विजयपुर । कोशीका अस्पतालमा रगतको अभाव भएको छ । रगत अभाव हुँदा बिरामीहरू आफैँ रगत खोज्न बाध्य बनेका छन् ।

मोरङको सुन्दरहरैचाका ५२ वर्षीय रमेश थापालाई आफन्तको आकस्मिक शल्यक्रियाका लागि ‘एबी पोजेटिभ’ रगत आवश्यक पर्‍यो । चिकित्सकले तत्काल रगतको खोजी गर्न भने । सोही अनुसार रक्तसञ्चार केन्द्रमा सम्पर्क गर्दा रगत नभएपछि उनले अन्तै रगत खोज्न थाले ।

‘चिकित्सकले तुरुन्तै रगत चाहिन्छ भन्नुभयो, तर रक्तसञ्चार सेवा केन्द्रमा रगत अभाव छ भन्ने जानकारी पाएँ’ उनले भने, ‘हामीले सामाजिक सञ्जाल फेसबुकमा रगतको व्यवस्थापनका लागि सन्देश हाल्यौँ । साथीभाइलाई फोन गर्‍यौँ, तर समयमा रगत पाउन निकै गाह्रो भयो । उक्त समयमा हामीलाई सबैभन्दा ठूलो डर बिरामीको ज्यानको छ ।’ कोशी अस्पतालमा उपचारका लागि आउनुभएका अर्का एक बिरामीका आफन्तले पनि यस्तै समस्या सुनाए । ‘अस्पतालमा रगतको व्यवस्था होला भन्ने सोचेका थियौँ’ उनले भने, ‘तर अन्तिममा आफैँले खोज्नुपर्दा निकै अप्ठ्यारो भयो । यस्तो अवस्थामा बिरामीको परिवार झन् मानसिक दबाबमा पर्ने रहेछ ।’ रमेशको जस्तै अवस्था अहिले कोशी प्रदेशका प्रमुख अस्पतालहरूमा उपचार गराइरहेका सयौँ बिरामीका परिवारले भोगिरहेका छन् । आकस्मिक उपचारका लागि आवश्यक रगत सहज रूपमा उपलब्ध नहुँदा बिरामीका आफन्त आफैँ रक्तदाता खोज्न बाध्य छन् ।

रगत अभावको समस्या पछिल्लो समय झन् गम्भीर बन्दै गएको छ । आकस्मिक शल्यक्रिया, दुर्घटना तथा प्रसूतिजस्ता अवस्थामा तत्काल रगत आवश्यक पर्ने हुँदा समयमा उपलब्ध नहुँदा बिरामीको ज्यान जोखिममा पर्ने चिकित्सकहरू बताउँछन् । कोशी प्रदेशका सरकारी तथा निजी अस्पतालमा आवश्यक परिमाणमा रगत उपलब्ध नहुँदा आकस्मिक अवस्थामा बिरामीका आफन्त आफैँ रक्तदाता खोज्न सडक र ‘फेसबुक’का भित्ताहरूमा निस्कनुपर्ने अवस्था दिनप्रतिदिन बढ्दै गएको छ । रगत व्यवस्थापनको यो चुनौती अहिले गम्भीर समस्याका रूपमा देखिएको हाम्रो अस्पताल विराटनगरका सञ्चालकसमेत रहनुभएका निजी अस्पताल एसोसिएसन (अफिन) का अध्यक्ष डा शङ्करप्रसाद अधिकारीले बताए ।

उनका अनुसार रक्तसञ्चार सेवा केन्द्रहरूमा रगतको पर्याप्त भण्डारण (स्टोरेज) नहुँदा अस्पतालहरूले आकस्मिक बाहेकका बिरामीका आफन्तलाई आफैँ रगत व्यवस्थापन गर्न वा साट्न (एक्सचेन्ज) आग्रह गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो ।

‘अहिलेको अवस्थामा अस्पतालहरूले ‘सब्स्टिच्युट’ वा साटासाटको अवधारणा अपनाउनुपरेको छ’ डा. अधिकारीले भने, ‘यदि बिरामीलाई चाहिएको निश्चित समूहको रगत उपलब्ध छैन भने, अर्को कुनै पनि समूहको रगत दिएर साट्न सकिने व्यवस्था मिलाइएको छ ताकि रगतकै अभावमा उपचार नरोकिने वातावरण बनोस् ।’

बिरामीका आफन्तले रगत व्यवस्थापन गर्दा अस्पताल व्यवस्थापनलाई केही सहजता भए पनि सडक दुर्घटना (आरटिए) जस्ता तत्काल रगत चाहिने आकस्मिक अवस्थामा भने अझै पनि ठूलो जोखिम र चुनौती कायम रहेको उनले बताए ।

क्षेत्रीय स्तरमा रगतको केन्द्रीकृत व्यवस्थापन (सेन्ट्रलाइज्ड म्यानेजमेन्ट) हुनुपर्नेमा डा अधिकारीले जोड दिए । धेरैजसो साना अस्पतालहरूमा आफ्नै ‘ब्लड बैङ्क’ नहुने र उनीहरू रेडक्रस, नोबेल वा विराटनगरका ठूला संस्थामा निर्भर रहनुपर्ने बाध्यता छ । ‘सबै साना अस्पतालमा ब्लड बैङ्क राख्दा रगत खपत नभए खेर जाने जोखिम रहन्छ’ उनले भने, ‘एउटै बलियो र केन्द्रीकृत व्यवस्थापन बढी प्रभावकारी हुन्छ ।’

विराटनगरस्थित प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशी अस्पतालमा बिरामीको चापसँगै उपचारमा आउनेले दैनिक रगतको अभावको समस्या भोग्नु परेको स्त्री तथा प्रसूति रोग विभागकी प्रमुख डा अन्जु देवले जानकारी दिइन् । ‘हामीकहाँ प्रसूति र शल्यक्रियाका बिरामीमा रगतको अत्यधिक आवश्यकता हुन्छ ।’ डा देवले भनिन्, ‘अभावका कारण कतिपय अवस्थामा बिरामी भर्ना गर्नुअघि एक पोका रगतको व्यवस्था गर्न लगाउनुपर्ने बाध्यता छ ।’

‘कहिलेकाहीँ निजी अस्पतालहरूले आफ्ना बिरामीलाई प्राथमिकता दिँदा आर्थिक अवस्था कमजोर भएका, पहुँच कम भएका बिरामी मारमा पर्छन् ।’ उनले भनिन् । डा देवले प्रसूति सेवालाई अत्यन्तै संवेदनशील र आकस्मिक सेवा मानिने उल्लेख गर्दै रगतको व्यवस्था समयमै हुन नसके आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्नसक्ने अवस्था पनि आउने बताइन् ।

प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवका अनुसार कोशी प्रदेशमा दैनिक करिब ९०० देखि एक हजार युनिटसम्म रगतको माग हुने गरेको छ । विशेषगरी मोरङ जिल्लाका अस्पतालहरूमा रगतको माग अत्यधिक हुने गरेको उनको भनाइ छ ।

‘प्रदेशकै जेठो र ठूलो सरकारी अस्पताल कोशी अस्पतालमा टाढाका जिल्लाहरू र छिमेकी भारतीय सहरबाट समेत बिरामी उपचारका लागि आउने भएकाले रगतको माग अत्यधिक देखिन्छ’ यादवले भने, ‘त्यसमाथि पनि पछिल्लो समय निर्वाचन जस्ता राजनीतिक गतिविधिमा मानिस केन्द्रित हुँदा नियमित रक्तदान कार्यक्रम ओझेलमा परेका छन्, जसका कारण सङ्कलनमा आएको गिरावटले अभावलाई अझ चर्काएको छ ।’

विराटनगरमा रगतको चरम अभाव देखिएका बेला झापा वा धरान जस्ता छिमेकी सहरबाट रगत मगाएर व्यवस्थापन गर्ने प्रयास गरिएको यादवले बताए । सङ्कलन कम भएकाले कुनै एउटा समूहको मात्र नभई सबै समूहका रगत अभाव हुने जोखिम सधैँ कायम रहने उहाँको भनाइ छ । यस समस्याको दीर्घकालीन समाधानका लागि समाजमा ‘नियमित रक्तदान संस्कृति’ को विकास अपरिहार्य रहेको सरोकार भएकाहरू बताउँछन् । रासस