पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा स्थानीय समाजसेवी टेकनाथ खनालले परिवारको स्मृतिमा प्रहरी बिट निर्माण गरे । बजारको बीचमा निर्माण भएको प्रहरी बिटबाट प्रहरीलाई काम गर्न समेत सहज भएको थियो ।

कुम्मायक–३ रानीगाउँ निवासी समाजसेवी खनालले परिवारको स्मृतिमा २ लाख ५० हजार रुपैयाँ खर्च गरी निर्माण गरेको प्रहरी बिट भत्काइयो । 

यासोक–अन्थाक सडक कालोपत्रेका क्रममा भत्काइएको प्रहरी बिट सडक कालोपत्रे भएको लामो समय हुँदा समेत निर्माण भएको छैन । प्रहरी बिट भत्काएको लामा च्याङ्मिला जेभिले पुनः निर्माण नगर्दा दुःख लागेको खनालको गुनासो छ । प्रहरी बिटमा प्रयोग भएको काठ र जस्तापाता कुम्मायक आधारभूत अस्पतालको सडक क्षेत्रमा अलपत्र अवस्थामा छाडिएको छ ।

प्रहरी बिट बनाउन पटक–पटक आग्रह गर्दासमेत निर्माण व्यवसायीले चासो नदिएको पीडित परिवारको भनाइ छ ।  हिउँद र बर्खाको समयमा प्रहरीलाई घाम पानी छल्ने र बजारको शान्ति सुरक्षा कायम गर्न सहज होस् भन्ने उद्देश्यले प्रहरी बिट निर्माण गरिएको खनालको भनाइ छ । प्रहरी बिट निर्माण गर्ने प्रतिबद्धता जनाएको निर्माण कम्पनीले भने हालसम्म कुनै चासो दिएको छैन ।