पथरीशनिश्चरे। मोरङको पथरीशनिश्चरेमा नाटक सम्बन्धीको प्रभावलाई अझ बढोत्तरी गर्दै व्यवसायिक हिसावले नै नाटक देखाउने कोशिसमा यस बेला काम भइरहेको छ । अर्थात नाटक प्रस्तुतिको मुल मर्मलाई विद्यालयस्तरका विद्यार्थीहरुमा बुझाउने हेतुले यसबेला शब्द थिएटर लागिपरेको छ ।

 नाटककार मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ नाटकलाई शब्द कला समूहको आयोजनामा शब्द थिएटरका कलाकारहरुको अगुवाईमा नगरमा नाटकको मर्म एवम् प्रभाव चरितार्थ पारेका छन् । हरियाली सामुदायिक वन उपभोक्ता समितिको हललाई अध्ँयारो पारियो । चरित्र र अवस्थिती अनुसारको दृष्य देखाउन प्रकाश व्यवस्थापनमा लाइट जोडियो । मञ्चमा देउराली खडा गरियो । संगै जोडिएको चौतारी जस्तो विसौनी पनि निर्माण भयो । ध्वनीको संयोजन गरियो । अनि टिकटमा नाटक देखाउने काम भयो ।  पथरीशनिश्चरेमा ०५० को दशकमा सगरमाथा नाट्य समूह, कञ्चनजंघा नाट्य समूहका साथै इश्वर आँशु मगर, भरत भट्टराईहरुले नाट्य अभियान सञ्चालन गरेका थिए । त्यो बेला केहि नाटकहरु टिकटमा समेत प्रदर्शन भएपनि परम्परागतशैलीमा पर्दा तानेर गर्ने गरिएको थियो । त्यसपछि सडक नाटकका रुपमा लगातार नाटक सञ्चालन भएपनि आधुनिक शैलीमा नाट्य रुपान्तरण गर्ने तरिका सहितको नाटकको मर्म एवम् प्रभाव दर्शाउन अनि पैसा तिरेर नाटक हेर्न ‘अनि देउराली रुन्छ’ कोशेढुंगा सरह बनेको स्थानीय पुराना नाट्यकर्मी सगरमाथा नाट्यसमूहका अगुवा विक्रम फागो वनेमको बुझाई छ ।

  मंसिर ५ देखि ११ सम्मको ७ दिने नाटक प्रदर्शनीको योजना तय गरेर प्रदर्शन अघि बढ्यो । दिनमा २ सो गर्ने पहिलेको योजनामा दर्शकको उत्साहले ३ सो चलिरहेको छ ।  नाटकको प्रभावले अरु दिन प्रदर्शनी बढ्ने खुसीको अवस्था सिर्जना भएको सुनाउछन् थिएटरका सचिव सरोज तिम्सिना । ‘सवैजसो विद्यालयका विद्यार्थीहरुले नाटक हेर्न इच्छा जाहेर गरेपछि १५ गतेसम्म नाटक प्रदर्शन लम्बिने भएको छ ।’– उनले खुसी हुँदै भने ।

  यो अभियानमा पथरीशनिश्चरे नगरपालिका कार्यालयले पनि आर्थिक सहयोग पुर्यायो । नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधि दर्शकका रुपमा नाटक हेर्न पुगे र नाटकको प्रस्तुतिबाट अचम्बित सरह भए । ‘राम्रो नाटक गर्नुहुन्छ भन्ने त लागेको थियो तर यत्तिको प्रभावकारी चाँही गर्नुहोला भन्ने लागेको थिएन ।’– नगर प्रमुख राइले भने । जुनसुकै विषयवस्तुलाई पनि जिवन्त रुपमा नाट्य रुपान्तरण गर्न सक्ने नाटकको प्रभाव रहेको उपप्रमुख वास्तोलाले पनि मनन गर्दै यसखाले कार्यक्रमले नगरको चिनारी बनाइराख्नु पर्ने धारणा व्यक्त गरिन् ।

 नाटक विद्यालय र क्याम्पसका पुस्तकमा पढ्नु पर्छ । ‘अनि देउराली रुन्छ’ पनि क्याम्पसस्तरको कोर्षमा छ । तर त्यस्ता नाटक मञ्चन भएर हेर्न पाउँदाको त्यसको यथार्थ र गहन बुझाइ भनें अनुभूत गर्न पाएको अवस्था हुँदैन । नाटकका निर्देशन जीवन बराल भन्छन् ‘तसर्थ नाटकको प्रस्तुतिको मर्म बुझाउन र पुस्तकमा रहेको नाटक प्रदर्शनमा ल्याउँदा मात्र त्यो पूर्ण हुने र यथार्थ बुझिने भएकाले शिक्षण संस्था र विद्यार्थीलाई झकझकाउन पनि यसरी नाटक प्रस्तुतिमा आएका हौं ।’ शिल्पी थिएटर काठमाडौंमा एक दशक बढी व्यवसायिक नाटक गरेर देश विदेशमा यसको प्रभाव फैलाएका पथरीशनिश्चरेका वराल अव आफ्नै थलोमा नाटकको व्यवसायिक प्रभाव समेत स्थापित गर्न आफ्नै थलो फर्किएर लागि परेका छन् ।  

  ‘अनि देउराली रुन्छ’ यस अघि २०३३ सालमा हालको नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा मञ्चन गराएको थियो । त्सपछि बरालकै निर्देशनमा शिल्पी थिएटरले ०७४ मा मञ्चन गरेको थियो । नाटकमा शब्द थिएटर, झोराहाट थिएटर, कदम थिएटर, सृजना घर, शेलो थिएटर र बिराट आदर्श साहित्य मञ्चका कलाकारहरूले अभिनय रहेको छ । जसमा सुमन कुँइकेल, सुदीपजंग कार्की, अशोक साम्पाङ राई, मेनुका कुलुङ राई, अनुषा कटुवाल, सदीक्षा अधिकारी, मनोज तिम्सिना, मनिक शंकर, सन्तोष राई (छत्र), विजय नेपाल, सन्तोष तामाङ, प्रेम खतिवडा, सन्जय गिरी, इस्वर दुलाल, जंगबहादुर मगर, विमला पोखरेल र काव्य बराल लगायत छन् । नाटकको संगीत संयोजन देव गुरुङ, निर्माण नियन्त्रण पर्शुराम न्यौपानेले सम्हालेका छन् ।

पुरानो संस्कारमा पहिलेको सामाजिक संरचनामा गाउँघरमा मानिसहरुले कसरी शोषण गर्ने र श्री सम्पत्ती आफ्नो नाममा पार्ने अनि आफुले मन पराएको मान्छेसँग विहे गर्न नपाउँदाको समस्याले रोएको देउरालीको कथा छ नाटकमा ।