भद्रपुर । बिर्तामोडबाट प्रहरीले ठूलो मात्रामा राजश्व छलीको सामान बरामद गरेको छ ।

बुधबार दिउँसो अन्दाजी २ बजे बिर्तामोड–९ स्थित धौलापुलमा प्रहरीले तीनवटा गाडीमा अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर प्रविण श्रेष्ठको नेतृत्वको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट भद्रपुरतर्फ जाँदै गरेको मे १ च ६८९२, प्र १–०१–००१ च ७५२४ र मे १ च ४०४५ नम्बरको गाडीमा ठूलो मात्रामा राजश्व छली गरि लैजाँदै गरेको सामान फेला पारेको जिल्लाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

ती गाडीबाट प्रहरीले बच्चाको डाइपर ४१ काटुन, इन्चान्टर लेखिएको कस्मेटिक सामान १९ काटुन, चुलबुल लेखिएको रक्सी २ सय काटुन, गोर्खा बियर १५० काटुन, ओरियो विस्कुट १६ काटुन र सेलो, विकुल लेखिएको खानेतेल ८० काटुन बरामद गरेको डिएसपी खड्काले बताए ।

सामानसँगै गाडी चालकहरु अर्जुनधारा नगरपालिका ११ का ४३ वर्षीय दिलिप खड्का, अर्जुनधारा ५ का ५४ वर्षीय राजाराम खड्का र भद्रपुर १ का ४७ वर्षीय उदेन राईलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि राजश्व कार्यालय इटहरीमा बुझाएको उनले जनाए ।