धरान । ट्रान्सफर्मर चोरीको घटनामा प्रहरीले धमाधम मानिसहरूलाई पक्राउ गर्न थालेको छ । 

सुनसरी, मोरङ र झापाबाट २२ वटा ट्रान्सफर्मर चोरी भएका थिए । जसमध्ये सबैभन्दा बढी सुनसरीबाट १२ वटा ट्रान्सफर्मर चोरी भएको प्रहरीले जनाएको छ । उक्त घटनामा प्रहरीले पछिल्लो दुई दिनमा दुईजनालाई पक्राउ गर्न सफल भएको छ । यसअघि प्रहरीले विभिन्न स्थानबाट पाँचजनालाई पक्राउ गरेको थियो । यसअघि पक्राउ परेकाहरूको प्रहरीले नाम सार्वजनिक गरेको थिएन । बिहीबार सुनसरीको दुहबी नगरपालिका–८ कदमगाछीबाट सोही नगरपालिका–२ बस्ने ३९ वर्षीय प्रयागकुमार खाँलाई पक्राउ गरेको छ । उनी म्याजिक चलाउँदै आएका थिए । उनले को.१ च ७७२९ नम्बरको म्याजिक चलाइरहेका बेला प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको थियो । 

इलाका प्रहरी कार्यालय दुहबीबाट सादा पोसाकमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङतर्फ पठाएको छ । यस्तै मङ्गलबार सुनसरीको दुहबी नगरपालिका–२ स्थित बाबा विश्वकर्मा स्क्राप एन्ड सप्लायर्स कवाडी गोदामबाट सञ्चालकका छोरालाई पक्राउ गरेको थियो । उक्त कवाडी गोदामका सञ्चालकका ३१ वर्षीय छोरा कपिल भट्टलाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा ट्रान्सफर्मर चोरीको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले उनलाई गोदामबाटै पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ लगेको थियो । मोरङ प्रहरीले यसअघि सुनसरीका चार र मोरङका एक गरी पाँचजनालाई नियन्त्रणमा लिएको थियो । 

११ हजार भोल्टमा विद्युत् प्रवाह भइरहेका बेला ट्रान्सफर्मर चोरी हुँदै आएको थियो । उक्त चोरी घटनालाई नेपाल विद्युत् प्राधिकरणले गम्भीर रूपमा हेरेको थियो । प्राधिकरणले यस्ता घटनामा प्राविधिकहरूकै संलग्नता भएको हुन सक्ने अनुमान गर्दै आएको छ । यसबारे भने प्रहरीले हालसम्म केही बताएको छैन । प्रहरीका अनुसार सुनसरीबाट १२, मोरङबाट ८ र झापाबाट दुई गरी कुल २२ वटा ट्रान्सफर्मर चोरी भएका छन् । सबैभन्दा पछिल्लो समय साउन ९ गते देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाही राजाजीथानबाट ट्रान्सफर्मर चोरी भएको थियो । यस्तै साउन ६ गते सुनसरीको वराहक्षेत्र नगरपालिका–४ जमटोकीबाट पनि चोरी भएको थियो । जेठ महिनामा मात्रै सुनसरीका फरक फरक तीन स्थानबाट ट्रान्सफर्मर चोरी भएका थिए । यस्तै असारमा २ वटा चोरी भएको थियो । चोरीको सुरुवात गत चैत २४ गतेबाट सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विशेषगरी बस्ती नभएको क्षेत्र र सिँचाइका लागि जडान गरिएका ट्रान्सफर्मर चोरी गरिएका थिए । नेपाल विद्युत् प्राधिकरणका कोशी प्रदेश प्रमुख राजीव सिंहले ट्रान्सफर्मर चोरीको घटनामा संलग्नलाई कारबाही गर्न निवेदन दिएको बताएका थिए । ११ हजार भोल्टमा विद्युत् प्रवाह भइरहेको बेलामा काटेर चोरी हुने विषय प्राधिकरणको लागि टाउको दुखाइको विषय बनेको छ । प्राधिकरणले प्रत्यक्ष रूपमा २ करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । यस घटनामा अनुसन्धान तथा कारबाही गर्न कोशी प्रदेश प्रहरीले विशेष अनुसन्धान टोली (पिट) र मोरङ प्रहरीलाई संयुक्त रूपमा सञ्चालन गरेको छ ।