धरान । सुनसरीको रामधुनी नगरपालिका–५ मा सामान्य विवादको क्रममा खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बिहीबार रामधुनी–५ का ३५ वर्षीय सन्देश दोङ तामाङले आफ्नै साथी २७ वर्षीय रोशन अधिकारीलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार दुवैजना एकै ठाउँमा बसी मादक पदार्थ सेवन (मापसे) गरिरहेको बेलामा सामान्य विवाद हुँदा सन्देशले रोशनलाई खुकुरीले आक्रमण गरेका थिए । रोशनको बायाँ हातको दुईवटा औँला र बायाँ घुँडामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते रोशनलाई तत्काल ओमसाई हस्पिटल झुम्का ल्याई सामान्य उपचारपश्चात् डिस्चार्ज गरिएको छ भने खुकुरी प्रहार गर्ने सन्देश हाल फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीका असइ झमककुमार श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
यस्तै बिहीबार नै रामुधनी नगरपालिका–७ मियाँटोलमा अलावद्दीन मियाँ र सोही ठाउँका २१ वर्षीय फिरेस खानबीच विवाद हुँदा अलावद्दीनले फिरेसलाई कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते फिरेसलाई ओमसाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने अलावद्दीनलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ झोलुङ्गे पुलमा इनरुवा नगरपालिका–८ का ४२ वर्षीय रामप्रित मण्डललाई कुटपिट गरी नगद लुटेको प्रहरीले जनाएको छ । भारतीय नम्बर प्लेटको सेतो रङको स्कारपियोमा सवार चारजना युवा र को.३२ प ११६२ नम्बरको मोटरसाइकलमा सवार दुईजना गरी कुल ६ जनाले कुटपिट गरी नगद लुटेको भनी प्रहरीमा उजुरी आएको छ । प्रहरीका अनुसार पीडित रामप्रितले नगद ११ हजार पाँच सय रुपैयाँ, दुई थान मोबाइल लुटपाट गरेको भनी उजुरी आएको छ ।