विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलका सञ्चालकहरूले सर्वसाधारणको करोडौँ रकम लिई गत असोज यता बेपत्ता भएका छन् । 

रकम लिई बेपत्ता भएपछि सबैभन्दा पीडित सोही ठाउँका ८३ वर्षीय चक्रबहादुर गुरुङ बनेका छन् । सुनचाँदी पसलको बोर्ड हटाई भागेपछि गुरुङ दैनिकजसो पसलको अगाडि गई साँझ अबेरसम्म ढोकामा कुर्थे । कुर्दाकुर्दै उनको केही समयअघि मृत्यु भएको छ । उनले वृद्धभत्ता तथा जग्गा बेचेर ९ लाख रुपैयाँ सोही पसलमा राखेको आफन्तजन बताउँछन् । “हामीले पैसा डुब्यो भनेको चार दिनमा बित्नुभयो उहाँ” बजारमै होटल गर्दै आएकी भक्तिमाया गुरुङले भनिन्, “उहाँले वृद्धभत्ता र जग्गा बेचेर आएको नौ लाख रुपैयाँ राख्नुभएको रहेछ ।” सञ्चालक मनोज अधिकारी र उनका बुबा होमनाथ अधिकारीले करिब दुई सय ५० जनाबाट १२ करोड रुपैयाँभन्दा बढी रकम लिई फरार भएका छन् । सो क्षेत्रका वृद्ध, घरेलु महिला, मजदुर, किसान र वैदेशिक रोजगारीबाट फर्किएकाहरूले बचत गरेका थिए ।

पीडित उमेश विष्टका अनुसार सुरुमा सुनचाँदी पसलकै पासबुक छापेर दिने गरेको भए पनि पछि उक्त पासबुक फिर्ता मागेर सामान्य डायरीमा लेखेर दिन थालेका थिए । पीडित विष्ट भन्छन्, “हामीले सुरुमा त बुझेनौँ पछि थाहा भयो, यस्तो गरेपछि कानूनी हिसाबमा हामीसँग केही प्रमाण हुँदैन रहेछ ।” 

पीडितहरूका अनुसार मनोज र उनकी श्रीमती स्मिता अधिकारीले वृद्धभत्ता पाउने, अशिक्षित महिला र घरमै बस्नेहरूलाई विशेष रूपमा लक्षित गरेका थिए । “बचत गर्दा उच्च ब्याज पाउनुहुन्छ; पैसा तुरुन्त निकाल्न सकिन्छ; हामी सुनचाँदी सङ्घसँग दर्ता छौँ भनेर विश्वास दिलाइन्थ्यो । उनीहरूले सुरुमा नाफा पनि बाँडेर ‘विश्वास निर्माण’ गरे”–पीडितहरूले भने । 

कानेपोखरी–७ आइतबारेकी विष्णुमाया गिरी भन्छिन्, “खसीबाख्रा पालेर, बालबचत गरेको ३० लाख डुब्यो । खाता हेर्दा आँखा रसाउँछ ।” यो पसल २० वर्ष खोलिएको थियो । विश्वासिलो भएकै कारण धेरैले बचत गरेको पीडित बचतकर्ता बताउँछन् । बैङ्कभन्दा बढी ब्याज दिने, तुरुन्तै पैसा झिक्न सकिने र घरदैलोमै आएर बचत सङ्कलन गर्ने शैलीका कारण बचतकर्ता लोभिएका थिए । “पहिले सुनचाँदी अधिकारी भनेर पासबुक दियो; पछि तपाईंहरूको हिसाबकिताब मिलाइदिन्छु भनेर सबैको पासबुक जम्मा ग¥यो र सामान्य डायरीमा लेखेर दिन थाल्यो” पीडित उमेश विष्ट भन्छन्, “मुद्दा नलागोस् भनेर यस्तो खेल खेलेको रहेछ, हामीले के जान्नु र !” उनीहरूको ठगीमा फस्नेहरू स्थानीय व्यापारी साथै गाउँका गन्यमान्य पनि छन् । 

“यो पैसा चोरेर वा डाँका गरेर ल्याएको होइन, दुःख गरेर कमाएको हो” गहभरि आँसु पार्दै विष्णुमायाले भनिन्, “खाता हे¥यो भने रुन मन लाग्छ । १० रुपैयाँ, २० रुपैयाँ गरेर जम्मा गरेको पैसा हो । छोराछोरीको भविष्यका लागि भनेर बालबचत गरेको थिएँ । खसी–बाख्रा पालेर, बेचेर जोडेको पैसा थियो ।” उनले भनिन्, “मैले २६ लाख रुपैयाँ १५ महिनाका लागि फिक्स डिपोजिट गरेकी थिएँ भने बाँकी रकम चल्ती खातामा राखेकी थिएँ ।” अर्का पीडित पर्शुराम फुयाँलका अनुसार आफ्नो नौ लाख २० हजार रुपैयाँ डुब्यो । स्थानीय ऋषिकेश लम्सालले आफ्नो रकम पनि डुबेको बताए । “यहाँका दुई÷अढाई सय मान्छेको एक हजारदेखि ७० लाखसम्म सुन पसलले खाएको छ । अहिले अनुमानित १२ करोड भनिएको छ । एकिन विवरण छैन”–पीडित लम्साल भन्छन् । गत दशैँको समयमा मनोज अधिकारी एकाएक बेपत्ता भएका थिए । उनका आमाबुबा अमेरिकामा थिए । केही समयपछि मनोजकी आमा बाटुलादेवी अधिकारी नेपाल फर्किइन् । पीडितहरूले उनलाई घेरा हाले र वडा कार्यालयको रोहवरमा एउटा कागज गराए । जसमा उनले आफ्नो सम्पत्तिबाट ऋण तिर्ने वाचा गरेकी थिइन् । मनोजका परिवारले अहिले पनि विभिन्न बहाना बनाएर रकम नदिएको पीडितहरू बताउँछन् । मनोजकी आमाले “मैले खाएको होइन, म जान्दिनँ” भन्न थालिन् भने बुहारी स्मिता अधिकारीले पनि आफूलाई केही थाहा नभएको बताउन थालेको पीडितहरू बताउँछन् । वडा कार्यालय, नगरपालिकाको न्यायिक समितिदेखि प्रहरी प्रशासनसम्म धाउँदा पनि पीडितहरूले कुनै ठोस न्याय पाउन सकेका छैनन् । उनीहरूलाई एक निकायले अर्कोमा र अर्कोले अर्कोमा पठाएर झुलाउने काम मात्र भइरहेको पीडितहरूले बताएका छन् । 

गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालयदेखि अदालतसम्म पुगेको बताए । “हामीले स्पष्टसँग ठगी मुद्दा हेर्ने कार्यक्षेत्र पालिकाको न्यायिक समितिको होइन, प्रहरीकहाँ जानू भनेर स्पष्ट भनेका छौँ” अधिकारीले भने, “बरु उहाँहरू नै गर्ने कि नगर्ने भन्ने दोधारमा भएको कारण समस्या आएको हो । उहाँहरूसँग म आफू पनि प्रहरीकहाँ गएको छु । पालिकाले यति ठूलो केसमा केही गर्दैन । हामीले पीडितको न्यायका लागि सल्लाह र सुझाव मात्र दिने हो । त्यो हामीले दिएका छौँ ।”