विराटनगर । देशका ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ ।  
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनअनुसार विराटनगर महानगरको ०.३२ प्रतिशत मात्र बेरुजु देखिएको हो ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा विराटनगर महानगरको ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखापरीक्षण हुँदा जम्मा २ करोड ८ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको छ । आ.व. २०८०/०८१ मा २१ करोड बेरुजु फछ्र्यौट भएको महानगरको आर्थिक प्रशासन महाशाखाका प्रमुख सञ्जीवकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ६३ करोड ५७ लाख ४३ हजार बेरुजु रहेकोमा आ.व. २०७८÷०७९ मा २२ करोड ९४ लाख ८१ हजार थपिएको थियो । जसमा आ.व. २०७८/०७९ मा १ अर्ब १९ करोड ४२ लाख ५२ हजार बेरुजु फछ्र्यौट गरिएको थियो ।

२०७८/०७९ सम्म कूल बेरुजु ७६ करोड ९ लाख ७२ हजार रहेकामा आ.व. २०७९/०८० मा ७ करोड ११ लाख ५३ हजार बेरुजु थपिएको थियो । सो आ.व.मा २३ करोड ८३ लाख फछ््र्यौट गरिएको थियो । २०७९/०८० सम्म कूल बेरुजु ५० करोड ३८ लाख २५ हजार बाँकी रहेकामा आ.व. २०८०/०८१ मा २ करोड ८ लाख थपिएको सहित २१ करोड फछ्र्यौट भई आ.व. २०८०/०८१ मा ३१ करोड ४६ लाख २५ हजार मात्र महानगरपालिकाको कूल बेरुजु बाँकी रहेको आर्थिक प्रशासन महाशाखाका प्रमुखले जानकारी दिए ।

जुन तीन आर्थिक वर्षअघि महानगरको कूल बेरुजु १ अर्ब ६३ करोड ५७ लाख ४३ हजार थियो ।  महानगरको बेरुजु हरेक आ.व. घट्दै गएको उनको भनाइ थियो । आ.व. २०७९/०८० मा ७ करोड ११ लाख ५३ हजार बेरुजु रहेकोमा २०८०÷०८१ मा २ करोड ८ लाख मात्रै बेरुजु देखिएको छ । जुन ०.३२ प्रतिशत मात्रै हो । बेरुजुलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको महानगर प्रमुख नागेश कोइरालाले बताएका छन् । 

विराटनगर महानगरपछि ललितपुर दोस्रो कम बेरुजु देखिएको महानगर हो । ललितपुरको १० अर्ब ६८ करोड ९७ लाख रुपैयाँ लेखापरीक्षण हुँदा ५ करोड ५५ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन कुल बजेटको ०.५२ प्रतिशत हो । भरतपुर महानगरपालिकामा ११ अर्ब १३ करोड ३ लाख रुपैयाँ लेखापरीक्षण गर्दा १० करोड २ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ०.९० प्रतिशत हो । राजधानी काठमाडौं महानगरमा भने २७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ लेखापरीक्षण गर्दा ६८ करोड २ लाख रुपैयाँ बेरुजु देखिएको छ । यो कुल रकमको २.४७ प्रतिशत हो ।

वीरगञ्ज महानगरपालिकामा ६ अर्ब २८ करोड १६ लाख रुपैयाँ लेखापरीक्षण हुँदा २२ करोड ७५ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ३.६२ प्रतिशत हो । महानगरहरूमध्ये सबैभन्दा बढी बेरुजु पोखरा महानगरपालिकामा देखिएको छ । पोखराको १३ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ लेखापरीक्षण हुँदा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ३.७४ प्रतिशत हो ।