धरान । धरानस्थित पिण्डेश्वर मन्दिरमा ‘दोस्रो पिण्डेश्वर रथोत्सव’ सुरु भएको छ ।
पिण्डेश्वर बाबाधाम समिति र पिण्डेश्वर महादेव मन्दिरको आयोजनामा यही चैत १९ गतेसम्म विभिन्न धार्मिक कार्यक्रमहरू गरिने भएको हो ।
रथोत्सवमा कोशी प्रदेशको संस्थापक सभामुख प्रदिप भण्डारी, पूर्व प्रतिनिधिसभा सदस्य जयकुमार राई, धरान उमपहानगरपालिका १४ नं. वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो । पौराणिक र ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै यो महोत्सव आयोजना गरिएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले जानकारी दिए ।
उनका अनुसार महोत्सव अवधिभर दैनिक रुद्री पूजा र भजन कीर्तनका साथै विशेष रथयात्राहरू सञ्चालन हुनेछन् । बिहीबार रथयात्रा दन्तकाली, पञ्चकन्या, बूढासुब्बा मन्दिर हुँदै पिण्डेश्वरसम्म परिक्रम गरिएको थियो । चैत १२ र १३ गते पनि मन्दिर परिक्रममा गराइनेछ ।
रथयात्राको अन्तिम दिन चैत १९ गते भने बजार परिक्रमा गरी शिवजट्टामा लगेर विसर्जन गरिने अध्यक्ष वनेपालीले जानकारी दिए ।































