झापांको शिवसतासीधाम–८ झिलभिलेका देविप्रसाद लावती सन् १९९९ मा मलेसिया पुगेर ३ बर्ष श्रम गरे । घर रुगने काम गरका उनी, कुनै सीप नभएपछि पैसा कमाउन नसके पछि घर फर्किए । पुनः सन् २००७ मा  कतार गए । त्यहाँ सुरक्षा गार्डको काम पाए । भने अनुसार पैसा नभए पछि १ बर्ष मै घर फर्कनु पर्याे । सन् २०१० मा पुनः दुवई हाकिए । त्यहाँ भने १० बर्ष वल्डिङको काम गरे ।

दुवईबाट नेपाल फर्किएको दुई बर्षदेखि नेपालमा उनि त्यतिकै बसिरहका थिए । गोठमा दुई/चार वटा गाई भने उनले पाल्दैं आएका थिए । लामो समय विदेश बसेपनि केही गर्न नसकेका लावती कृषी पेसामा लागेका थिए । तर पेसा प्रतिको प्राविधिक ज्ञान अभावमा उनि भौतारिरहेका थिए । पशुपालनमा झुकाव राख्ने लावतीले पशु स्वास्थ्य सम्बन्धि तालिम पाए पछि उनि पशु पालन व्यवसाय दिगो हुने आशा गरेका छन् । 

लावती जस्तै झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ बसपार्क क्षेत्रका अनिस राई पनि साढे ३ बर्ष कुवेत बसेर एक बर्ष अघि मात्रै नेपाल फर्किए । उनले विदेश बस्दा किचेनमा काम पाए । नेपाल फर्किएर त्यतिकै भौतारी रहेका उनि विर्तामोडमा हाउस किपिङको तालिम आए पछि अन्तर्वार्ताबाट पास भई तालिममा सहभागी भए । तालिम प्राप्त भए पछि उनि अव होटल लाइनमा स्वदेशमा केही गरेर बस्ने अठोट लिएका छन् ।

झापा कमल गाउँपालिका वडा नं. ४ की इन्दिरा कार्की (गुरुङ) तीन बर्ष कुवेतमा क्लिनरको काम गरेर फर्किएकी छन् । उनि दुई बर्ष अघि नेपाल फर्केर त्यतिकै बसिरहेकी थिइन् । घर नजिकै पशुस्वास्थ्य सहायकको तालिम आए पछि उनि पनि प्रकृया पुरा गरेर तालिममा सहभागी भइन् । तालिम लिए पछि उनि आफ्नै देशमा केही गर्ने मनोवल बढेको बताउछिन् । लावती, राई र कार्कीजस्तै झापा, मोरङ र सुनसरीका विदेश बसेर फर्किएका ३ सय जना युवाहरुले विभिन्न प्रकारका सीपमुलक तालिम लिने अवसर पाएका छन् । घर नजिकै निःशुल्क पाएको तालिमले नेपाल मै केही गर्ने आत्मवल बढेको उनिहरु बताउछन् ।

वैदेशिक रोजगारीमा गएर फर्किएकालाई स्वदेशमै टिकाउनका लागि ‘वेलकम होम’ परियोजनाले छोटो अवधीको सीपमुलक तालिम दिएपछि यहाँका युवाहरुले  सीपयुक्त हुने मौका पाएका छन् ।

युरोपेली संघको आर्थिक सहयोग, ब्रिटिस काउन्सिलद्वारा व्यवस्थित दक्षता–टिभिईटि व्यावहारिक साझेदारी अन्तर्गत अन्तराष्ट्रिय श्रम संगठन (ILO)  द्वारा कार्यान्वयन गरिएको यो परियोजनाले प्रदेश १ का मोरङ, सुनसरी र झापा जिल्लामा ३ सय जनालाई तालिम प्रदान गरेको हो ।

यस परियोजना संचालन गर्न नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले मुख्य भूमिका खेलेको छ । विदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमै रहेर केही गर्न प्रोत्साहान गर्न दातृ निकायहरुसँग सहकार्य गरेर १८० घण्टाको तालिम संचालन गरिएको छ । झापाको कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिलका, शिवसतासी नगरपालिका, मेची नगरपालिका, विर्तामोड नगरपालिका, मोरङको केराबारी गाउँपालिका, लेटाङ नगरपालिका, सुन्दरहरँैचा नगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र इनरुवा नगरपालिकामा तालिम आयोजना गरिएको थियो ।

तालिमका लागि विदेशबाट फर्किएका युवाहरुलाई तालिममा सहभागी गराउन पौरखी नेपाल र ओरेक नेपालले सहयोग गरेको थियो ।छोटो अवधीका प्लम्बर, होम स्टे, साना होटल व्यवस्थापन, हाउस पेन्टर, विल्डिङ इलेक्ट्रिसियन, हाउस किपिङ, पशु स्वास्थ्य सहायक र बेमौसमी तरकारी खेतीलगायतको सीपमुलुक तालिम संचालन गरिएको तालिमका व्यवस्थापक गिरीराज घिमिरेले बताउछन् ।

परियोजनाअन्तर्गत विदेशबाट फर्किएकाहरुका लागि रोजगारी सिर्जना, क्षमता अभिवृद्धि, विदेशमा प्राप्त गरेको ज्ञान–सीपलाई स्वदेशमै प्रयोग गर्ने अवस्था बनाउनेलगायतका क्रियाकलाप गरिएको जनाइएको छ ।

श्रम बजारमा भोगेका समस्यालाई पहिल्याउने र समाधान गर्ने कार्ययोजनाका साथ यो तालिम आयोजना गरिएको थियो । नेपालमा विदेशबाट फर्किएर पुनः विदेश नै जानुपर्ने अवस्था रहेको छ । उक्त युवा जनशक्तिलाई आवश्यक तालिम दिएर रोजगारीमा फर्काउने र समाजमा स्थापित गर्न यस्तो तालिम आयोजना गरिएको नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका प्रदेश १ अध्यक्ष कृष्ण शाह बताउछन् ।

विदेशबाट फर्किंदा घरपरिवार र सम्पत्ति दुवै नरहने कतिपय टिठलाग्दो अवस्था रहेको पाइएको र तालिमले आत्मनिर्भर हुन सहयोग गर्ने अन्तराष्ट्रिय श्रम संगठनकी परामर्शदाता सवाना भट्ट बताउछिन् ।

विदेशमा रहेका र विदेशबाट स्वदेश फर्किएका महिला बढी समस्या हुनेगरे उनको बसझाई छ । त्यस्ता महिलाहरुलाई पनि यस तालिमले सम्मानका साथ समाजमा स्थापित गर्न सहयोग गर्ने भट्टको विश्वास रहेको छ ।

 त्यहि विश्वासका साथ वैदेशीक रोजगारबाट फर्किएकाहरुलाई आवश्यक तालिम, परामर्श दिने र स्वदेशमै टिकाउने सोचका साथ परियोजना अघि बढाइएको आयोजक संस्थाले जनाएको छ ।

त्यसबाहेक परियोजनाले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई रोजगारीमा आबद्ध गराई, उद्यमशीलताको प्रवद्र्धन गरी सामाजिककरण गर्ने जनाइएको छ । परियोजनाले मुख्यतः कृषि, पर्यटन र निर्माण क्षेत्रमा काम गर्ने वेलकम होमका नेपाल संयोजक ताराप्रसाद बखरियाल बताए ।