विराटनगर।  पूर्वी सहरको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीको आकस्मिक कक्षमा शैय्या थप गरि व्यवस्थित बनाएको छ । विरामीको चापको कारण शैय्या अभावले झ्यालमा विरामी राखेर उपचार गर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले २८ वटा वेड थप गरेको हो ।

यसअघि कोशीको आकस्मिक कक्षमा १२ वटा मात्र शैय्यामा राखेर उपचार गरिनुपर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूको बाध्यता रहेको थियो । २८ वटा शैय्या थप गरि अहिले ४० वटा पुगेपछि उपचार सेवामा थप सहजता हुने कोशी अस्पतालका सुपरिटेन्डेण्ट (मेसु) डा. यज्ञराज खरेलले बताए ।

‘शैय्या अभावको कारणले यसअघि विरामीलाई अस्पतालको झ्याल र एउटै बेडमा तीन जनासम्म विरामी राखेर उपचार गरिनुपर्ने बाध्यता रहेको थियो,’ मेसु खरेलले भने, ‘अब झ्याल र एउटै बेडमा तीन जनासम्म राखेर उपचार गरिनुपर्ने समस्या अन्त्य भएको छ ।’ आइसोलेशन वार्डलाई हटाएर आकस्मिक कक्षसँगै गाभेर अस्पतालले शैय्या थप गरेको हो ।

कोशीको ओपीडिमा ८ देखि १ हजार विरामीले दैनिक आउने गर्दछन् । अहिले नीजि हस्पिटलले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेपछि कोशीमा विरामी आउनेको संख्या बढेको छ । आकिस्मक कक्षमा मात्र दैनिक १ सय देखि १ सय ५० जनासम्म विरामी आउने गरेको आकस्मिक कक्षको इन्चार्ज जनस्वास्थ्य निरीक्षक गजेन्द्र प्रसाद यादवले बताए । 

आकस्मिक कक्षमा शैय्या थप गरेपछि विरामीको उपचारमा सहज भएको उनले बताए । थप भएको र पुरानो सबै बेडमा अस्पतालले अक्सिजन पाइपमार्फत आवश्यक पर्ने विरामीलाई अक्सिजन सप्लाइ गर्ने व्यवस्था मिलाएको छ ।

अस्पतालले प्रोटेबल भेन्टिलेटर पनि आकस्मिक कक्षमा राख्ने तयारी गरेको छ । ‘आकिस्मक कक्षमा आउने विरामीलाई भेन्टिलेरमा पनि राखेर उपचार गर्नुपर्ने हुन्छ,’ इन्चार्ज यादवले भने, ‘त्यस्ता विरामीलाई ध्यानमा राखेर अस्पतालले प्रोटेबल भेन्टिलेर पनि राख्नुपर्ने हामीले सुझाब दिएका छौं । त्यसको पनि तयारी भएको छ ।’

आकस्मिक कक्षमा विरामीको स्वास्थ्य अवस्था छुटयाउन जोन पनि बनाएको छ । तीन समूहमा विभाजन गरेको छ । रेडजोन, यल्लो र ग्रिन जोन बनाएर आकस्मिक कक्षमा बनाएको छ । ‘विरामीको अवस्था हेरेर जोन छुटयाएको हो,’ उनले भने, ‘यसरी जोन छुटयाउँदा विरामीको अवस्था बुझन चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई पनि सहज हुनेछ ।’