भद्रपुर । झापाको हल्दीबारीमा हावाहरीबाट घर भत्किँदा बिमले थिचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी ५ त्रिबेणी चोकका ६५ वर्षीय मानबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीले दिएको विवरण अनुसार बुधबार राति अन्दाजी ११ः५० बजे आएको हावाहुरीले टिनको छाना भएको टाँडेघरमा सुतिरहेका मगरको हावाहुरीले घर भत्काई घरको बिमले थिचिरहेको अवस्थामा स्थानीयले देखेर बाहिर निकाली हेर्दा उनको मृत्यु भइसकेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घट्नापछि राति १२.३० बजे अस्थाई प्रहरी चौकी कन्चनश्रीमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट विहीबार विहान टोली गएको उनले जानकारी दिए ।