सुनसरी । कोसी गाउँपालिका–७ हरिपुरस्थित सुकुम्बासी बस्तीका दीपक मुखिया दैनिकजसो कोसी कटानक्षेत्रमा कहिले निगुरो त कहिले माछा बेचिरहेका देखिन्छन् । १२ वर्ष उमेर बताउने उनी हरिपुरस्थित रहेको कोसी जनता माविमा कक्षा ५ मा अध्ययनरत छन् ।

निगुरो टिपेर राजमार्ग क्षेत्रमा ग्राहक कुरेर  दीपकसँगै भेटिएका अन्दाजी ९–१० वर्षका राजन सदा र  ललन मुखिया पनि आरक्ष क्षेत्रमा कहिले निगुरो टिप्न त कहिले माछा मार्न बिहानैदेखि घुमिरहेका हुन्छन् ।

दिउँसो विद्यालयमा पढ्ने समयमा उनीहरू निगुरो खोज्दै हिँड्ने गर्छन् । गाउँकै विद्यालय पढ्ने उमेरका साथीहरूसँग कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा दीपक, राजन, ललनजस्ता कयौं बालबालिकाको दिनचर्या बित्ने गर्दछ ।

बिहानै घरबाट हिँड्ने उनीहरू दिनभर निगुरो टिप्ने र साँझपरेपछि राजमार्ग क्षेत्रमा बेच्ने गर्छन् । दिनभर टिपेको निगुरो उनीहरूले प्रतिमुठ्ठा १० देखि २० रुपैयाँका दरले बेच्ने गरेका छन् । निगुरो बिक्री गरेबापत एकजनाले ८० देखि १ सय २० रुपैयाँसम्म कमाउने गर्छन् ।

उनीहरूले टिपेर राखेको निगुरो राजमार्गमा ओहोर–दोहोर गर्ने यात्रुहरूले किन्ने गरेका छन् । गरिबीका कारण खासगरी दलित वा निम्नवर्गीय समुदायका बालबालिकाहरू घरखर्च जोहो गर्न भन्दै पढ्ने समयमा निगुरो टिप्ने गरेको हरिपुरका सुरेन्द्र पाठकले जानकारी दिए ।

‘सुकुम्बासी बस्तीमा बसोबास गर्ने दलित समुदायको मुख्य पेशा भनेकै मजदुरी हो’ उनले भने, ‘अभिभावकले मजदुरी गरेबापत मात्रै पनि परिवार गुजारा चलाउन मुस्किल हुने गरेको छ । अभिभावकले  विद्यालयमा बालबालिका नाम लेखाइदिने गरे पनि विद्यालय पठाउँदैनन्, बरू आफूसँगै कहिले माछा मार्न लान्छन् त कहिले निगुरो टिप्न पठाउने गर्छन् ।’

आर्थिकस्तर कमजोर भएका दलित समुदायका बालबालिकाको तथ्याङ्क सरकारी विद्यालयसँग भए पनि पढ्न भने नजाने गरेको बताउँदै उनले भने, ‘घरछेउमै विद्यालय भए पनि उनीहरू पढ्न जाँदैनन्, बरू अभिभावकसँगै काम खोज्दै हिँड्ने गर्छन् ।

आर्थिकस्तर कमजोर हुनुका साथै पारिवारिक कलहका कारण चाहेर पनि कतिपय दलित बालबालिकाले पढाइलाई निरन्तरता दिन  नपाएको पाठकको बुझाइ छ । दलित समुदायका अधिकांश बालबालिकाले पढ्दापढ्दै बीचमै विद्यालय छाड्ने गरेका छन् ।

बालबालिकालाई विद्यालय भर्ना गरिदिने गरे पनि उनीहरूलाई निरन्तर विद्यालय पठाउन अभिभावकले चासो नदिएको कोसी गाउँपालिका–७ का वडाध्यक्ष रामचन्द्र महतो कोइरीले बताए । ‘विद्यालयमा भर्ना गरिदिएपछि बालबालिकालाई पढ्न पठाउनुपर्छ भन्ने चेतनाको अभाव देखिएको छ’ उनले भने, ‘स्थानीय जनप्रतिनिधिको सक्रियताले पहिलाको भन्दा केही सुधार आएको छ ।’

घरपरिवारमा कमाउने व्यक्ति नहुँदा पढ्ने उमेरमा बालबालिका काम गर्न जाने गरेको वडा सदस्य पार्वती मुखिया बताउँछिन् । ‘धेरै बालबालिकाका अभिभावक मजदुरी गर्न बाहिर गएका छन्’ उनले भनिन्, ‘एक छाक खाएपछि अर्को छाक के खाने भन्ने यहाँका दलित समुदायको अवस्था छ, त्यसैले घरखर्च जोड्न कोही बीचमै पढाइ छाड्छन् भने कोही पढ्दापढ्दै पैसा कमाउनेतिर लाग्छन् ।’

सानैउमेरमा पैसाको प्रलोभनमा फस्दा बालबालिका विद्यालयबाट टाढा हुँदै गएको बताउँदै कोसी मावि हरिपुरका प्रअ मोहन यादवले भने, ‘घरखर्चको लागि वा अरू जेसुकैका लागि भए पनि पढाइ छाडेर दैनिक १ सयदेखि १ सय ५० रुपैयाँ कमाए पनि उनीहरूको भविष्य खराब भइरहेको बारे अभिभावक समयमै सचेत हुनुपर्ने आवश्यकता छ ।’

कोसी मावि हरिपुरमा १ सय ५० को हाराहारीमा दलित बालबालिका अध्ययनरत रहेको विद्यालयले जनाएको छ । तीमध्ये ६० देखि ८० प्रतिशत बालबालिका कोही माछा मार्न, निगुरो टिप्न, काठ दाउरा वा मजदुरी गर्ने जाने गरेका कारण विद्यालय नजाने गरेको स्थानीय शङ्कर यादवले बताए ।

विभिन्न कारण देखाउँदै दलित समुदायका बालबालिकाले विद्यालय छाड्नु चिन्ताको विषय भएको उनको भनाइ छ । यता कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले आफू निर्वाचित भएपछि शिक्षा क्षेत्र सुधार गर्नमा केन्द्रित भएका कारण पहिलाको तुलनामा शिक्षाको स्तरका साथै विद्यालयमा बालबालिकाको पहुँच बढेको बताएका छन् ।