विजयपुर । लामो समयको खडेरीपछि परेको हिउँदे बर्षाले भोजपुरका किसान खुसी भएका छन् ।
समयमै पानी नपर्दा बाली सुक्ने चिन्तामा रहेका किसान बर्षासँगै राहत महसुस गर्न थालेका हुन् । विशेषगरी गहुँ, मकै, आलु तथा विभिन्न तरकारी बालीका लागि बर्षा अत्यन्तै उपयोगी बनेको टेम्केमैयुङ–५ का स्थानीय किसान अडिबहादुर विष्टले बताए । खडेरीका कारण हिउँदे बाली सुक्दै गएको अवस्थामा बर्सा भएपछि किसानमा नयाँ आशा पलाएको उनले बताए । ‘लामो समयको खडेरीका कारण हिउँदे बाली सुक्ने अवस्थामा पुगेको थियो’ उनले भने, ‘बर्सा भएपछि हामी किसान निकै खुसी भएका छौँ । अब बाली सप्रिन्छ भन्ने आशा बढेको छ ।’
खेतबारीमा चिस्यान अभावका कारण ओइलिन थालेका बाली बर्सापछि पुनः हरियाली देखिन थालेका छन् । यसले उत्पादनमा वृद्धि हुने अपेक्षा किसानले गरेका छन् । सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसानका लागि त यो बर्सा झन् राहत बनेको छ ।
स्थानीय किसानका अनुसार बर्साअघि माटो अत्यधिक सुक्खा हुँदा बालीको वृद्धि प्रक्रिया प्रभावित बनेको थियो । तर, बर्साले माटोमा आवश्यक चिस्यान उपलब्ध गराएपछि बालीको वृद्धि पुनः सक्रिय भएको छ । यसले उत्पादन मात्र नभई बालीको गुणस्तरमा समेत सुधार आउने विश्वास किसानले व्यक्त गरेका छन् । मकै छर्ने 'सिजन'मा पानी परेपछि किसानलाई थप सहजता भएको छ ।रासस






























