धरान । प्रदेश १ को आदिवासी जाति समुदायका भाषा, संस्कृतिको स्थिति र अवस्थाको समीक्षा गर्न धरानमा प्रादेशिक भाषा, संस्कृति सङ्गोष्ठी गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र दाङ र प्रा.डा. टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र धरानको आयोजनामा गोष्ठी भएको हो ।

गोष्ठीमा भाषा तथा संस्कृतिका विषयमा ८ जनाले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश १ का खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले उद्घाटन गरेको गोष्ठीको पहिलो सत्रमा प्रदेश १ को जाति, भाषा र संस्कृतिको विषयमा प्रा.डा. माधवप्रसाद पोखरेल, देवान जाति संस्कृति र भाषाका विषयमा प्रा.डा. टङ्कप्रसाद न्यौपाने, भाषिक प्रकार्यका दृष्टिले प्रदेश १ का भाषाहरू विषयमा डा. दीपक न्यौपाने र नेपाली चलचित्रमा प्रस्तुत गरिने महिला पात्रहरूको भूमिका विषयमा डा. अस्मिता विष्टले कार्यपत्र प्रस्तुत गरेका थिए ।

दोश्रो सत्रमा पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले नेपाली समाज, संस्कृति र संस्कृति वाङ्मय, डा. सोमबहादुर धिमालले धिमाल जातिको कला, संस्कृति, डा. कैलाश राईले मेवाहाङ राई जातिको भाषाबारे र डा. मोहन तुम्बाहाङले लिम्बू भाषा र संस्कृतिको एक झल्को विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुतिको प्रथम सत्रका सभापति पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेश १ किरातै भएको अर्थमा नामकरणतर्फ सङ्केत गर्दै नेपालको इतिहासमा पल्लो किरात, माझ किरात र वल्लो किरात भनिएको अहिले पनि पढ्नु पर्ने बताए ।

यसअघि प्रा.डा.माधव पोखरेलले किरात जातिको संस्कृतिसँग कोसी नदीको प्रागऐतिहासिक सम्बन्ध रहेकाले प्रदेशको नाम कोसी राख्दा किरातको सम्बोधन हुने बताएका थिए । सङ्गोष्ठीमा कार्यपत्र प्रस्तोता तथा छलफलमा सहभागीहरूले संस्कृत, खस जातिको चर्चा, किरात, लिम्बू, राई, कोच, धिमाल, याक्खा, देवान, थारुलगायतबारेमा चर्चा गरेका थिए । छलफल भएका ८ वटा कार्यपत्र अधिकांश आदिवासी जातिका भाषा, संस्कृतिमा केन्द्रित रहेका थिए ।

डा. विष्टले नेपाली चलचित्रमा प्रस्तुत गरिने महिला पात्रहरूको भूमिका ‘तथाकथित महिला’ भएको बताउँदै त्यसले लैङ्गिकता, महिला अधिकारका कुरालाई धज्जी उडाउँदै आएको बताइन् । लिम्बू संस्कृतिमा आधारित ‘नुमाफुङ’ देखि ‘माइती घर’ सम्मका महिला पात्रहरूको चरित्र, भूमिकाको उदाहरण उनको कार्यपत्रमा उल्लेख थियो ।

प्रा.डा. टङ्कप्रसाद न्यौपानेले भाषिक एवम् सांस्कृतिक रूपमा भिन्नताका कारण देवान छुट्टै जाति भएको बताए । उनको कार्यपत्रमा देवानहरू याक्खा नभएको, देवान जाति र याक्खा जातिको सांस्कृतिक भिन्नताहरू समेत उल्लेख गरे । उनले धेरै जातिहरू पदवीको नामबाट जातिमा परिणत भएको उदाहरणहरू प्रस्तुत गरे ।

डा.मोहन तुम्बाहाङले लिम्बू भाषा र संस्कृतिको एक झल्को विषयमा कार्यपत्र प्रस्तुत गर्दै भाषा भएपछि संस्कृति हुने र संस्कृति भनेकै भाषाको माध्यमबाट प्रकट हुने सामाजिक व्यवस्था भएको बताए । डा. सोमबहादुर धिमालले धिमाल जातिको संस्कृतिमा ४ वटा शक्तिको महŒवपूर्ण स्थान रहेको कार्यपत्रमा उल्लेख गरेका छन् ।

डा. दीपक न्यौपानेको कार्यपत्रमा प्रदेश १ का मातृभाषाहरूको विश्लेषणात्मक अध्ययन गर्दै प्रदेशमा ६ दर्जन जति भाषा बोलिने गरेको उल्लेख छ । लिम्बू भाषा पठन–पाठनमा आएको समृद्ध भाषा भएको उल्लेख गर्दै प्रदेशको सरकारी कामकाजको भाषाको लागि लिम्बू र मैथिली भाषा सिफारिस भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए । डा.कैलाश राईले आफ्नो कार्यपत्रमा मेवाहाङ किरातहरूको पुर्खा भएको उल्लेख गरिन् ।

किरात देवान समाज केन्द्रीय समितिको सहकार्यमा आयोजित सङ्गोष्ठीमा संस्कृत  विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडा, विश्वविद्यालयका सांस्कृतिक केन्द्रका निर्देशक जर्मन चौधरीलगायतले भाषा र संस्कृतिका विषयमा बोलेका थिए । कार्यक्रममा इतिहास, भाषा संस्कृतिका विषयमा योगदान दिने पाँचजना अगुवाहरूलाई सम्मानसमेत गरिएको थियो ।