विराटनगर । कोशी प्रदेशको उदयपुरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा राज्यको बजेटमाथि ‘ब्रह्मलुट’ मच्चाइएको तथ्य सार्वजनिक भएको छ । बिरामीको उपचारका लागि विनियोजित रकमबाट औषधि नै खरिद नगरी फर्जी बिल पेस गरेर लाखौँ रुपैयाँ हिनामिना गरेको पाइएको हो ।
प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको उक्त केन्द्रका कार्यालय प्रमुख एवम् आयुर्वेद चिकित्सक डा. गम्भीर झाले आर्थिक नियम मिच्दै औषधि खरिद, स्वास्थ्य शिविर सञ्चालन र जडिबुटी उद्यान निर्माणका नाममा सरकारी ढुकुटीको दुरुपयोग गरेको खुलासा भएको छ ।
स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा गठित छानबिन समितिले डा. झाको नेतृत्वमा कार्यालयमा व्यापक आर्थिक अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । सोही प्रतिवेदनका आधारमा स्वास्थ्य मन्त्रालयले डा. झासँग तीनदिने स्पष्टीकरण माग गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा डा. झाले होमियोप्याथी औषधि खरिदमा अनौठो शैली अपनाएका छन् । उनले गत जेठ ११ गते सुनसरीको इटहरी–८ स्थित ‘माउन्ट एभरेष्ट होमियो मेडिको प्रा.लि.’ बाट १ लाख ११ हजार ८ सय ४८ रुपैयाँ बराबरको औषधि खरिद गरेको बिल कार्यालयमा पेस गरी भुक्तानी लिएका थिए ।
तर, स्वास्थ्य निर्देशनालयका उपसचिव सोम अधिकारी नेतृत्वको छानबिन टोलीले भदौको पहिलो साता अनुगमन गर्दा कार्यालयको स्टोरमा ती औषधिको नामनिसान भेटिएन । छानबिन प्रतिवेदनमा भनिएको छ – “बिल आयो र भुक्तानी पनि भयो, तर स्टोरमा औषधि छैन । दाखिला हुनुपर्ने औषधि नभेटिनुले सिधै फर्जी बिल बनाएर राज्यको रकम दोहन गरेको पुष्टि हुन्छ ।”
अनियमितताको शृङ्खला यतिमै रोकिँदैन । गत जेठ १० गते त्रियुगा नगरपालिका–१५ रानीबास मा.वि.मा सञ्चालित ‘निःशुल्क आयुर्वेद शिविर’ मा पनि डा. झाले आर्थिक बदमासी गरेको पाइएको छ ।
शिविरका लागि विनियोजित २ लाख ५० हजार रुपैयाँमध्ये ६० प्रतिशत रकम डेढ लाख औषधि खरिदमा खर्चिनुपर्ने थियो । तर, डा. झाले कार्यालयमा पहिल्यैदेखि मौज्दात (स्टक) रहेको निःशुल्क औषधि बिरामीलाई बाँडेर कागजमा भने नयाँ औषधि खरिद गरेको नक्कली बिल पेस गरेको प्रतिवेदनमा उल्लेख छ । यसरी सरकारी गोदामको औषधि बाँडेर नयाँ खरिदको बिल बनाउनुलाई समितिले ‘सरासर भ्रष्टाचार’ भनेको छ ।
जडिबुटीको बजेटमा चालकलाई चेक
सबैभन्दा लज्जास्पद विषय जडिबुटी उद्यान निर्माणमा देखिएको छ । कार्यालय परिसरमा पञ्चकर्म सेवालाई सघाउने जडिबुटी रोप्न आएको ४५ हजार रुपैयाँ बजेटमा डा. झाले आँप, लिची, कटहर र मेवाजस्ता फलफूलका बिरुवा खरिद गरेको बिल पेस गरे । अझ गम्भीर कुरा, ती बिरुवा पनि नरोपी कतै थन्क्याएर राखिएको अवस्थामा फेला परेका छन् ।
अनुसन्धानमा खुलेअनुसार, सो रकम डा. झाले आफ्ना निजी सवारी चालक फाकेन चौधरीको नाममा चेक काटेर भुक्तानी लिएका थिए । छानबिन समितिले यसलाई बेरुजु ठह¥याएपछि डा. झाले हतार–हतार सो रकम फिर्ता फछ्र्यौट गरेका छन्, जसले उनको गल्तीलाई आफै पुष्टि गरेको छ ।
यस्तै न्यूनतम् सेवा मापदण्ड सुधारको ३ लाख रुपैयाँ पनि विना कार्ययोजना र समितिलाई छलेर प्रयोगशालाका सामान खरिदमा खर्चिएको पाइएको छ । नागरिक आरोग्य सेवा केन्द्रका कर्मचारीको तलब र योग शिविरको १ लाख रुपैयाँमा पनि अनियमितता देखिएको छ ।
छानबिन समितिको प्रतिवेदनपछि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका तत्कालीन उपसचिव कुलप्रसाद गुरागाईंले डा. झालाई सोधेको स्पष्टीकरणमा भनिएको छ – “बजेट बराबरको औषधि खरिद नगरी बिल मात्र दाखिला किन गरेको ? जडिबुटी नलगाई किन भुक्तानी लिएको ?”
यस विषयमा कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले मन्त्रालय थप कारबाहीको तयारीमा रहेको बताए । “हामी बैठकमा छौँ, प्रतिवेदनका आधारमा थप निर्णय हुन्छ”–मन्त्री राईले भने । मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले पनि चित्तबुझ्दो जवाफ नआए कानूनबमोजिम कडा कारबाही हुने चेतावनी दिएका छन् ।
मेरो बदनाम गर्न केही व्यक्ति लागेः डा.झा
आरोप लागेका कार्यालय प्रमुख डा. गम्भीर झाले भने आफू निर्दोष रहेको दाबी गरेका छन् । उनले आफूलाई सरुवा गराउन गिरोह सक्रिय भएको जिकिर गरे । “जडिबुटी ल्याएको थिएँ तर रोप्न दिइएन, त्यसैले बेरुजु रकम तिरिसकेको छु”–झाले भने । शिविरको औषधि खरिदको जिम्मा भने उनले स्टोर किपरलाई दिएको भन्दै पन्छिन खोजेका छन् । आफूलाई बदनाम गर्न केही व्यक्ति लागेको उनको भनाइ छ ।
जिल्लास्तरमा हुने यस्ता अनियमितता रोक्न कोशी प्रदेश सरकारले अब औषधि खरिद प्रक्रिया परिवर्तन गरेको छ । मन्त्री राईका अनुसार अब ‘जी–टु–जी’ सरकार–सरकार मोडल अन्तर्गत सिंहदरबार वैद्यखाना विकास समितिसँग सिधै औषधि खरिद गरिनेछ । यसका लागि भदौ २ गते २ करोड २० लाखको सम्झौता भइसकेको छ ।
































