धरानमा सडक कुकुर संरक्षण गर्न यस्तो किशोर दस्ता बनेको छ, जसले सडक कुकुरलाई दैनिक अन्न, स्वास्थ्योपचार र संरक्षणमा ध्यान दिने गरेको छ ।
धरान । ‘आकिनियमी’ शब्दको अर्थ हुन्छ, आगोजस्ता योद्धा । अफ्रिकन शब्द ‘आकिनियमी’ बाटै धरानका किशोरको समूहले नाम जुराउँदै १ सय ५० दिनदेखि ‘सडक कुकुर’ को संरक्षण गर्दै आइरहेको छ । ती सडक कुकुर संरक्षणका योद्धा हुन् ।
जहाँ करिब ५० जना १६ देखि २१ वर्ष उमेर समूहका किशोरकिशोरी छन् । उक्त समूह रहेक दिन सडक कुकुरलाई खाना खुवाउने, स्वास्थ्योपचार र संरक्षण गर्ने गर्छ । ‘आकिनियमी धरान’ का सदस्य रुसल श्रेष्ठ भन्छन्, ‘१ सय ५० दिनदेखि हामी नियमित सडक कुकुरलाई खाना खुवाउँदै आइरहेका छौं ।’
बिरामी र घाइते भएका कुकुरलाई भने ‘रेस्क्यु’ गरी उपचार गर्दै आइरहेका छन् । धरान–१६ को नौलो बस्तीमा दुईवटा कुकुरको उपचार गरिरहेको उनी बताउँछन् । सडक कुकुरलाई हेर्ने दृष्टिकोण फरक पाएपछि डिपो माविमा अध्ययनरत रुसलले आफूजस्तै किशोरको समूह भेला पारे ।
उक्त समूहमा एञ्जल श्रेष्ठ, आविष्कार राई, आकृति शाक्य, प्रतीक सुब्बा, सञ्जोग श्रेष्ठ, ऐना श्रेष्ठ थिए । जो अहिले पनि सक्रिय छन् । समिर श्रेष्ठ जसले कुकुरका लागि खाना पकाउनमा सदैव सहयोग गर्दै आइरहेका छन् ।
‘करिब ५० मेम्बर भए पनि १५–२० जना एक्टिभ छौं, सातामा एकजना सहयोगीसहित १४ जना खटिन्छौं, साँझबिहान खाना दिने गरेका छौं’ रुसल भन्छन्, ‘मान्छेले कुकुरको महत्व बुझेको छैन, अझ सडक कुकुरलाई त लात्तले हान्ने, ढुङ्गाले हान्ने गर्छन् । त्यो राम्रो होइन ।’ सडक कुकुरप्रतिको दृष्टिकोण परिवर्तन गर्नकै लागि आकिनियमी धरान गठन गर्दै संरक्षणमा जुटेको उनी बताउँछन् ।
१ सय ५० दिनको बीचमा समूहले रेविजको खोप, कुकुरको घाँटीमा रिफ्लेक्सन बेल्ट (अँध्यारोमा चम्किने पेटी) बाँध्ने काम गरिसकेको छ । सडक कुकुरलाई राख्नका लागि आवास गृहको पनि अवधारणा ल्याएका छन् तर, जग्गा नभएका कारण अहिले पनि आवास गृहको योजना थाती छ ।
कक्षा १२ उत्तीर्ण १७ वर्षीय रुसलको समूह ‘कुकुर मन पराउनेको समूह’ हो । उक्त समूहले सामाजिक सञ्जाल तथा युट्युबहरूमा सडक कुकुर मारेको देखेपछि धरानमा चाहिँ उक्त कार्यलाई रोक्न सकिन्छ कि भनेर ‘फुड बैङ्क र वाटर बैङ्क’ स्थापना गर्दै कुकुरलाई खाना खुवाउन थालेको हो । आफ्नो समूह र आफ्नो स्कुलबाट रकम सङ्कलन गरी कुकुरलाई खाना खुवाउने अभियान सुरु गरेको उनी बताउँछन् । उनीहरूले रेस्क्यु डग पेज बनाएर त्यहीँबाट पोष्ट गर्दै गएका थिए ।
उक्त कुरा देखेपछि मानिसहरू र आफ्ना आफन्तले सहयोग गर्दै गए । सुरुवाती क्षणमा उनीहरूले समूहको कुनै नाम थिएन । धरानको भानुचौक, धरान–१५ को सदन रोड र धरान–१९ को डेण्टल गेटबाट कुकुरलाई खाना खुवाउने अभियान सुरु गरे । त्यही अभियान अहिले दैनिक ४ जना धरान उपमहानगरपालिकाको गेट हुँदै विभिन्न क्षेत्र र धरान–१५ का बस्ती हुँदै धरान–१९ सम्म पुगेर सडक कुकुरलाई खाना खुवाउने गरेको छ ।
१ सय ५० दिनको बीचमा समूहले रेविजको खोप, कुकुरको घाँटीमा रिफ्लेक्सन बेल्ट (अँध्यारोमा चम्किने पेटी) बाँध्ने काम गरिसकेको छ । सडक कुकुरलाई राख्नका लागि आवास गृहको पनि अवधारणा ल्याएका छन् तर, जग्गा नभएका कारण अहिले पनि आवास गृहको योजना थाती छ ।
‘धरानबाहिरकाले धरानलाई युजर्सहरूको सहरको रूपमा बुझ्छन् हैन, तर धरानमा पनि यस्ता किशोर समूह पनि छन् भन्ने सन्देश जाओस्, हाम्रो धरानमा यस्तो पनि छ भन्ने होस् भन्ने लाग्छ नि त’–रुसलले भने । ५ महिनाको बीचमा उनीहरूले धरान–१ को अपाङ्ग पुनस्र्थापना गृहमा आश्रितहरूलाई पनि खाना खुवाएका थिए ।
‘हाम्रो उद्देश्य कुकुरलाई मात्रै हैन, मानवताका लागि कार्यक्रम गर्ने हो’ उनले भने, ‘मानवता भनिसकेपछि त मान्छेहरू पनि परिहाल्छन् नि ।’ समूहले कुकुरसम्बन्धी सचेतनासमेत फैलाउने काम गर्ने योजना बनाएको छ । कुकुरलाई ढुङ्गाले हान्नुहुँदैन, लात्ती हान्नु हुँदैन भन्ने कुरा पनि मानिसहरूलाई सिकाउन जरुरी देखिएको उनी बताउँछन् ।
‘मान्छेहरूले ढुङ्गा र लात्तले हान्छन् हैन, कुकुर भनेर हेप्छन्, त्यस्तो गरेको मलाई चाहिँ पटक्कै मन पर्दैन’ उनी भन्छन्, ‘कुकुरलाई एक दिन खाना दियो भने उसले मान्छे चिन्छ हैन, तर मान्छेलाई खाना दियौं भने उसले भोलि भुल्छ ।’
समूह सञ्चालन गर्ने बेलामा उनीहरूमा मान्छेलाई सहयोग गर्ने सोच नआएको होइन तर, मान्छेले त मागेर पनि खान सक्छन्, कुकुरले त मागेर खान सक्दैन भन्ने लागेर कुकुरको सेवामा खटिएको समूहको भनाइ छ । अहिले किशोरको दस्ता अफ्रिकन शब्द ‘आकिनियमी’ जस्तै छ, जसले १ सय ५० देखि २ सय सडक कुकुरको रक्षाका लागि दैनिक अन्न, स्वास्थ्योपचार र संरक्षण गरिरहेको छ ।