सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–११ आमचोकमा ८० वर्षीय फनिलाल यादवको आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।
मङ्गलबार राति यादवमाथि अज्ञात समूहले टाउकोमा धारिलो हतियारले आक्रमण गरेको मृतकका छोरा कपिलदेव यादवले जानकारी दिए । घरमा सुतिरहेकै बेला बुबामाथि आक्रमण भएको तर आफूहरूले बिहान अबेर मात्र थाहा पाएको छोरा कपिलदेवले बताए । उनलाई गम्भीर घाइते अवस्थामा फेला पारी लहानस्थित प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
यसैबीच प्रहरी घटनास्थलमा ढिलो पुगेको भन्दै आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढी बजार क्षेत्रमा टायर बालेर करिब एक घण्टा सडक अवरुद्ध गरेका थिए ।
डिएसपी पासवानका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवाद वा पुरानो झगडाको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हालसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।