विराटनगर । भन्सार र प्रहरीले छापा हानेर भारी परिमाणमा तस्करीको कपडा बरामद गरेको छ ।

विराटनगर–७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर भारी परिमाणमा तस्करीको कपडा शुक्रबार बरामद गरेको हो । दुई गाडी कपडा बरामद गरिएको प्रहरीले जनाएको छ । करिब ८० लाख मूल्य बराबरको कपडा रहेको विराटनगर भन्सार कार्यालयका प्रमुख तारानाथ सापकोटाले जानकारी दिए । साहले क्यारिङमार्फत तस्करीको कपडा ल्याउने गरेका थिए । सुनसरी र मोरङका क्यारिङ गर्नेहरूमार्फत भारतदेखि अवैध रूपमा ल्याएर तस्करीको कपडा विराटनगर ७ महावीर रोडस्थित मुकुन्द बस्नेतको दोस्रो तला पूरै भाडामा लिएर कपडा राख्ने गरेका थिए । तस्करी गरी ल्याएको कपडा विराटनगरको बजारसहित पूर्वको विभिन्न नाका पठाउने गरेका थिए । साहको गोदामबाट बरामद भएको कपडा विराटनगर भन्सार कार्यालय पठाइएको छ । ‘विशेष सूचनाको आधारमा तस्करीको कपडा ल्याएपछि हामीले बरामद गरेका हौँ । बरामद कपडाको खरिद बिल पनि व्यापारीले देखाउन सकेको छैन । बरामद गरेर भन्सार लिएर आएका छौँ,’ उनले भने, ‘अहिले गणना भइरहेको छ । प्रराम्भिक अनुमान ८० लाख रुपैयाँ बराबरको छ ।’

उनका अनुसार बरामद भएको कपडा क्यारिङमार्फत तीनदिन लगाएर ल्याएको बुझिएको छ । व्यापारीले निश्चित रकम क्यारिङ गर्नेलाई दिएपछि उनीहरूले भरिया प्रयोग गरेर तस्करीको कपडा विराटनगसहित पूर्वको दुहबी, इटहरी, धरान, बेलबारी, पथरी, उर्लाबारीसम्मका व्यापारीको गोदाममा कपडा पु¥याउने गरेको छ । क्यारिङ गर्नेले तस्करीको मुख्य नाका विराटनगरको दक्षिण गेट, दरैया र चाइना मार्केट बनाएका छन् । चाइना मार्केटमा रहेका पसलहरू भारत र नेपालको सीमा जोडिएको क्षेत्रमा रहेका छन् । भरियाले तस्करीको सामान सीमावर्ती बजार जोगवनी हुँदै सीमा क्षेत्रका पसलमा मध्यरातको समयमा कटाउने गरेको जानकार बताउँछन् । 

‘भन्सार छलेर अवैध रूपमा कपडा ल्याउन व्यापारीले ‘क्यारिङ’ गर्नेको समूहलाई दिने गर्दछन्,’ यस क्षेत्रका जानकार स्रोतले भन्यो, ‘व्यापारीले प्रति पिस कपडाको हिसाबले क्यारिङ गर्नेलाई पैसा दिने गर्दछन् ।’ भारतदेखि विराटनगरमा क्यारिङमार्फत कपडा ल्याउने मूल्यअनुसार दररेट क्यारिङ गर्नेले लिने गरेका छन् । सटको प्रति पिस २० देखि २५ रुपैयाँ, पाइन्टको ४० देखि ५० रुपैयाँ, कुर्ता सुरूवालको प्रति पिस १५ रुपैयाँ, जम्परको २५ देखि ३० रुपैयाँ र सेन्डो भेसको २ देखि ४ रूपैयाँ लिने गरेका हुन् । ‘कपडाका व्यापारीले भारतीय बजार गएर कपडा खरिद गरेपछि भन्सारमा राजस्व नर्तिन क्यारिङ गर्नेलाई रोज्ने गरेका छन्,’ स्रोत भन्छ, ‘क्यारिङ गर्नेले पनि हाइरिक्समा कपडा गन्तब्यसम्म लाने जिम्मा लिन्छन् ।’ 

व्यापारीले क्यारिङ गर्नेलाई कपडा जिम्मा लगाएपछि बाटोमा प्रहरीले समात्यो भने कपडाको मूल्य क्यारिङ गर्नेले व्यहोर्नुपर्ने हुन्छ । तर ठूला व्यापारीको क्यारिङ गर्ने तस्करले प्रशासनसँग राम्रो सेटिङ मिलाएको हुनाले पक्राउ पर्ने सम्भावना निकै कम हुने स्रोत बताउँछ । ‘कतिपय कपडाको क्यारिङ गर्नेले व्यापारीलाई धरौटी रकम पनि राख्नुपर्ने हुन्छ,’ लामो समयदेखि कपडाका क्यारिङ गरेर छोडेका एक जनाले नाम नबताउने सर्तमा भने, ‘कसैले विश्वासको भरमा काम गर्ने भएकोले धरौटी रकम पनि माग्दैनन् । व्यापारीले धरौटी राख्नुको कारण भनेको बाटोमा आफ्नो कपडा प्रहरीले समातिहाल्यो भने धरौटीबाट काट्नलाई राखेको हो ।’

होलसेलदेखि खुद्रासम्म तस्करीको कपडा 

भारतदेखि तस्करीको कपडा थोकदेखि खुद्रासम्मको कपडा पसलमा आउने गरेको पाइएको छ । तस्करीको कपडा मोरङको विराटनगर, उर्लाबारी, विराटचौक र सुनसरीमा इटहरी, इनरूवाका कपडा पसलहरूमा जाने गरेको छ । सुनसरीमा सबैभन्दा बढी इटहरीमा जाने गरेको स्रोत बताउँछ । ‘सुनसरीको इटहरीमा धेरै कपडाका होलसेल पसलहरू भएकोले त्यहाँ जाने गरेको छ,’ स्रोतले भन्यो । तस्करीको कपडा क्यारिङ गर्न भरिया प्रयोग गर्ने गरेका छन् । क्यारिङ गर्नेहरूले निश्चित रकम दिएर कपडा बोक्न भरिया लगाउने गरेका हुन् । क्यारिङ गर्नेले ३ सय रुपैयाँदेखि पाँच सय रूपैयाँसम्म भरियालाई दिने गर्दछन् । क्यारिङ गर्नेले राति र बिहानीपख कपडा भारतदेखि तस्करी गरी ल्याउने गर्दछन् । रातिको १० बजे पछि ल्याउने गर्दछन् । त्यसपछि साइकल, सिटी, टेम्पोमा हालेर व्यापारीकहाँ पु¥याउने गरेका छन् ।