इटहरी । इटहरीमा एक कर्मचारीबाट जनप्रतिनिधिदेखि कर्मचारीसम्म ठगिएका छन् ।
जनताको सेवा गर्न आएकी एक सरकारी कर्मचारीले आफ्नो पद र पहुँचको दुरुपयोग गर्दै करोडौँ रकम ठगेर बेपत्ता भएकी छन् । गत २०८१ भदौ ६ गते अर्जुनधारा नगरपालिकाबाट इटहरी उपमहानगर सरुवा भई आएकी छैटौँ तहकी अधिकृत सस्मिता लुइँटेलले जनप्रतिनिधिदेखि कर्मचारीलगायत सर्वसाधारणबाट करोडौँ रकम ठगेर फरार भएकी हुन् । उपमहानगरमा उनी एक महिनादेखि सम्पर्कविहीन बनेकी छन् । उनले प्रयोग गर्ने ९८०६१६७५७१ नम्बरको मोबाइल अफ गरेर फरार भएकी हुन् । उनी इटहरी सोनापुरवासी हुन् ।
सस्मीताबाट ठगिएकाहरूमध्ये ३ जनाले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता गराएपछि घटना बाहिरिएको हो । इटहरीका विकास पौडेल, बिपिन भट्टराई र मोहन दङ्गाललगायतले प्रहरीमा उजुरी गरेपछि अधिकृत लुइँटेलको ठगी धन्दा बाहिरिएको हो ।
उपमहानगरको वडा नं. १७ र २० मा वडा सचिवको भूमिका निभाइसकेकी लुइँटेल छैटांै तहकी कार्यालय अधिकृत हुन् । उनी नायव सुब्बाबाट डेढ वर्ष अघिमात्रै अधिकृतमा बढुवा भएकी थिइन् । इटहरी प्रहरीका अनुसार अधिकृत लुइँटेलबाट ठगिने पीडितहरू थुप्रै भए पनि तत्काल ३ जनाले मात्र उजुरी दर्ता गराएका छन् । अधिकृत लुइँटेलबाट इटहरी–१७ का जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र उपमहानगरकै कर्मचारीहरू पनि ठगिएका छन् ।
विकास पौडेलका अनुसार इटहरी–१७ को स्वास्थ्य शाखामा कार्यरत रहँदा आफूबाट चार लाख ५० हजार रकम सापटी भनेर लगे पनि फिर्ता गर्न आलटाल गर्दै आएकी थिइन् । उनका अनुसार सस्मीताले आफूलाई २०८१ माघ २ गतेको कृषि विकास बैङ्कको चेक दिएकी थिइन् तर बैङ्क पुग्दा पनि चेक नसाटिएपछि चेक बाउन्समा प्रहरीमा उजुरी दिएको बताए ।
अधिकृत लुइँटेलले सहकर्मी, व्यवसायी मात्र नभई उपमहानगरमा सेवा लिन आउने सेवाग्राहीबाट समेत रकम मागेर बेपत्ता भएकी छन् । उनले नयाँ व्यवसायका लागि सर्जमिन गराउन कार्यालय पुगेका मोहन दङ्गालबाट अढाई लाख लिएकी थिइन् । पीडित दङ्गालका अनुसार घरमा विविध समस्या देखाएर आफूबाट सो परिमाणको रकम लगेको तर फिर्ता नगरेपछि आफू ठगिएको महसुस गरेको बताए । त्यस्तै लविपुरका बिपिन भट्टराईबाट पटक–पटक गरी २४ लाख रुपैयाँ लिएकी अधिकृत लुइँटेललाई पैसा फिर्ता गर्न अनुरोध गर्दा सम्पर्कमै नआएको पीडित बताउँछन् ।
इटहरी उपमहानगरका कर्मचारी प्रशासन प्रमुख दिपक पौडेलका अनुसार अधिकृत लुइँटेलबाट थुप्रै कर्मचारी, सेवाग्राही तथा सर्वसाधारणहरू ठगिएको गुनासो आएको बताए । गुनासो एक सय पचासभन्दा बढी भए पनि अहिलेसम्म ४६ जना सम्पर्कमा आएको प्रमुख पौडेलले बताए । कसैबाट ५ लाख, कसैबाट २५ लाख त कोहीबाट एक लाखसम्म रकम लिएर लुइँटेल सम्पर्कविहीन बनेको प्रशासन प्रमुख पौडेल बताउँछन् । सबै पीडितहरूको रकम जोड्दा २ करोडभन्दा माथि पुग्ने प्रमुख पौडेल बताउँछन् ।
एक महिनाभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित अधिकृत लुइँटेलको मोबाइलमा पटक–पटक सम्पर्क गर्दा अफ देखाएकाले ३ महिना कुर्ने त्यसपछि उनको खोजी गर्न प्रहरीमा उजुरी दिने तयारी गरिरहेको प्रशासन प्रमुख पौडेल बताउँछन् । यता उजुरी परेसँगै अधिकृत लुइँटेलको खोजी कार्य सुरु भइसकेको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर महेन्द्र पराजुलीले बताए । उनले उपमहानगरको कर्मचारी भएको हुँदा नगरसँग समन्वय गरी कानूनी कारबाही अघि बढाइएको इन्स्पेक्टर पराजुलीले बताए ।
झापामा उजुरीको चाङ
अधिकृत लुइँटेलको ठगी धन्दा इटहरीमा मात्र नभई झापाको अर्जुनधारा, दमक र बिर्तामोडसम्म फैलिएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाले ३ महिनाअघि नै अधिकृत लुइँटेललाई फरारको सूचीमा राखेर खोजी तीव्र बनाएको छ । झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूका अनुसार लुइँटेलविरुद्ध पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म नभेटिएको तर खोजी कार्य भने भइरहेको उल्लेख गरे ।
मातहतका प्रहरी कार्यालयहरूमा दर्जन बढी उजुरी परेपछि छलफलका लागि बोलाउँदा सम्पर्कविहीन भएर बसेको र ९० दिनसम्म खोज्दा नभेटिएकोले उनलाई फरारको सूचीमा राखेर खोजी गरिएको एसपी लिम्बूले बताए । झापामा लुइँटेलबाट ठगिनेहरूको यकिन विवरण नभए पनि अहिलेसम्म ५४ जना सम्पर्कमा आएको र जिल्लाका विभिन्न स्थानीय तहहरूबाट झण्डै ५ करोड बढी ठगेर सम्पर्कविहीन बनेको प्रहरी प्रमुख एसपी लिम्बूले बताए । लुइँटेलले अर्जुनधारा, दमक र बिर्तामोडका व्यवसायी, सर्वसाधारण र कर्मचारीसम्मलाई ठगेर सम्पर्कविहीन भएको झापा प्रहरीले उल्लेख गरेको छ ।