मोरङ । मापदण्डविपरीत माछामासु व्यवसाय सञ्चालन गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले माछामासु पसलको अनुगमन गरेको छ ।
महानगरको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछामासु पसलको अनुमन गरिएको थियो । विराटनगर–९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू जावेद मासु पसलबाट ५–५ किलो खसीको चिन्ह नभएको (बाख्री)को मासु बरामद गरी नष्ट गरिएको शाखा संयोजक यादवले जानकारी दिए ।
त्यस्तै विराटनगर–९ स्थित मल्लिक मिट सेन्टर, न्यू गाउँले फ्रेस हाउस, विराटनगर–११ का करिया मिट सेन्टर, कञ्चन फ्रेस हाउसलाई मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको थियो ।
उनीहरूलाई अन्तिम पटकका लागि सचेत गराइएको यादवले जानकारी दिए । अनुगमनमा नगर प्रहरी प्रमुख राजन पौडेलसहित कृषि तथा पशुपंक्षी शाखाका कर्मचारी र नगर प्रहरीको सहभागिता रहेको थियो ।