वराहक्षेत्रस्थित चतराधाममा आगामी चैत्र २७ देखि ०८१ वैशाख २८ सम्म आयोजना हुने बाह्र वर्षे पूर्ण महाकुम्भ मेलाको अवसरमा रामानन्दाचार्य सेवा पीठले विविध कार्यक्रम घोषणा गरेको छ ।

शनिबार स्थानीय दल, सामाजिक, धार्मिक  सङ्घसंस्था, नगरवासीको उपस्थितिमा कुम्भ मेलाका अवसरमा पीठले आयोजना गर्ने कार्यक्रमबारे जानकारीसहित सुझाव माग गरेको छ ।

कार्यक्रमबारे जानकारी गराउँदै पीठका उपाध्यक्ष तथा प्रवक्ता गोविन्दबाबु तिवारीले कुम्भका अवसरमा पीठले विशेष कार्यक्रमको आयोजना गरेको बताए । मन्त्रभित्रका चार शक्तिमध्ये अन्तर्ग्राही शक्तिको प्रभावले पीठलाई विशिष्ट क्षेत्रकारुपमा सबै सम्प्रदायका धर्मगुरुहरुले ऐक्यबद्धता जनाएको बताए ।
पीठद्वारा सार्वजनिक कार्यक्रमअनुसार चैत्र २७ गते कलश यात्रा गरिनेछ । त्यस्तै सोही दिनदेखि ०८१ वैशाख ४ गतेसम्म श्रीराम कथा वाचन हुनेछ । कथा चन्द्रकलासखीबाट प्रस्तुत हुनेछ ।

वैशाख १ गतेदेखि ११ गतेसम्म सङ्कटमोचन श्रीहनुमद महायज्ञ आयोजना हुनेछ । वैशाख ५ गते बागेश्वरधामका पीठाधीश धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार) को आगमन हुनेछ । सोही दिन श्रीरामनवमी महोत्सवका अवसरमा ऐतिहासिक श्रीराम मन्दिरको शिलान्यास गरिने छ ।

वैशाख ५ गतेदेखि ९ गतेसम्म बागेश्वरधाम सरकारबाट श्रीहनुमद कथा प्रस्तुत हुनेछ ।

वैशाख ७ गते दिव्य सन्त दर्शन तथा सम्मेलन आयोजना हुनेछ । वैशाख ९ गते श्रीहनुमद कथाको पूर्णता हुनेछ भने वैशाख ११ गते सङ्कटमोचन श्रीहनुमद महायज्ञको पूर्णाहुति, हनुमान जयन्ती महोत्सव आयोजना हुनेछ ।

वैशाख १२ गते फूलपाती विसर्जन हुनेछ भने वैशाख १३ गतेदेखि २७ गतेसम्म सद्गुरुदेवको निर्देशनमा महायोग, ध्यान साधना, वराहक्षेत्रधामको ऐतिहासिक विवेचन हुने पीठका प्रवक्ता तिवारीले जानकारी दिए ।

आयोजित सर्वपक्षीय छलफलमा औलिया बाबाधामका सेवक कारोबारी महन्त विनायक पुरी, रामशान्ति कुन्ज महिला आश्रमकी संरक्षक मिथिला पाण्डे, गीता आश्रमका प्रतिनिधि, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका प्रतिनिधिलगायत स्थानीय धार्मिक सम्प्रदाय र सर्वसाधारणको उपस्थिति रहेको थियो । जगदगुरु महायोगी सिद्ध बाबाको उपस्थिति र पीठका अध्यक्ष श्यामकुमार लावतीको सभाध्यक्षतामा महासचिव विनोद गुरागाईले कार्यक्रम सन्चालन गरेका थिए ।