कारबाहीमा पर्ने पनि यही कारण हो ।

सबैले आआफ्नो जिम्मेवारी ठीक ढङ्गले कार्यान्वयन नगर्दाको परिणाम हामीले विगतदेखि भोग्दै आइरहेका छौँ । अबको केही वर्षपछि विद्यार्थीहरु विल्कुल पढ्ने छैनन् । यस्तो अवस्था आउने वातावरण अरु कसैले हैन, पहिलो त राज्यले गरिरहेको छ । विदेशी अनुदान गुम्ने डरका कारण साक्षरता दर बढाइँदै छ । जसले हामीलाई दक्ष तथा मिहिनेती जनशक्ति हैन, अरबका खाडीहरुमा चाहिने जनशक्ति निर्माण गरिरहेको छ । के हामीले खोजेको यस्तै जनशक्ति हो ? शिक्षाका नाममा भइरहेको व्यापार पनि गुणस्तर खस्काउने अर्को अस्त्र हो । जो समाजका अगुवाहरु छन् । उनीहरुले नै आफ्नो जिम्मेवारीलाई भुलेर मेरो विद्यालयमा शतप्रतिशत उत्तीर्ण भए भन्ने ढोल पिट्ने परम्पराका कारणले यस्तो समस्या आइरहेको छ । यस्ता तमाम समस्यालाई हल गर्नका लागि पहिलो त राज्य नै लाग्नुपर्छ । त्यसपछि समाजका अगुवा, अभिभावक, शिक्षक र स्कुल सञ्चालकहरुले पनि आफूलाई परिमार्जन गर्नुपर्छ । ढिला नगरौँ समस्याको समाधान अरु कसैले गरिदिँदैन । हामीले नै गर्ने हो । वैदेशिक अनुदानको भरमा हाम्रो शिक्षाप्रणालीलाई नखस्काऔँ । एउटा मिहिनेती र जाँगरिलो जनशक्ति उत्पादन गर्ने लक्ष्यतर्फ हाम्रो अभियान हुन जरूरी छ । शिक्षाको स्तर सुध्रन आवश्यक छ । अन्यथा हामीले अन्य देशको लागि जनशक्ति मात्रै उत्पादन गर्नेछौँ । हामी चाहिँ जहिल्यै परनिर्भर हुनुपर्नेछ । त्यो अवस्था आउन नदिन आजैबाट सबैले प्रण गरौँ । थोरै होस् तर, गुणस्तरीय होस् ।