विराटनगर । गत भदौ २४ गते ‘जेन जी आन्दोलन’ का नाममा मोरङमा भएको अराजक प्रदर्शन, सरकारी कार्यालयमा आगजनी र निजी घर तोडफोडमा संलग्नहरूलाई मोरङ प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।

आन्दोलनको आडमा सार्वजनिक सम्पत्ति नष्ट गर्ने र आतङ्क मच्चाउने कार्यमा संलग्न भएको आरोपमा मङ्गलबारसम्म प्रहरीले ३९ जनालाई नियन्त्रणमा लिइसकेको छ । मोरङ प्रहरीका निमित्त प्रवक्ता एवम् इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार प्रहरीले ‘अपरेसन’ नै चलाएर तोडफोडमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन थालेको हो । प्रहरीले सुरुवाती चरणमा २१ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि दोस्रो चरणमा १० जना र सोमबार इलाका प्रहरी कार्यालय रङ्गेलीले थप ८ जना गरी कुल ३९ जना पक्राउ परेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वालका अनुसार पक्राउ पर्नेहरू निर्दोष नपरून् भनेर प्रहरीले घटनास्थलका सिसिटिभी फुटेज, मोबाइल भिडियो र फोटोहरूको सूक्ष्म विश्लेषण गरेको छ । “हामीले भिडियो फुटेजकै आधारमा मोरङमा विध्वंस मच्चाउने झण्डै २ सय जनाको स्पष्ट पहिचान गरेका छौँ” मोरङ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, “पहिचान भएकाहरूलाई खोजी–खोजी पक्राउ गर्ने क्रम तीव्र पारिएको छ ।” सोमबार रङ्गेलीबाट पक्राउ परेका ८ जना रहेका छन् । रङ्गेली र सुनवर्षी नगरपालिकामा तोडफोड तथा आगजनी गर्ने कार्यको नेतृत्व एमाले निकट युवा सङ्गठनका रङ्गेली नगर इन्चार्ज आनन्द साहले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार रङ्गेली नगरपालिका, सुनवर्षी नगरपालिका, इलाका प्रशासन कार्यालय र रङ्गेलीका नगरप्रमुखको निजी निवासमा आगजनी गर्न भीडलाई उक्साउने र नेतृत्व गर्ने मुख्य योजनाकार आनन्द नै हुन् । उनी एमाले नेता सन्तोष साहका छोरा हुन् । सन्तोष साह रङ्गेलीका पूर्व प्रमुख उम्मेदवार र प्रदेश सभा सदस्यका प्रत्यासीसमेत हुन् । रमाइलो पक्ष त के छ भने रङ्गेली र सुनवर्षी दुवै नगरपालिकामा एमालेले नै प्रमुख र उपप्रमुख जितेको छ । आफ्नै पार्टीको नेतृत्व रहेको स्थानीय सरकार र सरकारी सम्पत्तिमा एमालेकै जिम्मेवार कार्यकर्ताले पेट्रोल छर्कनुलाई ‘लज्जास्पद’ र अराजकताको पराकाष्ठाको रूपमा हेरिएको छ ।

सोमबार पक्राउ पर्ने अन्य आरोपीहरूमा रङ्गेली–३ का भुपाल भण्डारी, कुमार मण्डल, रूपक गौतम, रूपेश यादव तथा कटहरीका समिर क्षेत्री, दोर्जेप्रतीक तामाङ र गणपत यादव रहेका छन् । पक्राउ परेकाहरूमाथि प्रहरीले सार्वजनिक सम्पत्ति नष्ट गरेको, सरकारी कार्यालयमा आगजनी गरेको र सङ्गठितरूपमा अपराध गरेको कसूरमा म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाएको छ । प्रहरीले अझै फरार रहेका अन्य अभियुक्तहरूको खोजी कार्य जारी राखेको जनाएको छ ।