धरान । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दुईवटा मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धरान उपमहानगरपालिका–२० स्थित शिरिषेबास हिले खोलामा बिहीबार साँझ चेकजाँच गर्दा धनकुटाबाट धरानतर्फ आउँदै गरेका दुई मोटरसाइकल सवारको साथबाट २४ केजी २ सय २० ग्राम गाँजा बरामद गरिएको हो ।

पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका–८ जलारा निवासी ३२ वर्षीय वीरेन राई र वडा नं. ८ कै  खुडी निवासी ३८ वर्षीय मोहन राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

वीरेन राईले को. ३८ प २६९६ नम्बरको र मोहन राईले प्र.१–०२–०५२ प ९६५७ नम्बरको मोटरसाइकल गाँजा ओसार्न प्रयोग गरेको पाइएको छ । 

यस्तै सोही राति सुनसरीको दुहबी नगरपालिका–१२ केलाबारी चोक, ट्याङ्ग्रा खोला नजिकबाट बेवारिसे अवस्थामा २० केजी गाँजा बरामद गरेको छ । चेकजाँच गर्दा अज्ञात व्यक्तिहरूले प्रहरी टोली देख्नेबित्तिकै प्र. १–०२–०४९ प ३८९१ नम्बरको मोटरसाइकल र गाँजासहितको बोरा छाडी फरार भएका थिए ।

बोरा खोली हेर्दा १० वटा पोका रहेको र ती सबैमा कुल २० केजी गाँजा रहेको पुष्टि भएको  इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।