इनरुवा । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा जिल्लामा पदाधिकारी चयन प्रक्रियाका लागि दौडधुप सुरु भएको छ । केन्द्रीय कार्य समितिले महाधिवेशनको परिमार्जित कार्यतालिका अघि बढाइसकेकाले समेत आकाङ्क्षी उम्मेदवारहरू आफूपायक लाइन क्लियर गर्न दौडधुपमा व्यस्त देखिएका छन् ।
असार २० गते सबै क्रियाशील सदस्यको नामावली पार्टी सभापतिलाई बुझाइसक्नु पर्ने भएकाले यतिबेला जिल्ला तहका अधिकांश नेताहरू केन्द्रीय कार्यालय धाउने क्रममा छन् ।
सदस्यता विवाद समाधान भइनसकेकाले समेत २४ गते सभापतिले सही गरी निर्वाचन समितिलाई बुझाउने सूची सबैको पर्खाइमा छ । क्रियाशील सदस्यता सङ्ख्यामा नयाँ थप हुने हो वा होइन भन्ने विषय खासगरी उम्मेदवारका आकाङ्क्षीका लागि निकै चासोको विषय बनेको छ ।
क्रियाशील सदस्यले वडाबाट क्षेत्रीय प्रतिनिधि चयन गर्ने र क्षेत्रीयबाट चुनिएपश्चात् महाधिवेशन प्रतिनिधि बन्न पाइने काङ्ग्रेसको विधानमा उल्लेख छ । जिल्ला सभापति बन्नको लागि महाधिवेशन प्रतिनिधि अनिवार्य भएकाले समेत क्रियाशील सङ्ख्याको विषय सबैका लागि प्रतिक्षाको घडी बनेको देखिन्छ ।
सुनसरी काङ्ग्रेसमा वर्तमान अवस्थासम्म क्रियाशील सदस्य सङ्ख्या २९ हजार १ सय १३ रहेको छ । सो सङ्ख्या सुनसरीमा रहेका चार वटा निर्वाचन क्षेत्र क र ख समेतको हो । पार्टीको क्षेत्रीय प्रतिनिधि भने २ हजार ८ सय ४ जना रहेका छन्् । जसमा थपघटको सम्भावना छ । जसको जोड घटाउ सुनसरीमा यसअघि बाटै सुरु भइसकेको छ ।
जिल्लाभित्र जोडघटाउ सुरु भइसके पनि पार्टीले अहिलेसम्म आधिकारिक उम्मेदवारको टुङ्गो भने लगाएको छैन् । स्थानीय तहमा सम्भावित उम्मेदवारको चर्चा र परिचर्चा भने सुरु भइसकेको छ । जसकारण समेत सुनसरीको हकमा संस्थापन देउवा र पौडेल पक्षबीच टक्करको सम्भावना बढाएको छ ।
पार्टी सचिव रहेका केदार भण्डारीले सामाजिक सञ्जालमार्फत् सभापति पदको स्वघोषणा गरिसकेका छन् । त्यस्तै पार्टी उपसभापति सञ्जय श्रेष्ठले समेत सामाजिक सञ्जालबाटै आफ्ना निकटमार्फत् उम्मेदवारी घोषणा गराएका छन् ।
श्रेष्ठ देउवा पक्षधर हुन् भने भण्डारी पौडेल खेमा । दुवैले खुलेर सभापतिका लागि आ–आफ्नो दाबेदारी पेश गरे पनि दौडमा भने अन्य केही आकाङ्क्षीसमेत रहेको काङ्गे्रसीहरू बताउँछन् ।
जिल्ला सभापतिको दौडमा सीताराम मेहता, प्रदीप चौधरीसमेतको नाम आइरहेको उनीहरूको बुझाइ छ । मेहता र चौधरीले अझै आफ्नो लाइन क्लियर गरिनसकेको उनीहरूको भनाइ छ । कसलाई जिम्मेवारी सुम्पिने भन्ने विषयमा जिल्लाका नेताबीचको बैठक अझै टुङ्गोमा नपुग्नुले समेत सभापतिका आकाङ्क्षी दुईभन्दा बढी रहेको पुष्टि गर्ने आधारहरू देखापरेको कार्यकर्ताहरूको बुझाइ छ ।
विजयकुमार गच्छदार निकट प्रदीप चौधरी जिल्लाका वरिष्ठ नेता हुन् । उनी गच्छदारको जोडबलका आधारमै भए पनि सभापतिको दौडमै रहेको काङ्ग्रेसीहरू बताउँछन् ।
त्यस्तै सभापति चयनमा जिल्लाभित्र गुटगत समस्या हावी भई उम्मेदवारको टुङ्गो लाग्न नसके वा पार्टीभित्रको आन्तरिक समीकरण मिलाउनु पर्ने अवस्था आएमा सङ्घीय सांसद् रहिसकेका सीताराम मेहताको पल्ला भारी हुनसक्ने समेत आँकलन पार्टीभित्रैका नेताहरूबाटै भइरहेको छ । सुनसरी सभापतिका लागि जिल्लाभित्र दौडधुप सुरु भइरहँदा हेभिवेट नेताको साथ र समर्थनको विषयसमेत यतिबेला चर्चामा छ ।
सुनसरीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने ज्ञानेन्द्र कार्की, विजयकुमार गच्छदार, मीन विश्वकर्मा मात्र नभई हाल जिल्ला पार्टी सभापतिसमेत रहेका प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला र नेविसङ्घ अध्यक्ष राजीव ढुङ्गानाको भूमिका महŒवपूर्ण हुने अधिकांशको ठहर छ । उनीहरूको बुझाइमा भावी सभापतिको उम्मेदवारको हार र जितको फ्याक्टरमा पार्टीभित्र मजबुत पकड मानिएका राजीव कोइरालाको साथ र समर्थन खास हुनेछ । सुनसरीमा यतिबेला सभापति बन्ने दाउमा रहेकाहरूबीच दौडधुप सुरु भए पनि अन्य पदाधिकारीको विषय भने खासै बाहिरिएको छैन । यद्यपि पार्टी सचिवमा भने वेद गच्छदार र वीरेन्द्र साहको नाम चर्चामा रहेको बुझिएको छ ।
१४ औं महाधिवेशन कार्य तालिकाअनुसार साउन १२ गते वडासमितिको अधिवेशन र १६ मा गाउँ र नगर अधिवेशन तथा २० गतेलाई प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन तोकिएको छ । त्यस्तै साउन २३ गते एक निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशनको मिति तोकिँदा २६ गते एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लाको अधिवेशन हुनेछ । त्यसैगरी भदौ १ र २ गते प्रदेश समितिको अधिवेशन र भदौको १६ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशनको कार्य तालिका रहेको छ ।