बिर्तामोड । भुगोलका हिसाबले झण्डै आधाजस्तो जिल्लाको क्षेत्रफल ओगटेको झापा क्षेत्र नम्बर ४ मा यस पटकको निर्वाचनमा कस्तो परिणाम आउँछ भन्ने अनुमान गर्न कठिन छ । यस क्षेत्रमा मुख्यतया नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेद्वारबीच चर्काे प्रतिष्पर्धा हुने आकलन गरिएको छ । 

मंसिर–४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति समेत रहेका देउकुमार थेवेको एकल नाम सिफारिस भएको छ । नेकपा एमालेले बर्तमान सांसद लालप्रसाद साँवासहित प्रदेश न १ का सांसद हिरा थापा, होम गौतम, चन्द्र शेर्मा र भोजकुमारी नेपालको नाम सिफारिस गरेको छ । 

एमालेले ५ जनाको नाम सिफारिस गरेको भएपनि साँवाकै उम्मेद्वारी रहने सम्भावना बलियो रहेको एमाले श्रोतको दावी छ । थेवे र साँवाको प्रतिनिधि सभाको निर्वाचनमा यो दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७४ सालमा पनि थेबे र साँवाबीच प्रतिष्पर्धा भएको थियो । 

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने साँवा नेपाली कांग्रेसका हालका केन्द्रिय सदस्य केशबकुमार बुढाथोकीसँग पराजित भएका थिए । बुडाथोकीसँग २४० मतको मन्तरले पराजित भएपछि साँवाले उक्त क्षेत्रमा झन राजनीतिक सक्रियता बढाएका थिए । २०७४ को निर्वाचनमा बाम गठबन्धन गरेका कारण साँवालाई जित्न सहज भएको थियो । २०७४ सालको निर्वाचनमा साँवाले थेबेलाई फराकिलो अन्तरले पराजित गरेका थिए । साँवाले ४३ हजार ५१५ मत ल्याउँदा तत्कालिन पार्टी उपसभापति रहेका थेवेले २६ हजार ८२२ मत मात्र ल्याउन सफल भएका थिए । 

झापा–४ मा झापा गाँउपालिका, गौरादह नगरपालिकाको वडा नम्बर ९, गौरिगञ्ज गाँउपालिकाको वडा नम्बर १ र २, कन्काई नगरपालिकाको वडा नम्बर १ देखि ७ र शिवशताक्षी नगरपालिकाको भुगोल पर्छ । 

२०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा झापा–४ मा पर्ने २८ वटा वडामध्ये एमाले एक्लैले १५ वटा वडामा बिजय हासिल गरेको छ । नेपाली कांग्रेस ११, माओवादी केन्द्र १ र एउटा वडा स्वतन्त्र उम्मेद्वारले जितेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । एमालेले कनकाई नगरपालिकाको १,२,३,४,५ र ६ नम्बर वडाको नतिजा हात पार्दा सो नगरपालिकामा कांग्रेसले ७ नम्बर वडा मात्र जितेको छ । 

शिवसताक्षी नगरपालिकाको १,४,५,१० र ११ वटा वडाको नतिजा एमालेको पोल्टामा परेको छ । सो नगरपालिकामा कांग्रेसले ३,६,७,८,९ र माओवादी केन्द्रले २ नम्बर वडामा जित हासिल गरेका छन् । यसैगरी झापा गाउँपालिकामा एमालेले वडा नम्बर ३ मा जित हात पारेको छ । कांग्रेसले वडा नम्बर १,२,४,६ र ७ तथा ५ नम्बरमा स्वतन्त्र उम्मेद्वारले निर्वाचन जितेको पाइएको छ । गौरिगञ्ज गाउँपालिका १ र २ कांग्रेस र गौरादह नगरपालिका ९ एमालेले जित हात पार्न सफल भएका छन् ।

झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै कांग्रेसले जितेको छ । कनकाई नगरपालिकामा मेयर एमालेले जित्दा कांग्रेसले उप मेयर जितेको छ । शिवसताक्षी नगरपालिकामा मेयर र उपमेयर नै एमालेबाट निर्वाचित भएका छन् । यस्तै गौरिगञ्ज गाउँपालिकामा अध्यक्ष कांग्रेसले जितेको छ भने उपाध्यक्षमा एमालेका उम्मेद्वार बिजयी भएका छन् । गौरादह नगरपालिकामा मेयर र उपमेयर नै एमालेबाट निर्वाचित भएका छन् ।    

दलहरुले एक्ला एक्लै प्रतिष्पर्धा गर्ने अवस्था आँउदा झापा–४ मा अरु पार्टीलाई एमाले भारी हुने अवस्था छ । एमाले एक्लैको त्यस क्षेत्रमा ३१ हजार २७३ मत रहेको छ भने दोस्रोमा कांग्रेसको २८ हजार १६६ मत छ । ५ वटा वडामा उम्मेद्वारी दिएको माओवादीको ४ हजार ७२६ मत र राप्रपाको ४ हजार ५५६ मत रहेको छ । जिल्लाका अन्य क्षेत्रभन्दा यस क्षेत्रमा राप्रपाको कमजोर मतभार रहेको छ । 

सत्ता गठबन्धन कायम रहेको अवस्थामा सांसद साँवालाई निर्वाचन जित्न कठिन हुने देखिन्छ । यद्यपी एमालेले राप्रपासँग गठबन्धन गरेर निर्वाचनमा सहभागि भए उनी सुरक्षित हुन सक्ने छन् । तर, २०७४ सालको निर्वाचनका समयमा पार्टीभित्र ‘पावरफुल उम्मेद्वार’ नमानिएका थेवे अहिले जिल्ला सभापति भएका छन् । साँवाको लागि यतिबेला थेवेको पद र बढ्दो लोकप्रीयता चुनौती बन्न सक्ने यहाँका मतदाताको अनुमान छ । 

हक्की स्वभावका थेवे कार्यकर्ता संरक्षणमा अग्रसर हुने गर्दछन् । गठबन्धनका कारणपनि थेवेले जित्नसक्ने कार्यकर्ताको अनुमान रहेको छ । यद्यपी साँवा र उनको पार्टी नेकपा एमाले अहिलेसम्म रक्षात्मक अवस्था पुगीसकेको छैन । कतिपय मतदाता भने साँवा ‘टेष्टेड’ भएका कारण यो पटक थेबेले बाजी मार्नसक्ने अनुमान गर्छन । 

यही क्षेत्रमा राप्रपाले खुस्बु ओलीको एकल नाम सिफारिस गरेको छ । एमालेसँग तालमेल नभएको अवस्थामा पुर्व एमालेसमेत रहेकी ओलीले सो पार्टीको मत काट्न सक्ने देखिन्छ । राप्रपाले खुस्बुका बाबु श्याम ओलीलाई प्रदेशसभामा सिफारिस गरेको छ । एमाले पृष्ठभुमीका उम्मेद्वार भएका कारण राप्रपाका उनले साँवाको जितमा बाधक बन्न सक्ने स्थिती निर्माण गर्न सक्ने छन् ।