भद्रपुर । झापाको ज्यामिरगढीको झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भए पनि ठेकेदारलाई भुक्तानी गर्न नगरपालिकालाई सकस भएको पाइएको छ ।

मेचीनगर–१५ स्थित ज्यामिरगढी क्षेत्रको झोलुङ्गे पुल २०७९ असारमा निर्माण कार्य सुरु भएको थियो । निर्माण कार्य स्थगित हुँदै सुरु गरिएको पुल अहिले तयारी अवस्थामा छ । पुलको प्राविधिकबाहेक सबै काम सकिएको छ । 

झोलुङ्गे पुलका लागि नगरपालिका र सांसद्हरूले संयुक्त प्रयास गरेसँगै योजनामा समावेश भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा समावेश भएको योजना ०७९ माघमा ठेक्का आह्वान गरिएको थियो । निवर्तमान नगर प्रमुख विमल आचार्यको कार्यकालमा बजेटको स्रोत सुनिश्चित नगरी ठेक्का आह्वान गरिएको थियो ।

२०७९ चैतमा दोस्रो कार्यकालका लागि स्थानीय तहको चुनाव भयो । चुनावमा निर्वाचित भएपछि नगरप्रमुखको पदभार गोपालचन्द्र बुढाथोकीले २०७९ जेठ १२ गते सम्हालेका थिए । नगर प्रमुख बुढाथोकी आएपछि झोलुङ्गे पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी निर्माण सेवा प्रा.लि. काठमाडौँबीच २०७९ असार ३० गते सम्झौता भएको थियो । २०८१ पुस २७ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने थियो । तर, बजेट अभाव भएपछि फेरि म्याद थप गरेर २०८२ पुस २७ गतेसम्मलाई ठेक्का सम्झौता थप गरिएको थियो । क्रमागत रूपमा सङ्घीय सरकारले बजेट पठाउला भन्ने आशाले तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का लगाइएको नगरपालिकाका इन्जिनियर जीवन भट्टराईले बताए । मेचीनगर नगरपालिकाले ठेक्का लगाएको पुल सङ्घीय सरकारबाट बजेट नआएपछि अधुरो रहेको थियो ।

नगरपालिकाले सुरुमा भुक्तानी गरेको बजेटबाहेक निर्माण व्यवसायी (ठेकेदार) ले नै आफैले पैसा हालेर अहिले पुल पूरा गरेका छन् । थानी निर्माण सेवा प्रा.लि.का प्राविधिक इन्जिनियर शेखर रायमाझीले चार करोड ३८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बताए । ठेकेदारलाई सुरुमा नगरपालिकाबाट ७४ लाख रुपैयाँ भुक्तानी भएको थियो । नगरपालिकाले अहिलेसम्म सशर्त अनुदान शीर्षक अन्तर्गत एक करोड १० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।

“पैसा आउँछ, आउँदैन थाहा छैन । तर, पुलको काम सकिएको छ”–रायमाझीले भने । नगरपालिकालाई भुक्तानीका लागि निवेदन दिएर ताकेता गरिरहेको  बताए । नगरपालिकाले ठेक्का लगाएकोले बाँकी रकम भुक्तानी गर्नुपर्ने दायित्व रहेको नगर प्रमुख बुढाथोकीले बताए  । ठेकेदारले भुक्तानीका लागि निवेदन पेश गरेको उनको भनाइ छ । यो आर्थिक वर्षमा सहरी विकास मन्त्रालयले विनियोजित गरेको भनिएको रकम उक्त मन्त्रालय मातहत स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय इटहरीले भुक्तानी गर्न नसक्ने भनेको उनले बताए ।

पुल निर्माणमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय इटहरीको प्राविधिक सहयोग मात्र रहेको छ । आधुनिक शैलीको उक्त पुलको लम्बाइ ३ सय ५० मिटर, मल्टिस्पाम एनटाइप, ब्याकस्टेड सन्सपेन्सन र एक दशमलव ५ मिटर चौडाइको रहेको छ ।

नगरपालिकामार्फत् ठेक्का लगाइएको उक्त पुलको शिलान्यास चुनावमा निर्वाचित हुने बित्तिकै प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा र कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले २०७९ मङ्सिर १० गते गरेका थिए । नेपाली काङ्ग्रेसका महामन्त्रीसमेत रहेका सांसद् शर्माले केही दिनअघि पनि झोलुङ्गे पुलमा श्रमदान गरेका थिए ।

नगरपालिकाले ठेक्का लगाएपछि बजेट सुनिश्चितताका लागि सङ्घीय सरकारलाई धेरै पटक घच्घच्याएको नगर प्रमुख बुढाथोकीले बताए । “सम्बन्धित मन्त्रालयमा पत्राचार गरियो । बजेट ल्याउन कोशिस पनि गरियो । बजेट नआएकै कारण पुल निर्माणमा ढिलाइ भयो । ठेकेदारले बाँकी पैसा हालेर काम सम्पन्न गरेको छ । भर्खरै पनि काठमाडौँ गएर सम्बन्धित मन्त्रालयका अधिकारीहरूसँग पुलका लागि बजेट माग गरेका छौँ”–उनले भने ।

एक वर्षअघि ज्यामिरगढीका स्थानीय युवाहरूले ठेकेदारले पुलको निर्माण कार्य अधुरो पारेर छाडेको भन्दै विरोध गरेका थिए । उनीहरूले ज्यामिरगढीमा सांसद् शर्मा र नगर प्रमुख बुढाथोकी हराएको सूचना ब्यानर र पम्प्लेट बनाएर विरोधस्वरूप व्यापक प्रचार–प्रसार गरेका थिए ।