बेलबारी। आफ्नै मृत्युदर्ताको प्रमाण–पत्र बोकेर लामो समयदेखि सरकारी कार्यालय धाइरहेका मोरङका सुभाष तामाङले बल्ल नागरिकता पाएका छन् ।

जीवितै व्यक्तिको मृत्युदर्ता भएपछि उनलाई समस्या भएको थियो । मृत्युदर्ता भएको ६ वर्षपछि मोरङको बेलबारी–११ लक्ष्मीमार्गका तामाङले मोरङ जिल्ला प्रशासन कार्यालयबाट बिहीबार नागरिकता पाएका छन् । सरकारी अभिलेखमा मृतकको सूचीमा रहेका सुभाष हातमा आफ्नै मृत्युदर्ताको प्रमाण–पत्र बोकेर पुनः नागरिकता दिलाइपाऊँ भन्दै चार वर्षदेखि जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न सरकारी निकाय धाइरहेका थिए । उनको समस्याका विषयमा ब्लाष्ट टाइम्स दैनिकमा समेत पटक–पटक समाचार प्रकाशन भएको थियो ।

बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सुभाषलाई नागरिकता प्रदान गरेका हुन् । भोजपुरको षडानन्द नगरपालिका–२ पुख्र्याैली घर भएका तामाङ २०७१ सालमा साउदी अरबको एक कम्पनीमा रोजगारीका लागि गएका थिए । २०७२ असार २४ गते दुर्घटना भएपछि उनको मृत्यु भएको भन्दै कम्पनीले शव पठाएको थियो । कम्पनीले शव पठाएपछि उनको परिवारले दाहसंस्कार गरी मृत्युदर्ता समेत गरेको थियो ।

२०७२ साउन ६ गते तामाङको षडानन्द नगरपालिका–२ मा मृत्यु दर्ता भएको थियो । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बसाइँ सरेका तामाङले आफ्नो मृत्यु दर्ता खारेज गरिदिन माग गर्दै वडा कार्यालयदेखि जिल्ला प्रशासनसम्म पटक–पटक धाए । तर, नागरिकता पाउन सकेका थिएनन् । बिहीबार नयाँ नागरिकता पाएपछि उनले पुनर्जीवन पाएको अनुभव भएको बताए । सुवाष भन्छन्, ‘नागरिकता पाउँदा धेरै खुसी छु, मलाई सहयोग गर्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद ।’ नागरिकता दिँदै प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘सुभाष ६ महिनाअघि आउनुभएको थियो, त्यसपछि हराउनुभयो । मैले यो विषयलाई गम्भीरताका साथ लिएर उहाँलाई बोलाएको हुँ ।’

सुभाष साउदीको हुण्डाइ कम्पनीमा काम गर्ने सम्झौतामा विदेश गएका थिए । काम गरे बापतको तलब भने उनले बैङ्कमार्फत् पाउने गरेका थिए । आफू बसेको ठाँउबाट बैङ्कसम्म पुग्न समय लाग्थ्यो । तलब लिएर फर्कने क्रममा २०७२ असार २४ गते दुर्घटना भयो । दुर्घटनामा तीन जनाको मृत्यु भयो भने दुई जना गम्भीर घाइते भए । सुभाष र अर्का साथी गम्भीर घाइते भएर अस्पताल भर्ना गएका थिए । उनीसँगै भर्ना भएका साथीको पनि मृत्यु भयो ।

तर, कम्पनीका मान्छेले सुभाषको मृत्यु भएको ठानेर साउदीमै रहेका आफन्तलाई जानकारी गराए । आफन्तले परिवारलाई सुवाषको मृत्यु भएको खबर दिए ।घटनाको १५ दिनपछि साउदीबाट शव पनि नेपाल पठाइयो । सुभाषकी श्रीमती सन्तोषी र बुबा हर्कबहादुर काठमाडौं पुगेर शव ल्याई तामाङ रीतिरिवाज अनुसार बेलबारीमा दाहसंस्कार पनि गरे । परिवार शोकमा डुब्यो ।

तर, केही महिनापछि साउदीबाट अचम्मको खबर आयो । सुभाष त अस्पतालमा जीवितै रहेछन् । मृत्यु भइसकेको ठानेर दाहसंस्कार पनि गरिसकेका आफ्ना श्रीमान्को आवाज सुन्दा सन्तोषीलाई सपनाजस्तै लाग्यो । सन्तोषी भन्छिन्, ‘खबर सुनेर अनुहारमा केही छिन हाँसो त थपियो तर, दाहसंस्कार गरेको शव कसको थियो ? भन्ने चिन्ता भयो ।’

सुवाष भनेर दाहासंस्कार गरेका व्यक्ति भने बाग्लुङका टेकेन्द्र भण्डारी थिए ।  एउटै कम्पनीमा काम गर्ने ४ जना तथा ट्याक्सी ड्राइभर १ जना गरी ५ जना गाडीमा गएका थिए । ‘रातको करिब १ बजेको थियो होला, हामी कोठातिर आउँदै थियौँ’ सुवाषले भने, ‘बाटोमा गाडी दुर्घटनामा परेछ मेरो होस आउँदा म अस्पतालमा थिएँ । हामी ५ जना गाडीमा गएकोमा म मात्रै बाचेँछु ।’

यसरी बाँचेर फर्किएका उनको मृत्यु दर्ता भइसकेका कारण समस्या भएको थियो । मृत्यु दर्ता रद्द गरेर नयाँ नागरिकता पाएपछि अब उनमा फेरि केही गर्ने आशा पलाएको छ ।