‘हामीले सहर बजारमा यस्तो घर देखिउँना, यसको फोटो खिच्न पाइन्छ ?’ भनेर गोराले सोध्दा किरात याक्थुङ चुम्लुङका सुनसरी अध्यक्ष मोहन हुक्पा चोङ्बाङ एकछिन त अक्क न बक्क भए । घरलाई देखाउँदै ‘हुन्छ, फोटो खिच्न पाउनुहुन्छ भनेर भन्दिएँ’ केही वर्षअघिको कुरा स्मरण गर्दै चोङ्बाङले भने ।

धरान–१५ स्थित चुम्लुङ हिम परिसरमा बनाइएको लिम्बू जातिको पहिचान झल्काउने परम्परागत हिम (लिम्बू भाषामा घर बुझाउने शब्द) को तस्बिर खिच्न बेलायतबाट आएका गोराले उनलाई यसरी सोधेका थिए । गोराले फोटो खिच्नुअघि सोधेको वाक्य झैं सहरमा यस्ता हिम सायदै छ । धरानको बीचमा उभिएको यो एक्लो परम्परागत हिमको आफ्नो छुट्टै महत्व छ । त्यसैले यहाँ लिम्बू संस्कृतिसँग जोडिएको दृश्यसामग्री निर्माण गर्दा होस् वा धाननाचहरू, केलाङ नाचहरू । त्यसबेला यहाँ आएर फोटो र भिडियो खिच्ने गरेको उनी स्मरण गर्छन् । यो परम्परागत घर, घरमा मात्रै सीमित छैन । यहाँ लिम्बू जातिले प्रयोग गर्ने परम्परागत सामग्री, तीन चुल्हादेखि लिएर राखनधरनसम्म छ । त्यो हेर्दा मानवीय सभ्यता ढुङ्गे युग, कृषि युग हुँदै आजको युगमा आइपुगेको प्रतीत हुन्छ । अग्रज पत्रकार हर्ष सुब्बा भन्छन्, ‘मानव सभ्यताको विकास सुरु हुँदा लिम्बूहरूको कल्चर कस्तो थियो भन्ने यो घरले जनाउँछ ।’

यहाँ धान कुट्ने ढिकी, जाँतो, चर्खा, रोटेपिङ, खोँगी, मोहोला, पेरुङ्गो, एक नाले बन्दुकदेखि लिएर लिम्बूको संस्कार र संस्कृतिमा चाहिने सबै चिजहरू छन् । एक नाले बन्दुकको अर्थ केलाउँदै चोङ्बाङले भने, ‘यो हाम्रो पाउँदार नै हो । बन्दुक एकचोटि मात्रै पड्कियो भने मरिमराउ भएछ भन्ने सङ्केत हुन्थ्यो, दुईचोटि पड्कियो भने चाहिँ बिहेवारी रहेछ भनेर जान्नुपथ्र्यो । मरिमराउ हुँदा बन्दुक पड्किएको सङ्केतबाटै मलामी जाने चलन थियो ।’

तर, नयाँ पुस्ताले यस्ता महत्वपूर्ण विषयवस्तुमा ध्यान दिइरहेको पाइँदैन । नयाँ पुस्ताका लागि यो घर सग्लो घर मात्रै होइन, यो मानव सभ्यताको प्रतीक पनि हो । तराईको गर्मी छल्नका लागि उँभौली अर्थात् लेकतिर लाग्दा गाईवस्तुसँगै मानिसहरू जान्थे । त्यसबेला अस्थायी रूपमा बस्नका लागि यस्ता हिम (घर) हरू बन्थे । जसलाई ‘याक्सा’ पनि भनिन्छ । अस्थायी रूपमा बन्ने यस्ता याक्सा मानवीय सभ्यतासँग जोडिएको पत्रकार सुब्बाको कथन छ ।

अहिले सहर बजारमा आधुनिक घरहरू निर्माण गर्ने होड छ । कङ्क्रिटका घरहरू निर्माण गर्ने होडका कारण पनि परम्परागत घरहरूको अस्तित्व सङ्कटमा पर्दै छ । अध्यक्ष चोङ्बाङका अनुसार पहाडतिर यस्ता घरहरू देखिन्छन् तर, धरानमा यो एक्लो घर हो । यो घर किरात याक्थुङ चुम्लुङ लिम्बू सांस्कृतिक परिषद् सुनसरीले २०६९ मा निर्माण गरेको हो । परिषद्का तत्कालीन कार्यवाहक अध्यक्ष कुमार हुक्पा चोङ्बाङ भन्छन्, ‘लिम्बूको घर त यस्तो हुँदो रै’छ नि, रिमेम्बर होस् भनेर पहिचानलाई जगाउने उद्देश्यले निर्माण गरेका थियौँ ।’ उनका अनुसार आउने पिँढीहरूलाई ज्ञान होस्, लिम्बूको सामग्री यस्तो हुँदो रहेछ, खोपी यस्तो हुँदो रहेछ, चलाउने सामान यस्तो हुँदो रहेछ भन्ने जानकारी दिन बनाइएको हो ।

लिम्बू पहिचान झल्किने घरको अवधारणा चाहिँ २०५७ सालको शतवार्षिकीका बेला आएको हो । तत्कालीन समयमा किराया*का नगरअध्यक्ष लालबहादुर लिम्बूले लिम्बू पहिचान झल्किने घर निर्माण गरी प्रदर्शन गरे । उक्त प्रदर्शन गरिएको घर पुरस्कृत पनि भयो । त्यसबेला पनि धरानमा लिम्बू पहिचान झल्किने याक्थुङ हिम थिएनन् । २०६८ को जनगणनाअनुसार धरानमा राईपछि लिम्बूको जनघनत्व बढी छ । २०७८ को तथ्याङ्कमा भने जातिगत रूपमा विवरण आइनसकेको बेला त्यसबेला लिम्बू जातिको जनसङ्ख्या १६ हजार ६१ रहेको थियो । यो अझै बढ्ने सम्भावना छ । सहरमा यस्ता घरहरू निर्माण हुनसके संस्कृतिको मात्रै प्रवर्धन हुँदैन, त्यसले मानवीय सभ्यतालाई पनि जीवन्त राख्ने संस्कृतिविद्को भनाइ छ ।

संस्कृतिविद् सोम खतिवडा भन्छन्, ‘घर सानो होस् वा ठूलो यस्ता घरले परम्परागत सांस्कृतिक महŒव बोकेको हुन्छ ।’ पूर्वीय मान्यताअनुसार आध्यात्मिक, सांस्कृतिक र भौतिक सुविधाका हिसाबले घर निर्माण गरिने गरिएको उनी बताउँछन् । तर, नेपालमा भने दुई किसिमबाट घर निर्माण हुँदै आएको छ । ‘एउटा वास्तुमा आधारित भएर घर निर्माण गरिन्छ । अर्को तन्त्रमा आधारित भएर घर निर्माण गरिन्छ’ उनले भने, ‘आदिवासी जनजाति समुदायले तन्त्रमा आधारित रहेर परम्परागत घरहरू निर्माण गर्ने गर्दछन् । जुन बूढाबूढीको अनुभव र ज्ञानमा आधारित हुन्छ ।’

*यसअघि किराया भएकाले  सच्चाइएको छ । सं.