धरान । सहर । तर सहरभन्दा बढी गाउँ । स्थानीय तहको पुनर्संरचनापछि साविक विष्णुपादुका र पानवारी धरान नगरपालिकामा समायोजन भयो । र, धरान उपमहानगरपालिका बन्यो । 

धरान स्थानीय तहको पुनर्संरचनापछि दुई भागमा विभक्त छ । एउटा ‘सहर धरान’ र अर्को ‘ग्रामीण धरान’ । साविक विष्णुपादुका र साविक पाँचकन्या ग्रामीण धरान हुन् । जहाँ भौतिक निर्माणका अनेकौं चुनौती छन् । तीन तहका ‘सरकार’ ले यसलाई चुनौतीका रुपमा हेरेर विकास निर्माणका लागि पहल प्रयत्न गर्न आवश्यक छ । वडावडामा इन्जिनियर छन् । लागत स्टिमेट तयार गरी माथिल्ला तहका सरकारसम्म जाने ठाउँ छ । तर तीनै तहका सरकारले ‘ग्रामीण धरान’लाई उकास्ने चासो देखाएका छैनन् । मंगलबार धरान–२० का चिण्डे डाँडा, बाघखोप, कोलडाँडा र शुलीकोटवासीले यस्तैयस्तै गुनासा गरे । 

उपहानगरपालिका भएर पनि साविक विष्णुपादुकाले मुहार फेर्न नसकेकोमा स्थानीयले चरम असन्तुष्टि जनाए । ‘हामीलाई ठूलाठूला विकास चाहिएको होइन,’ स्थानीय पदम तामाङले गुनासो गर्दै भने, ‘हाम्रो प्राथमिकता सडक पूर्वाधार हो ।’

सुनसरी क्षेत्र नम्बर १ (ख) का प्रदेश सांसद विजय राई गाउँ पुग्दा स्थानीयले गुनासाका भारी बोकाइदिए । गाउँका समस्या धेरै भएपनि सडक–बाटो नहुँदा वडावासीले सबैभन्दा धेरै सास्ती पाएको दुखेसो गरे । 

‘वडाका समस्या धेरै भएपनि मूल समस्या बाटोको स्तरोन्नति हो, अहिले हामीलाई अरु धेरै विकास चाहिएको छैन बाटो पक्की भए हुन्छ,’ बाघखोप भ्रमणमा रहेका सांसद राईसहितका टोलीलाई स्थानीय जगत राईले भने, ‘अरुबेला दुःख–सुख धरान बजार झरिएकै छ तर, वर्षाका बेला हामीलाई यो बाटो काल जत्तिकै हुन्छ ।’

युवाहरु रोजगारीका लागि बजार झर्नुपर्ने हुन्छ । बालबालिका बजारकै विद्यालय पढ्छन् । सडकमा पानीको भल बगिरहेको हुन्छ – स्थानीयले गुनासो राखे ।

blastkhabar.com

स्थानीय युवाहरु विजय तामाङ, बुद्ध तामाङ, सुजन तामाङ, ऋषि राईलगायतले २० नम्बर वडालाई स्थानीय, प्रदेश र संघीय सरकारले उपेक्षा गरेको बताए । पर्यटकीय र धार्मिक रुपले पनि सम्भावना बोकेको विष्णुपादुकालाई वास्ता नगरिनु दुर्भाग्य भएको गुनासो गरे । ऐतिहासिक शुलीकोट, सिद्धपोखरी विष्णुपादुका लगायतका पुरातात्विक महत्वका स्थल यही वडामा रहे पनि वडाको विकासमा कसैले ध्यान नदिएको उनीहरुले बताए । 

स्थानीयको गुनासा सुनेका सांसद राईले आफूले काम सुरु गरेको ९ महिना मात्रै भएको सुनाए । यसबीचमा राजनीतिक आरोहअवरोहका कारण काम गर्न नसकेको बताए । ‘गाउँको विकास गर्नुपर्छ भनेर म दत्तचित्त भएर लागेको छु ।’ सांसद राईले भने । 

उनले आर्थिक वर्ष २०८०–०८१ को बजेटमा झोलुङ्गे पुलदेखि शुलीकोटसम्मको बाटो स्तरोन्नतिका लागि रकम विनियोजन भएको जानकारी गराए । सांसद राईले धेरै योजनामा वडा नम्बर २० लाई समेटेको बताए । 

‘धेरै योजनाहरु प्रदेश सरकारको रातो किताबमा परिसकेको छ, भविष्यमा पनि वडाको विकासका लागि निरन्तर क्रियाशील रहनेछु ।’ प्रतिबद्धता जनाउँदै सांसद राईले स्थानीयलाई आस्वस्त पारे । 

सांसद गाउँ पुग्दा उपलब्ध स्थानीयले जनप्रतिनिधिसँग अन्तर्क्रिया गरे । अन्तर्क्रियामा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा मजदुर नेता भीमज्वाला राईले सांसद, पार्टी र स्थानीयले पालना गर्ने साझा अवधारणा प्रस्तुत गरे । 

baghkhop field visit blastkhabar.com

अवधारणामा रातो किताबमा परेका योजनालाई समयमै सम्पन्न गर्न सबैले पहलकदमी गर्ने, प्रदेश सरकारका अन्य स्रोतहरुको खोजी गरी वडाको विकासमा लगाउने, स्थानीय जनता र वडाका समस्याको पहिचानका लागि समय–समयमा सांसदले वडाको भ्रमण गर्ने, वडाको विकासका लागि सर्वपक्षीय र सर्वदलीय प्रयत्नमा वडा समिति, उपमहानगरपालिका, प्रदेश र संघ सरकारसँग पहल गरिरहने र वडाका समस्याको समाधान र विकासका लागि प्रदेश सांसद सचिवालय, स्थानीय र पार्टीका नेतृत्वबीच निरन्तर सम्पर्क र समन्वय गर्ने समझदारी उल्लेख गरिएको छ । 

सांसद राईसहित मजदुर नेता ज्वाला, नेकपा एमालेकी प्रदेश सदस्य लहरुमाया जिमी, सञ्चारकर्मीहरु विकास चाम्लिङ, रामकृष्ण खड्का, २० नम्बर वडाका पूर्व अध्यक्ष मनीराम राईसहितको टोली बाघखोप पुगेका थिए । उनीहरुले ग्रामीण धरानको विकासमा लागि पर्न सबै पक्ष जागरुक हुनुपर्ने धारणा राखेका थिए ।

baghkhop field visit blastkhabar.com (1)