धरान । एसईई दिएर धेरै विद्यार्थीहरू घरमा छन् । उनीहरूलाई समय बिताउन मुस्किल छ । कतिपय त फर्सदलाई सदुपयोग गर्न नजानेर साथी भाइसँग बरालिएर समयसमेत बर्बाद गरिरहेका छन् ।

तर धरान–४ की चासुम राई बास्केटबल सिकेर समय बिताउँदैछिन् । ‘फुर्सदको समय कसरी सदुपयोग गर्ने होला भनेर चिन्तामा थिएँ । साथी आशा राईले बास्केटबल प्रशिक्षण हँुदैछ भनेपछि दुई हप्तादेखि नियमित धरान रङ्गशालामा आइरहेकी छु’– शनिबार धरान रङ्गशालास्थित कवर्ड हलमा भेटिएकी चासुमले भनिन् ।

उनी सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोग र धरान बास्केटबलले आयोजना गरेको प्रशिक्षणमा सहभागी हुन बिहान ४ः३० बजे घरबाट निस्किन्छिन् । गोर्खा युनाइटेट एकेडेमी धरान–१५ बाट एईई दिएकी चासुम समयको सदुपयोग अनि शारीरिक व्यायाम दुवै हुने भएपछि खुसी भएकी छन् ।

उनी जस्तै नेपाल प्रहरी स्कुल धरानबाट एसईई दिएका धरान–१३ का अभि लिम्बू पनि साथीभाइसँग बरालिन छाडेर बास्केटबल सिकिरहेका छन् । आइडियल बोर्डिङ स्कुल धरान–१४ मा कक्षा १० मा अध्ययनरत नयन बास्तोला, वैभवी मगर र एनी मगर पनि बिहानै बास्केटबल सिकिरहेका हुन्छन् । विद्यालयमा प्रशिक्षणको व्यवस्था नभएपछि बिहान बास्केटबल सिकेर दिउँसो स्कुल भ्याउँदै आएका छन् ।

सङ्घले बास्केटबल ट्यालेन्ट हण्ट कवर्ड हलमा सञ्चालन गरेपछि उनीहरू जस्तै ५० जना विद्यार्थीहरू आजभोलि बिहान झिसमिसेमै आँखा मिच्दै मैदानमा पुग्ने गरेका छन् । सानैदेखि बास्केटबल खेलमा रुचि राख्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिडिएस तेस्रो वर्षमा अध्ययनरत स्याङ्जाकी प्रेमकुमारी थापाले पनि बास्केटबल सिक्दै आएकी छन् ।

उनीहरू धरान उपमहानगरपालिकाको सहयोग र धरान बास्केटबल सङ्घको आयोजनामा सञ्चालन भइरहेको तीनहप्ते बास्केटबल प्रशिक्षणमा सहभागी भएका हुन् । 

सहभागीहरूलाई राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई, कोशी प्रदेश बास्केटबल टिम क्याप्टेन विवेक श्रेष्ठ, राष्ट्रिय महिला खेलाडी डा.आशा राई, युगल लिम्बू, दिवस राई, सुसन श्रेष्ठलगायतले नियमित प्रशिक्षण दिँदै आएका छन् । सङ्घले विगत १० वर्षदेखि प्रशिक्षण दिँदै आएको छ । राष्ट्रिय खेलाडी तथा १३ औं सागको सिल्भर मेडल विजेता डा. आशा राई, हेमन्त राई, राष्ट्रिय खेलाडी वैभव योगी, नवीन मगर, तनु राई, शीतल तामाङ, लियालिसा श्रेष्ठ, विवेक श्रेष्ठ, रवि बास्फोरलगायत यही प्रशिक्षणबाट उत्पादन भएका खेलाडीहरू भएको राष्ट्रिय खेलकुद परिषद्का बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले बताए ।

‘विशेषगरी एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर बास्केटबल प्रशिक्षणको आयोजना गरिएको हो, तर हामीले धरानका विभिन्न स्कुलका विद्यार्थीलाई पनि अवसर दिइरहेका छौँ’ उनले भने, ‘तालिम प्रभावकारीरूपमा सञ्चालन भइरहेको छ । धरानमा ५ सयभन्दा बढी खेलाडी उत्पादन भएका छन् । उनीहरूले विभिन्न विद्यालयहरूमा प्रशिक्षणसमेत दिइरहेका छन् ।’ हरेक वर्ष गरिने बास्केटबल तालिमले बास्केटबलप्रति विद्यार्थीहरूको रुचिलाई बढाउँदै गए पनि बास्केटबलप्रति सरोकारवाला निकाय र सरकारले बेवास्ता गरेको प्रशिक्षक राईको गुनासो छ । 

धरानमा पछिल्लो समय बास्केटबल खेलको क्रेज बढेर गएको छ । झन् ट्यालेन्ट हन्टमा सहभागी उत्कृष्ट विद्यार्थीहरूलाई विद्यार्थीको इच्छाअनुसार धरानका विभिन्न कलेजमा छात्रवृत्ति र स्कुलमा उत्कृष्ट प्रशिक्षार्थीलाई कोचको लागि सिफारिस गरिँदै आएको सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । हरेक वर्ष सङ्घमार्फत् बास्केटबल ट्रेनिङमा सहभागी भई उत्कृष्ट हुने प्रशिक्षार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्दै आएका कारण विद्यार्थीहरू यस खेलप्रति आकर्षित हुँदै आएका छन् । विद्यालयहरूसँग सङ्घले समन्वय गरेर जेहेन्दार र बास्केटबलमा रुचि राख्ने विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ । 

हालसम्म नवौं ट्यालेन्ट हन्टको संस्करणमा आइपुग्दा ५ सय खेलाडीहरू प्रशिक्षित भएका छन् । धरानका विभिन्न विद्यालयहरूमा २ सयजनाभन्दा बढी खेलाडीहरूले निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाइरहेको सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले बताए । 

धरानको मेघा हिमालयन कलेज, डिपोट कलेजलगायतमा खेलाडीहरूले २५ प्रतिशतदेखि शतप्रतिशत नै छात्रवृत्तिमा उच्चशिक्षा अध्ययनको अवसर पाउँदै आएको अध्यक्ष सुवेदीले जानकारी दिए ।  

धरानमा ६–७ जना राष्ट्रिय खेलाडी उत्पादन भए पनि काठमाडौंको उपेक्षाले उनीहरू राष्ट्रिय टोलीमा सहभागी हुन नपाएको प्रशिक्षक राई बताउँछन् । 

सङ्घले बास्केटबलका नियमित प्रतियोगिताहरू गर्ने स्कुलहरूमा प्रोत्साहन गर्न थाले पनि यहाँका सामुदायिक तथा निजी विद्यालयहरूमा बास्केटबल कोर्ट बनाएर विद्यार्थीहरूलाई खेलाउन थालेका छन् । डिपोट उच्च मा.वि.ले अन्तर्राष्ट्रिय मापदण्डको कोर्ट निर्माण गरेको छ । सातौं साफ खेलसमेत त्यही कोर्टमा खेलाइएको थियो । 

तर निजी विद्यालयहरूले अभिभावकहरूसँग खेलकुदको नाममा लिएको शुल्क विद्यार्थीहरूलाई  अतिरिक्त क्रियाकलापमा कम सहभागी गराएर अन्यत्रै खर्च गर्ने गरेको सङ्घले जनाएको छ । बास्केटबल खेलको विकास र प्रशिक्षकलाई रोजगारीका लागि विद्यालयहरूले मासिक पारिश्रमिकमा प्रशिक्षक नियुक्ति गर्नुपर्ने सङ्घले जनाएको छ । 

मेयर स्कुल ओलम्पिक बन्द हुनु दुर्भाग्य
धरानमा २०७४ सालको स्थानीय तहको निर्वाचनपछि नगरप्रमुख बनेका स्व. तारा सुब्बाले विद्यालय तहदेखि खेलकुदको विकास गर्न ठूलो राशिको मेयर स्कुल ओलम्पिक सुरुवात गरेका थिए । 

दुई वर्षसम्म उक्त कार्यक्रमले निरन्तरता पनि पायो । उनको निधनपछि नगर प्रमुख बनेका तिलक राई र हालका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले उक्त प्रतियोगितालाई निरन्तरता दिएनन् । स्कुल ओलम्पिकमा ५ हजार बालबालिकाहरूले १२ वटा खेल विधामा प्रत्यक्ष समहभागिता जनाउन पाउँथे । दुई प्रतियोगिता धरान–१८ को डिपोट स्कुलले जितेको थियो ।

‘स्कुल ओलम्पिक हुँदा  सबै विद्यालयहरूले मेडल जित्न खेलक्षेत्रमा लगानी गर्दै आएका थिए । जसका कारण ग्रासरुटबाटै खेलको विकास हुँदै आउँदै थियो । तर स्व. तारा सुब्बापछिका नेतृत्वले खेल क्षेत्रलाई उपेक्षा गरे’–प्रशिक्षक राईले भने ।