धरान । लागूऔषध प्रयोगकर्ता तथा कारोबारमा संलग्नहरूले मोबाइलबाटै लागूऔषधको भिडियो तथा तस्बिर पठाई कारोबार गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक देशका नागरिकले अर्को देशका नागरिकलाई भिडियो तथा तस्बिर पठाई ‘सामानको डिल’ गर्ने गरेका छन् । झापाको गौरीगञ्ज गाउँपालिका–३ गौरीगञ्ज बजारमा भारतीय नम्बर प्लेटको बीआर ३७ एजे ९९५२ नम्बरमो मोटरसाइकललाई रोकी जाँच गर्दा चालकले बोकेको मोबाइलबाट अर्को व्यक्तिलाई भिडियो सामग्री पठाएको भेटिएपछि यस्तो खुलासा भएको हो ।
झापा प्रहरीका अनुसार बुधबार साढे ५ बजेतिर भारत किसनगञ्ज जिल्ला खनियाबाद–७ फुलबरियाका १९ वर्षीय मोनाजिर आलमको बरामद मोबाइल जाँच गर्दा भारतीय नम्बरबाट लागूऔषधको भिडियो खरिदकर्तालाई पठाएको भेटिएको छ । उनले पोको नामक मोबाइलबाट भिडियो पठाएको देखिएपछि सोधपुछ गर्दा उक्त लागूऔषध भारत किसनगञ्ज जिल्ला खननियाबाद–५ फत्तेपुरका ५८ वर्षीय भोला ठाकुरसँग रहेको प्रहरीलाई जानकारी दिएका थिए ।
सोही जानकारीको आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा झापा गौरीगञ्ज गाउँपालिका–३ बाट सय ग्राम ०९० मिलिग्राम ब्राउनसुगरसहित विभिन्न नामका औषधिहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त लागूऔषध खरिद गर्न आएका झापा दमक नगरपालिका–५ का सञ्जय भनिने भूपेन्द्र राईलाई पक्राउ गरिएको छ । उनलाई गौरीगञ्ज–३ बाट ना.१ च ९१६२ नम्बरको कारभित्र बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनले लागूऔषध खरिद गर्नका लागि बोकेको दुई लाख ४३ हजार पाँच सय रुपैयाँ नगद बरामद गरिएको छ ।
साथै दुई थान एप्पल कम्पनीको मोबाइल, कारभित्र लागूऔषध नाप्नका लागि राखिएको डिजिटल तराजु एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरू तीनैजनालाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।