आगामी चैत्र २७ देखि ०८१ वैशाख २८ सम्म वराहक्षेत्र चतराधाममा लाग्ने वाह्र वर्षे पूर्ण महाकुम्भ मेलामा ३० लाख धार्मिक पर्यटकलाई व्यवस्थापन गर्ने गरी तयारी थलिएको छ ।

बुधबार मूल आयोजक समितिद्वारा चतराधामस्थित सचिवालयको कार्यालयमा पत्रकार सम्मेलन गर्दै समितिले न्युनत्तम ३० लाख आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्रने अनुमानसहित  तयारी थालिएको जानकारी गराएको हो ।

मूल आयोजक समिति मातहत २६ समिति यसअघि निर्माण गरिसकिएको छ । समितिले आआफ्ना जिम्मेवारीअनुसार काम सुरु गरेको सहअध्यक्ष एवम्  बराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले जानकारी दिए । 

पाँच ठाउँमा तत्काल पार्किङ
कुम्भ मेलामा आउने भक्तजन र सवारी साधनको व्यवस्थापनका लागि आयोजक समितिले तत्काल पाँच ठाउँमा सवारी पार्किङको व्यवस्थापन गरेको छ ।
नगर प्रमुख कार्कीका अनुसार वराहक्षेत्र १ को साविक एलएनटी परियोजनाको खाली मैदानलाई पहिलो पार्किङ तोकिएको छ । त्यस्तै १ नम्वर वडा कार्यालय अगाडि, वन कार्यालय परिसर, चतरा बसपार्क, छिन्न्मस्ता मन्दिर परिसरलगायतका स्थानलाई तोकिएको छ ।

यातायात व्यवस्थापन समितिका संयोजकसमेत रहेका बराहक्षेत्र नगरपालिका १ नम्बर वडाका वडाध्यक्ष किसन थापा मगरले आवश्यक स्थानमा चाप हेरेर व्यवस्थापन गरिने जानकारी दिए ।

'कुम्भमा हुने भ्रष्टाचार अन्त्य गर्न कार्यपालिका जिम्मेवार हुने'

पत्रकार सम्मेलनमा बोल्दै महाकुम्भ मेला मूल आयोजक समितिका उपाध्यक्षसमेत रहेका बराहक्षेत्र- २ का वडाध्यक्ष होमप्रसाद गौतमले कुम्भमा हुने भ्रष्टाचार अन्त्य गर्न कार्यपालिका जिम्मेवार हुने बताएका छन् ।

'यसपालिको कुम्भ बराहक्षेत्र नगरपालिकाले पृथक तरिकाले लगाउने सोचका साथ अघि बढेको छ,' वडाध्यक्ष गौतमले भने, 'हिजो कुम्भ लागिरहँदा जति पनि आय-व्ययहरुको बारेमा भ्रष्टाचार भयो भन्ने जिज्ञासाहरु आउँथे त्यसको अन्त्य गर्नुपर्छ भन्ने हैसियतले यसपाली हामी लागेका छौं ।'

नगर कार्यपालिकाले भ्रष्टाचारजन्य गतिविधिको अनुगमन गर्नका लागि चुस्तदुरुस्त टिम निर्माण गर्ने निर्णय गरिसकेको गौतमले बताए । 'व्यवस्थित तरिकाले कुम्भ मेला लगाउनुपर्छ भन्ने कुरामा लागेका छौं ।' उनले भने । आयोजक समितिले ७० देखि ८० प्रतिशत काम टुङ्ग्याएको वडाध्यक्ष गौतमले जानकारी दिए ।

खुलेआम रुपमा मदिरा र मासुजन्य पदार्थ बिक्रीवितरणमा रोक

कुम्भ मेला लाग्नुभन्दा ५ दिन पहिले र कुम्भ मेला सकिएको ५ दिनपछिसम्म कुम्भ क्षेत्रमा मदिरा र माछामासु बिक्रीवितरणमा रोक लगाउने तयारी गरिएको छ ।

कुम्भका सहअध्यक्ष एवम नगर प्रमुख रमेश कार्कीले धार्मिक कार्यमा राष्ट्र नै लागेकाले सात्विक बराहक्षेत्रको सन्देश दिनु पर्ने बताए । उनले सबै व्यवसायीलाई मदिरा र माछामासु बिक्रीवितरण नगर्न आह्वान गर्ने बताए  । उनले नगरपालिकाले सार्वजनिक सूचना जारी गर्नेसमेत बताए ।


'फेस रिडर' ले गणना गर्नेछ कुम्भमा आउने भक्तजनको सङ्ख्या

धार्मिक मेलामा आउने भक्तजनको यकिन तथ्यांक राख्न नसकिएका बेला कुम्भ मेलामा डिजिटल गणकले भक्तजनको गणना गर्ने तयारी भइरहेको छ ।

कुम्भमेलामा आउने भक्तजनको सङ्ख्या यकिन गर्न 'फेस रिडर' सिसी टिभी क्यामेरा राख्ने निर्णय भएको नगरप्रमुख कार्कीले जानकारी दिए ।
उनले सरकारसँग मोबाइलमा कुम्भको रिङटोन बज्ने व्यवस्थाका लागिसमेत छलफल चलेको बताए । त्यस्तै कुम्भ मेलाका अवसरमा भक्तजनलाई स्थानीय धार्मिक तीर्थका बारेमा जानकारी दिन र प्रचारप्रसार गर्न मिडिया सेन्टरसमेत स्थापना गर्ने तयारी भएको नगर प्रमुख कार्कीले बताए ।

१९५ अस्थायी शौचालय
कुम्भमेलाको सरसफाइ र व्यवस्थापनका लागि समितिले सार्वजनिक शौचालय र खानेपानीको व्यवस्थापन गरिरहेको छ ।
कुम्भ परिसरमा १९५ अस्थायी शौचालय निर्माण गर्ने आयोजक समितिको तयारी छ । यस्तै २ वटा मोबाइल भ्यान शौचालय कुम्भ क्षेत्रमा परिचालित हुने नगर प्रमुख कार्कीले बताए ।

कुम्भको सौन्दर्यीकरणका लागि एक घर एक गमला

कुम्भ क्षेत्र चतराधामको सौन्दर्यीकरणका लागि मेला समितिले स्थानीयलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको छ ।
नगरप्रमुख कार्कीले आफ्नो घर वरपर, आँगन, सडक अनिवार्य सरसफाइ गर्न नगरवासीमा आह्वान गरेका छन् । उनले स्थानीयलाई चतराधाम सौन्दर्यीकरण गर्न आग्रह गरेका छन् ।

नगर प्रमुख कार्कीले कुम्भको सौन्दर्यीकरणका लागि 'एक घर एक गमला' अभियान सुरु गरेको बताए ।
उनले स्थानीयलाई आफ्नो घरलाई 'होमस्टे' का रुपमा विकास गर्न समेत आह्वान गरेका छन् ।

पत्रकार सम्मेलनमा कोशी प्रदेश मुख्यमन्त्रीको कार्यालयका तर्फबाट कुम्भ मेलाका प्रवक्ता तोया ढकालले प्रदेश सरकारले सहयोग गरेको बताए ।

सञ्चारकर्मीहरुले बाटोको असुविधा, भक्तजनको व्यवस्थापनको चुनौती, स्वयम् सेवक परिचालनलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

यस अघि कुम्भ मेलाको व्यवस्थापनका लागि अनुगमन समिति, आर्थिक समिति, शान्ति सुरक्षा व्यवस्थापन समिति, स्वयम् सेवक समिति, बजार व्यवस्थापन समिति, प्रचार-प्रसार समिति, प्राथमिक स्वास्थ्य उपचार समिति, उद्घोषण समिति, साहित्य सम्मेलन समिति, स्काउट परिचालन समिति, सांस्कृतिक, मनोरञ्जन तथा पर्यटन प्रवर्द्धन समिति, भजन-कीर्तन समिति, झाँकी व्यवस्थापन समिति, सन्तमहन्त आवास व्यवस्थापन समिति, यज्ञ, अनुष्ठान, गुरु पण्डित व्यवस्थापन समिति, अतिथि स्वागत सम्मान समिति, इन्धन तथा दाउरा व्यवस्थापन समिति, आवास तथा पण्डाल व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति, स्नान स्थल निर्माण समिति र विद्युत व्यवस्थापन समिति, यातायात व्यवस्थापन समिति, खानेपानी व्यवस्थापन समिति गठन भइसकेको छ ।