धरान । कोशी प्रदेशको एकमात्र रेफरल सेन्टर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरका बिरामीले बेड नपाउँदा थप पीडित बन्नुपरेको कथा सुनाएका छन् । 

इलाम नगरपालिका–१२ की ५७ वर्षीया मानाहाङ साउदेन क्यान्सर रोगसँग जुध्दै छिन् । उनलाई बीपी प्रतिष्ठानका डाक्टरले बेड भर्ना हुन भनी वार्डमा पठाए । तर उनले बेड पाइनन् । घण्टौंसम्म कुर्नुपरेको सुनाइन् । “डाक्टरले बेड भर्ना हुनु भन्नुभयो र वार्डमा पठाउनुभयो । यता आउँदा बेड छैन । कुरेर बस्यौँ”–उनले पीडा सुनाइन् । बीपीमा बेड नपाउने समस्या उनको मात्रै होइन, मोरङ लेटाङ नगरपालिका–९ की दीर्गमाया विश्वकर्मा पनि क्यान्सर रोगी हुन् । उनी पनि भर्नाका लागि बीपी आइपुगिन् । बेड भर्नाका लागि डाक्टरहरूले वार्ड पठाए । उनले पनि बेड पाइनन् । अन्ततः पीडा बोकेरै घर फर्कनु परेको दुःखेसो पोखिन् । 

“डाक्टरले भनेअनुसार बेड भर्ना हुन प्रयास गरियो । १२ बजेदेखि बेड कु¥यौँ । नपाएपछि घर फर्किनु प¥यो”–उनले भनिन् । बीपी प्रतिष्ठानमा बिरामीको चापका कारणले पनि बेड नपाउने समस्या रहेको प्रतिष्ठान प्रशासन जनाउँछ । क्यान्सर रोग विशेषज्ञ डाक्टर सोनिया दुलालका अनुसार क्यान्सर बिरामीका लागि जम्मा ८ वटा बेड छुट्याइएका छन् । मेडिसिनको ३ नम्बर वार्डमा जम्मा १८ वटा बेड छन् । जसमध्ये ८ वटा मात्रै क्यान्सर रोगीको लागि रहेको उनको भनाइ छ । 

किमोथेरापी गरिरहेकी धनकुटाकी धनमाया राई पनि बेड अभावमा भर्ना हुन नसकेको सुनाइन् । उनले भनिन्, “किमो चढाउन आउँदा ब्लडको कमी छ । भर्ना हुनुस् भनेर डाक्टरले भन्नुभयो । भर्ना हुँदा जाँदा बेड थिएन । डाक्टरले फर्काइदिनुभयो ।” ब्लड क्यान्सर पीडित सुनसरी रामधुनी नगरपालिकास्थित झुम्काकी रीमा चौधरीले पनि बेडको पर्खाइमा दिनभरि बस्नुपरेको पीडा सुनाइन् । “क्यान्सरजस्तो रोगमा पनि बिरामीका लागि बेड हुँदैन । धेरै पल्ट फर्किनु परेको छ”–उनले भनिन् । 

क्यान्सर रोग विशेषज्ञ डा. दुलालका अनुसार क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएकाले पनि बेड पाउन मुस्किल हुँदै गएको छ । “दिनमै ६५ देखि ७० जना क्यान्सरका बिरामीहरू आउनुहुन्छ” उनले भनिन्, “त्यसमध्ये चारदेखि पाँचजनालाई बेड भर्ना गरेर राख्नुपर्ने हुन्छ । यसले गर्दा पनि बेड पाउन मुस्किल भएको हो ।”

डा. दुलालका अनुसार किमोथेरापी गर्नेहरूलाई डे केयरमा भर्ना गरी औषधि लगाएपछि डिस्चार्ज गर्ने गरेका छौँ । त्यसो हुँदा पनि बेडको अभाव उस्तै रहेको बताइन् । गत वर्षको माघ १० गते अङ्कोलोजी विभागको नयाँ भवन उद्घाटन गरिएको थियो । तर हालसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । प्रतिष्ठानमा दैनिक ओपिडीमा मात्रै ३ हजारभन्दा माथि बिरामी चेकजाँचका लागि आउने गरेका छन् ।