गैरी गाउँको ढोडे ना उखु, भाँचौँ ना भाँचौँ लाग्छ ।
ढोल झ्याम्टाको सुरैमा सुन्दा, नाचौं ना नाचौं लाग्छ ।।
.........
भाले बास्यो पर्वतैमा, पोथी ना बास्यो गाउँमा ।
यति जना भेला ना भयौँ, साकेन्वाको नाउँमा ।।

.................
पूर्वका गाउँ सहरमा यतिबेला किरात समुदायको महान् चाड उँधौलीको रौनक छाएको छ । किरातमध्येको राई समुदायले मङ्गलबार यस्तै गीत गाएर साकेला सिली नाच्दै यसपटकको उँधौली मनाए ।

दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, शिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर गीतमा लय मिलाउँदै नाच्न व्यस्त थिए । छातीमा थेचुरी धजुरी, वाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको छिटो तालमा विभिन्न चरा–चुरुङ्गी र जीव–जनावरको हाउभाउ गर्दै नाचे ।

आधुनिक सहरका रूपमा परिचित धरानमा अरू बेला आधुनिक गीत, हिपहप, रकजस्ता पाश्चात्य सङ्गीतमा रमाउने युवापुस्ता अहिले उँधौली, उँभौलीजस्ता सांस्कृतिक चाडपर्वमा पनि उत्तिकै रमाउँछन् । टोल–टोलमा भइरहेका साकेला सिलीमा युवापुस्ताकै बाक्लो उपस्थिति रहेको थियो । साकेला सांस्कृतिकरूपमा राई जातिले अन्नबाली रोप्ने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ । हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न जनावरको अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ । हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि राईका जाति र ठाउँपिच्छे फरक–फरक हुने गरेको छ । करिब एक महिनाअघि नै धनकुटाको खाल्सा क्षेत्रका राईहरूले वाढाङ्मी र दक्षिणी भोजपुरका राईहरूले उँधौली मनाइसकेका छन् ।

अन्य क्षेत्रका राईहरूले मङ्गलबार भव्यरूपमा साकेला नाचेर उँधौली मनाए । परम्परागतरूपमा बालीनाली सप्रियोस् भन्ने कामना गर्दै भूमिपूजा गरिने साकेला अहिले टोल–टोलमा र चोक–चोकमा नाच्ने प्रचलन बढेको छ । पूर्वका धरान, इटहरी, तरहरा, बेलबारी, विराटचोक, दमक, उर्लावारी, पथरी, बिर्तामोड, काँकडभिट्टालगायतका सहरी क्षेत्रमा उत्सवका रूपमा मनाउने प्रचलन बढिरहेको छ ।

राई समुदायको बाहुल्यता रहेका पूर्वी पहाडी भेगका खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायत जिल्लामा पनि साकेला सिली नाच्नेहरू उत्तिकै हुन्छन् । काठमाडौँमा पनि पूर्वेली राई समुदायको बसोबास भएका क्षेत्रमा साकेला नाचिन्छ । काठमाडौँका टँुडिखेल, हात्ती वनलगायत स्थानमा साकेला नाचिन्छ । चार किरात (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायमा वैशाख पूर्णिमालाई बाली लगाउने समयका रूपमा उँभौली र मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने समयका रूपमा उँधौली पर्व भव्यताका साथ मनाउने प्रचलन छ । सोही प्रचलनअनुरूप मङ्गलबार राईहरूले साकेला र साकेन्वा मनाएका छन् भने लिम्बू समुदायले चासोक तङ्नाम, याक्खाले चासुवा र सुनुवारले फलेस्याँदर चाड मनाएका छन् ।

उँधौलीलाई लिम्बू, सुनुवार र याक्खा समुदायले भव्य उत्सवका रूपमा मनाउँछन् भने राई समुदायले उँभौली अर्थात् वैशाख पूर्णिमादेखि १५ दिन टोल–टोलमा झोल झ्याम्टा बजाउँदै साकेला मनाउँछन् । मङ्सिर पूर्णिमा अर्थात् उँधौलीमा भने राई समुदायले एक दिन साकेला थानमा सिली नाचेर मनाउने गरेका छन् । किरात जातिहरूको मागलाई सम्बोधन गर्दै सरकारले २०५८ सालमा उँधौली अर्थात् मङ्सिर पूर्णिमालाई किरात चाड घोषणा गरेको थियो भने २०६४ सालमा उँभौली अर्थात् वैशाख पूर्णिमा समेतलाई किरात चाड भनेर घोषणा गरिएको थियो । उँधौली र उँभौलीमा सरकारले राष्ट्रिय बिदासमेत दिने गरेको छ । सरकारले किरात चाड घोषणा गरेपछि उँभौली र उँधौलीलाई विशेष उत्सवका रूपमा मनाउने गरिएको छ ।