धार्मिक पर्यटकीय क्षेत्र वराहक्षेत्र धाम मकर स्नानका लागि हिन्दू धर्म शास्त्रअनुसार पवित्र मानिन्छ । विगतका वर्षहरु भन्दा यस पटक व्यवस्थापन सुधार गर्दै लगिएको वराहक्षेत्र संरक्षण मञ्चले जनाएको छ ।

मेलामा स्नान क्षेत्र, खानेपानी र बिजुली बत्तीको उचित व्यवस्थापन गरिएको मञ्चका अध्यक्ष भक्त श्रेष्ठले जानकारी दिए ।  'मेलामा आउने आगन्तुकको सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाएका छौं, चिसो मौसमलाई मध्यनजर गरी सप्तकोसी नदी किनारका विभिन्न स्थानमा धुनीको व्यवस्थापन गरेका छौं', अध्यक्ष श्रेष्ठले भने, 'बाह्रराशी, नवग्रह, सत्ताइस नक्षेत्रको स्थापना गर्नुका साथै लक्ष्य हवनसमेतको प्रबन्ध गरिएको छ ।'

वराह भगवानको मन्दिर क्षेत्रमा विभिन्न पुरायणको प्रारायण, ग्रह पूजा तथा ग्रह शान्ति, भजनकीर्तन, प्रवचनको व्यवस्थापन गरिएको वराह भगवानका सेवक पण्डित योगेश भण्डारी 'वराहक्षेत्र' ले जानकारी दिए । 

आज रातिभर भक्तजन वराह भगवानको भजन कीर्तन गरी जाग्राम बस्ने प्रचलन छ । धर्मशास्त्रअनुसार सौरमासका हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

Barahakshetra Makar Mela Magh

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।

वराहक्षेत्रमा नेपालसहित भारतलगायत तेस्रो मुलुकबाट भक्तजन स्नानका लागि आउने गर्दछन् । विगतका वर्षमा भन्दा यस वर्ष भक्तजनको सङ्ख्या बढी हुने अपेक्षा गरिएको छ ।