भद्रपुर । झापाको मेचीनगरमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा २१ जना विद्यार्थी घाइते भएका छन् । 

मेचीनगर–९ खुट्टीडाँगीमा रहेको पारिजात पब्लिक स्कुलको मे.१ ज ३१०७ नं. को भ्यान शुक्रबार बिहान १० बजे अनियन्त्रित भई दुर्घटना हुँदा २१ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विद्यार्थी बोकेको उक्त भ्यान स्थानीय टिमाई खोल्सीमा खसेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । घाइते विद्यार्थीलाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल धुलाबारीस्थित आम्दा मेची अस्पताल पठाइएको थियो ।

जसमा एक शिक्षिकासहित ७ जना घाइते विद्यार्थीलाई थप उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । अन्य विद्यार्थीको भने आम्दामै उपचार भइरहेको छ ।

घाइते हुनेहरूमा भ्यान चालक मेचीनगर न.पा.–९ का गणेश श्रेष्ठ, सोही स्थानकी ६ वर्षकी सबिस्का राई, ४ वर्षीया समिरा बिसुङ्खे र शिक्षिका प्रिती सिवाको टाउकोमा गम्भीर चोट लागेपछि बिर्तामोडस्थित  बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते अन्यको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।