विजयपुर । सुनसरी ऐतिहासिक तथा धार्मिक तीर्थस्थल सुनसरीको धरानस्थित श्री पिण्डेश्वर महादेव (बाबा) को मन्दिरमा यस वर्ष भव्य रूपमा ‘दोस्रो पिण्डेश्वर रथ यात्रा’ तथा रथोत्सव आयोजना हुने भएको छ। पिण्डेश्वर बाबाधाम समिति र श्री पिण्डेश्वर महादेव मन्दिरको आयोजनामा आगामी २०८२ चैत्र ५ गतेदेखि चैत्र १९ गतेसम्म विभिन्न धार्मिक कार्यक्रमहरू सञ्चालन हुन लागेका हुन्।


रुद्राक्षारण्य महात्म्यमा उल्लेख भएअनुसार पौराणिक र ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै यो महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।


महोत्सव अवधिभर दैनिक रुद्री पूजा र भजन कीर्तनका साथै विशेष रथ यात्राहरू सञ्चालन हुनेछन्:

रथयात्रा चैत्र ५ गते बिहीबार देखि प्रारम्भ हुनेछ । रथ यात्रा दन्तकाली, पञ्चकन्या, बुढासुब्बा मन्दिर हुँदै पिण्डेश्वरसम्म पुग्नेछ ।


कार्यक्रम तालिका अनुसार चैत्र ५ देखि १९ गतेसम्म बिहान ९:०० बजेदेखि दैनिक रुद्री पूजा आयोजन हुनेछ । 

:चैत्र ५ देखि १९ गतेसम्म बेलुका ७:३० बजेदेखि दैनिक भजन कीर्तन हुनेछ ।


भक्तजनहरूको विशेष सहभागिता रहने गरी दुई दिन विशेष रथ यात्राको रुट तय गरिएको छ । चैत्र १२ गते बिहीबार दन्तकाली मन्दिर, धरान-१४ बाट र चैत्र १३ गते शुक्रबार बुढासुब्बा मन्दिर, धरान-१४ बाट पिण्डेश्वरसम्म रथा यात्रा गरिने छ ।


रथ यात्रा चैत्र १९ गते धरान बजार परिक्रमा गरी रथयात्राको विधिवत् समापन गरिने आयोजना गरिने छ ।


यस महोत्सवलाई धरान उपमहानगरपालिका १४ नं. वडा कार्यालयले संरक्षण गरेको छ भने बुढासुब्बा मन्दिर सम्भार एवं संरक्षण परिषद्, दन्तकाली मन्दिर व्यवस्थापन समिति र पञ्चकन्या मन्दिर व्यवस्थापन समितिले सहयोगी संस्थाका रूपमा सहकार्य गरेका छन् ।

आयोजकले यस गरिमामय धार्मिक अनुष्ठानमा उपस्थित भई धर्म लाभ लिन सम्पूर्ण भक्तजनहरूमा 'सादर निमन्त्रणा' समेत गरेको छ। यो कार्यक्रमले 'कोशी प्रदेश भ्रमण वर्ष २०८१' लाई सफल पार्न समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ ।