धरान । लामो समयको विवादपश्चात् निर्माण सम्पन्न भएको डेढ वर्ष बितिसक्दा पनि धरानको आधुनिक बसपार्क ‘स्थानीय सरकार’ को कारण सञ्चालनमा आउन सकेको छैन ।

स्थानीय सरकारको कार्यशैलीका कारण सञ्चालनमा आउन नसकेको यातायात व्यवसायीहरू बताउँछन् । कतिपय जनप्रतिनिधिहरू धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) का कारण निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको आरोप लगाउँछन् । “कहिले प्रधानमन्त्री बन्छु भन्दै हिँडेको छ, अहिले देशमा सङ्गठन गर्नेतिर लागेको छ । त्यसैले ध्यान पुग्दैन । पुगिहाले पनि त्यतातिर (बसपार्कतिर) ध्यान जाँदैन । उसैको (नगर प्रमुखको) कारणले ढिलाइ भएको हो”–धरान २ का वडाध्यक्ष रमेश राईले फोनसम्पर्कमा भने । 

बसपार्क २०८१ असार ३० गते सम्पन्न भएको थियो । २० करोड १८ लाख ४६ हजार एक सय ३१ रुपैयाँ ७० पैसाको लागतमा निर्माण सम्पन्न भएको टर्मिनलसहितको बसपार्क ठेक्का एमएस बीकोल–गीताञ्जली जेभी दुहबी सुनसरीले पाएको थियो । २०७८ असार ३० गते ठेक्का लागेको थियो । यातायात व्यवसायी सरोज श्रेष्ठले स्थानीय सरकारको कमजोरीकै कारणले गर्दा सञ्चालनमा ढिलाइ भएको दाबी गरे । उनले भने, “सञ्चालनमा नआउनु स्थानीय सरकारले नै चासो नदिएकोले हो । यो–यो कुरा भएको छैन भनेर हामीले भनिदिएकै हो” उनले भने, “समिति बनाएर अध्ययन गर्ने भन्यो । पछि मेयरले भ्याएन ।” 

तर, यो कुरालाई चिर्दै राजश्व महाशाखा अधिकृत खगेन्द्रप्रसाद खतिवडा भन्छन्, “नगरले इनिसिएसन लिएको होइन भन्ने मलाई लाग्दैन । बन्न समय लाग्यो । बनिसकेपछि ठेक्का नलागेर ढिला भएको हो ।” यातायात व्यवसायी श्रेष्ठका अनुसार धरानमा लामो दूरीदेखि छोटो दूरीसम्मको सवारी साधनहरू सञ्चालनमा रहेकाले सबै तयारी गरेर मात्रै सञ्चालनमा ल्याउनका लागि आफूहरूले सुझाव दिँदै आएका छौँ । “लामो दूरी, छोटो दूरी, माइक्रो, टेम्पो कहाँ राख्ने भन्ने विषयमा राम्रै तयारी गर्नुपर्छ” उनले भने, “त्यो तयारी गरिएको देखिँदैन । यसो हेर्दा तुरुन्तै सारिहाल्न नखोजेको जस्तो देखिन्छ ।”

बसपार्क निर्माण सम्पन्न भएको करिब डेढ वर्षपश्चात् मात्रै बसपार्क सञ्चालनको काम अगाडि बढेको छ । नगर आफैले सञ्चालन गर्ने कि ठेक्कामा दिने भन्ने विषयमा रस्साकस्सी चलेका कारण बसपार्कले गति लिन सकेको थिएन । अन्ततः नगरपालिका ठेक्का लगाउने निर्णयमा पुगेको थियो ।

अन्ततः बसपार्क ठेक्कामा

बसपार्क ठेक्कामा लगाउने विषयमा गत असार ३२ गते बसेको बैठकले निर्णय गरेको थियो । तर, ठेक्का आह्वान भने गत कात्तिक २ गते पहिलो पटक गरिएको थियो । मूल्य अभिवृद्धि करसहित एक करोड ४१ लाख रुपैयाँमा ठेक्का हाल्न आह्वान गरिएको थियो । तर पहिलो पटक गरिएको ठेक्का आह्वानमा कुनै पनि कम्पनीले बोलपत्र हालेनन् ।

“पहिलोचोटि कात्तिक २ गते खुलेको थियो । एक महिने खुलाइएको थियो । ठेक्का परेन । त्यसपछि पन्ध्र दिने खुलाइएको छ । १८ गते सकिँदै छ”–धरान उपमहानगरपालिकाका राजश्व महाशाखाका अधिकृत खतिवडाले भने । उक्त बोलपत्रको एउटा बुँदामा प्रत्येक दुई–दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि गरिने उल्लेख गरिएको छ । मङ्सिर ४ गते दोस्रो पटक बोलपत्र आह्वान गरिएको छ । यहीबीचमा धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकसमेत बसेको थियो । कात्तिक २३ गते बसेको पछिल्लो कार्यपालिकाको बैठकमा बसपार्क सञ्चालन गर्न नगरकै कर्मचारीलाई ‘बसपार्कको व्यावस्थापक’ बनाउने गरी केही नामहरू अगाडि सारिएका थिए । जसमा हाल बसपार्कको जिम्मेवारी पाएका अधिकृत खतिवडालाई नै बस्न आग्रह गरिएको थियो तर उनले आफू रहेको पदबाट राजीनामा दिने मनसाय व्यक्त गरे पछि योजना महाशाखाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठको नाम अगाडि सारिएको थियो ।

तर उनले पनि बस्न इन्कार गरे । त्यसपश्चात् जिम्मेवारी कसलाई दिने भन्ने विषयमा बैठकमा रस्साकस्सी चलेपछि नगर प्रमुखले नै तोक्ने गरी निर्णय भएको थियो । “अध्यक्षहरूलाई दिने कि, कर्मचारीहरूलाई दिने भनेर छलफल गरियो । तर कसैले पनि आँट गरेन । खगेन्द्रलाई पनि भनेको थियो । उसले पनि आँट गरेन । त्यसपछि मेयरले नै जिम्मेवारी तोक्ने गरी निर्णय गरियो”–वडाध्यक्ष रमेश राईले भने । यस विषयमा वरिष्ठ इन्जिनियर श्रेष्ठले फोनसम्पर्कमा भने, “मेरो नाम पनि सिफारिस भएकै हो । यता र उता गर्न सकिँदैन भनेर मैले जिम्मेवारी लिन नखोजेको हो । त्यससम्बन्धी जानकारलाई नै दिनुपर्छ र पूर्णकालीनलाई राख्नुपर्छ भनेर पछाडि हटेको हो ।”

लामो विवादको चङ्गुलमा बसपार्क

धरानमा आधुनिक बसपार्कको थालनी २०५६ पश्चात् सुरु भएको थियो । तत्कालीन समयमा नगर प्रमुखको जिम्मेवारीमा मनोजकुमार मेन्याङ्बो रहेका थिए । मेन्याङ्बोको पालादेखि सुरु भएको बसपार्कको काम हर्क साम्पाङको पालामा सम्पन्न भएको हो । बीचको समयमा सुन्दरबस्ती परियोजनाको नाममा धरान उपमहानगरपालिकाका कर्मचारीहरूले नै फटाइँ गरेपछि जग्गादाताहरू रुष्ट बनेका थिए । त्यसपश्चात् सुन्दरबस्ती परियोजना विवादमा तानिएको थियो । उक्त विवादकै कारणले गर्दा लामो समय रोकिएको थियो भने २०७४ सालमा तारा सुब्बाको नेतृत्वकालमा केही सार्थक प्रयासहरू सुरु भएका थिए भने उनको निधनपश्चात् उपप्रमुख मञ्जु भण्डारी सुवेदीले पहलकदमी गरेकी थिइन् । 

वडाध्यक्षको आफ्नै अडान

हाल बसपार्क धरानको मुख्य चोक भानुचोकमा रहेको छ । भानुचोकमा बसपार्कका लागि उपयुक्त नभएको निष्कर्षसहित आधुनिक बसपार्क निर्माण सुरु भएको थियो । हाल भानुचोक क्षेत्र धरान–२ मा पर्छ । वडाध्यक्ष रमेश राईले हाल सञ्चालित भानुचोकलाई पनि व्यवस्थित गर्ने तरिकाले मात्रै बसपार्क सारिनुपर्ने अडान लिँदै आएका छन् । उनले कात्तिक २३ गतेको कार्यपालिका बैठकमा पनि उक्त कुरालाई दोहो¥याए । 

“बसपार्क सर्ने कुराको विषयमा म आफै उठेर बैठकमा आफ्नो कुरा राखेँ” उनले भने, “ठेक्का दिए पनि जे गरे पनि जसो गरे पनि दुई नम्बर वडामा बसपार्क छ । यो चिज तल लाँदाखेरि यहाँ कुन कुन चिज रहनु प¥यो त ? भानुचोक पनि धनकुटा जस्तो हुनु भएन ।” उनले आफूले पूर्णरूपमा उता जानु हुँदैन भन्ने भनाइ नरहेको बताए । “के के कुरा राख्ने र कुन कुन कुरा लाने भन्ने छलफल हुनुपर्छ भन्ने मेरो अडान हो” –उनले भने । 

तर कतिपय यातायात व्यवसायीहरूले भानुचोकमा आधा र तल आधा लाँदा सुविधासम्पन्न आधुनिक बसपार्क खण्डहरमा परिणत हुने दाबी गर्छन् । यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोशी प्रदेश संयोजकसमेत रहेका व्यवसायी सरोज श्रेष्ठ भन्छन्, “तलमाथि गर्दा तलको बसपार्कमा को मान्छे चाहिँ जान्छ ? बनेको संरचना पनि खण्डहर बन्छ । हाम्रो कुरा चाहिँ बसपार्क तल लानुपर्छ र  नगर बस सञ्चालन गर्नुपर्छ ।”